सुनिल न्यौपाने
बर्दघाटको त्यो घटना
२०७१ सालको कुरा हो । सुरक्षित आप्रवासन परियोजना (सामी) ले बर्दघाट, नवलपरासीमा सुरक्षित वैदेशिक रोजगार सम्वन्धी तालिम आयोजना गरेको थियो । प्रशिक्षकका रुपमा जाने अवसर प्राप्त भयो । तालिममा प्रशिक्षक भएर गएपनि आफ्नो पेशा अनुसार समाचारका लागि नयाँ कुनै विषयवस्तु छन् की भन्ने उद्धेश्यले सामीमा कार्यरत स्थानीय साथिहरुसँग छलफल गरियो । सो क्रममा रोजगारीका लागि साउदी अरव गएका स्थानीय एक युवा परिवारसँग सम्पर्कविहिन भएको जानकारी गराउनु भयो उमा पौडेल लगायतका साथिहरुले । नयाँ विषयवस्तु भएका कारण यसका बारेमा थप सोधखोज गरियो ।

साउदी गएको कान्छो छोरो बेखवर भएपछि परिवारमा आपत आइलागेको रहेछ । छोरो कृष्ण १६ महिनादेखि सम्पर्कविहिन भएपछि आमा गंगामायाको पीरको पहाड उकालो उक्लिंदै थियो । कतै छोराले फोन गरिहाल्छ की भनेर उहाँ सधै पोल्टामै वा घाँटीमा मोवाइल झुण्ड्याएर बस्नु हुँदो रहेछ । त्यहि घटनाका कारण बाबुआमा दुवै विरामी पर्नुभएछ । यसले सन्तान, चुँडिएको चंगा झैं हराएपछि परिवारमा के वित्दो रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । यस्तो विषय पहिलो पटक सुन्दै गरेको मेरा लागि त्यो कुनै कथा भन्दा कम थिएन । त्यसैले गंगामायाको परिवार भेट्न जाने निधो भयो ।

जानु अगाडी मनोसामाजिक परामर्शदाताले एउटा शर्त राख्नुभयो, धेरै प्रश्न सोध्न नपाइने, धेरैजसो उहाँहरु बीचमा भएको कुराकानी सुन्नुपर्ने । मनोसामाजिक परामर्शको रत्तिभर ज्ञान नभएका हामीजस्ता व्यक्ति पनि उपदेश दिन अगाडी सरिहाल्ने प्रवृत्तिका कारण उहाँले मलाई सुरुमै यसका बारेमा सचेत गराउनु भएको थियो । शर्त मानेर हामी विहानै गंगामायाको घर पुग्यौं । (सो स्टोरी पढ्नका लागि लिंक, ‘छोरो हरायो साउदीमा, लौ न खोजिदेउ’ – देश परदेश (deshparadesh.com)

हराएका परदेशीको पहिलो स्टोरी देशपरदेशमा छापियो २०७१ फाल्गुण १० गते । पत्रकारका लागि दैनिक धेरै विषयहरु आइरहन्छन् लेख्न । पहिलो स्टोरी लेखेपछि यो विषय त्यति धेरै थप खोजखवर पनि भएन । तर स्टोरी छापिएको लगभग तीन महिना पछि बर्दघाटबाट सामीकै साथिहरुले निक्कै खुशीसाथ खवर सुनाउनु भयो, कृष्णले आमालाई फोन गरेछन् भनेर । मलाई खवर सुनाउने साथिको आवाजमा सुनिएको खुशीको उछालले नै अनुभव गर्न सकिन्थ्यो, कृष्णकी आमा गंगामाया र कृष्णका बाबु लगायत विक परिवारमा भित्रिएको खुशीको छचल्को । आमालाई फोन गरेका कृष्णले भने रे, आमा म कहाँ हराएको छु र ? घर आइहाल्छु नी । अर्थात कसै न कसैले उनीसम्म उनका बारेमा छापिएको हराएको खवर, आमाबाबुले भोगिरहेको पीडा पुर्याइदिएछ । हामी स्टोरीका लागि गएको दिन विदावारी हुँदैगर्दा कृष्णकी आमा गंगामायाले सोध्नुभएको थियो, मेरो कान्छो भेटिएला त नि है ? त्यतिबेला हामीसँग यसको ठ्याक्कै उत्तर थिएन । प्रयास गर्दैछौ, गरिरहन्छौं, नआत्तिनु होला भनेर फर्केका थियौं । आज त्यसको उत्तर थियो, गंगामायाको कान्छो छोरो भेटिएका थिए । हाम्रा लागि पनि यो उत्तिकै खुशीको कुरा थियो ।

अनी सुरु भयो हराएका परदेशी खोज्न सघाउने अभियान
१६ महिना देखि हराएका परदेशी कृष्ण विक स्टोरी प्रकाशित भएको झण्डै तीन महिनामा परिवारसँग सम्पर्कमा आएका थिए । यसले एउटा उर्जा दियो, यो पनि त एउटा परदेशीका परिवारलाई मद्धत गर्न सकिने काम हो भनेर । यहि कुरा प्रवासी नेपाली समन्वय समितिका तत्कालिन महासचिव सोमप्रसाद लामिछानेसँग गर्दा उहाँले दक्षिण भारतमा एकजना पत्रकारले यसरी नै हराएका परदेशीहरुका बारेमा भिडियो बनाउने, खोज्ने काम गर्ने गरेको भन्दै यसमा थप स्टोरी लेख्न हौस्याउनु भयो । त्यतिबेलासम्ममा प्रवासी नेपाली समन्वय समितिमा नै थुप्रै यस्ता हराएका परदेशका घटना दर्ता भइसकेका थिए ।

पढ्ने स्टोरी मात्र लेख्दा भन्दा परिवारको पछिल्लो अवस्था, परिवारले खेपिरहेको तनाव लगायतलाई समेटेर छोटो भिडियो बनाउन सके त्यो अझ प्रभावकारी हुन्छ भन्ने सल्लाह भयो । यसमा हाम्रो होष्टेमा हैंसे गर्नुभयो सामीमा तत्कालिन समयमा कार्यरत भावनाजीले । देशपरदेशले फिल्ड जान सामीको साथ पायो । अनी सुरु भयो छोटो भिडियो स्टोरी बनाउने र फेसबुक लगायतबाट हराएका परदेशीलाई परिवारसँग पुन: जोड्ने प्रयास ।

पहिलो भिडियो स्टोरी
हामीले पहिलो भिडियो स्टोरी बनायौं रामेछापको रामपुर ६ ज्यामिरेबोटका मिनबहादुर मगरका विषयमा । मित्र सागरविक्रम बस्नेतले निक्कै जोखिम उठाएर पुर्याएको सो ठाउँमा मिनबहादुरका अवोध दुई छोरी र मिनबहादुरकी आमासँगको अन्तर्वार्ता निक्कै पीडादायी थियो ।

त्यसपछि पूर्वमा सुनसरी देखि सुदुरपश्चिमको कैलालीसम्म पुगेर हामीले हराएका परदेशका भिडियो स्टोरीहरु बनायौं । तीन बर्षभित्रमा ३६ वटा भिडियो स्टोरीहरु तयार भए, प्रशारित भए ।

सोसल मिडिया (सामाजिक सञ्जाल) को शक्ति
सामाजिक सञ्जाल, विशेषगरी फेसबुकको शक्ति कति छ भनेर हामीले हराएका परदेशीको सन्दर्भमा प्रत्यक्ष अनुभव गर्न पायौं । नवलपरासीकै कुवेत गएर परिवारसँग सम्पर्कविहिन रहेका व्यक्ति फेसबुकमा भिडियो हालेको १५ मिनेटमा नै फेला परे । उनको भिडियोमा राखिएको तत्कालिन समयमा कुवेतबाट देशपरदेशका लागि पनि लेख्दै आएका पत्रकार हरिकृष्ण न्यौपानेलाई १५ मिनेट भित्रैमा ति सम्पर्कविहिन भएका व्यक्तिको बारेमा फोन आएको थियो जसको माध्यमबाट उनलाई पुन: परिवारसँग सम्वन्ध स्थापित गर्न सकियो । सुनसरीका एक व्यक्ति ९ बर्षदेखि सम्पर्कविहिन भएर मलेसियामा रहेको अवस्थामा भिडियो प्रकाशित भएपछि उनका साथिहरुले देखेर घरपरिवारमा कुराकानी गराएपछि नियमित कुराकानी भएको घटना देखि दुई छोरी र आफ्ना बाबु श्रीमतिको जिम्मा लगाएर मलेसिया गएका तर दुईबर्ष देखि सम्पर्कविहिन भएका विकास नाम गरेका सिन्धुपाल्चोकका युवालाई भिडियोले नै पुन: जोडेपछि परिवारलाई पैसा पठाउन, फोन गर्न थालेका घटनाहरु हामीले सम्झिने घटनाहरु हुन् । हामीले तीन बर्षको दौरानमा निर्माण गरेका ३६ वटा स्टोरीहरु मध्ये १७ जना परदेशी परिवारसँग सम्पर्कमा आउनु चानचुने उपलव्धी थिएन भन्ने लाग्छ । भिडियो स्टोरी बाहेक हामीले गरेका अन्य झण्डै १५/१६ वटा स्टोरी मध्ये तीनजना परिवारसँग सम्पर्कमा आएका छन् ।

किन सम्पर्कविहिन हुन्छन् मान्छे ?
हामीले धेरै स्टोरीहरु गर्न सकेका छैनौं । हामीले भेटेका झण्डै ५०/५५ वटा घटनाहरुबाट नै निश्कर्षमा पुग्नु उचित नहुन सक्दछ । तर ति ५०/५५ वटा स्टोरीहरुबाट एउटा कुरा के देखिएको छ भने, वैदेशिक रोजगारमा गएर परिवारसँग सम्पर्कविहिन हुनेहरु मध्ये धेरैजसो पहाडी मुलुका परदेशी रहेका छन् । मधेसका जिल्लाहरुमा फेला परेका त्यस्ता घटनामा पनि धेरैजसो पहाडी मुलुका व्यक्तिहरु नै परिवारसँग सम्पर्कविहिन भएको फेला परेको थियो । थोरै संख्यामा मात्र हामीले अध्ययन गर्न सकेका कारण यहि तथ्याङ्कका आधारका त निश्कर्षमा पुग्न नसकिएला, तर यसले एउटा संकेत भनें गर्दछ ।

हराएका परदेशीको स्टोरी गरिरहँदा हामीलाई मनमा लागिरहने प्रश्न यहि हो, आखिर मान्छे परिवार चटक्कै विर्सेर कसरी गुमनाम हुन सक्छ ? के उसलाई आफूलाई परिवारले दिएको माया ममता, स्नेह, अवसरले बाँध्दैन ? किन परदेश पुगेको केहि समयपछि उ चुँडिएको चंगा सरी हराउँछ । सायद यसको उत्तर तिनै व्यक्तिले दिनसक्लान् । तर परिवार चटक्कै विर्सेर ९ बर्षदेखि मलेसियाको एउटा समुद्र किनारामा रमाइरहेका सुनसरीका ति हजुरबुवाले श्रीमति र छोरासँगको कुराकानीपछि दैनिक रुपमा परिवारलाई फोन गर्न थालेको र भर्खरै जन्मेको नातीलाई एक झल्को त देखाईदेउ भनेर परिवारसँग अनुनय गर्नुले सायद परिवार र परदेशीलाई जोड्ने धागो कहिं चँुडिएपछि त्यसलाई कुनै न कुनै उपायले पुन: जोड्न सकिएन भनें उनीहरु बर्षौ बेखवर हुन्छन् भन्ने स्पष्ट हुन्छ ।

हारगुहार माग्ने ठाउँ छैन
परदेश गएको आफन्त सम्पर्कविहिन भएपछि हारगुहार कोसँग गर्ने ? कसलाई भन्ने मेरो मान्छे खोजिदेउ भनेर ? परिवारसँग धेरै ठाउँ हुन्न । जिल्ला वा आसपासका जिल्लामा भएको आप्रवासी श्रोत केन्द्र, काठमाडौंमा रहेको वैदेशिक रोजगार विभाग र काठमाडौंमा नै रहेको कन्सुलर सेवा विभाग । ति निकायमा निवेदन हालेका परिवारका सदस्यहरुलाई त्यसपछि खासै कहिंबाट पनि खवर आउँदैन । हामीले भेटेका कतिपय परिवार पनि निराश भइसकेका थिए । आफन्त हराएर आत्तिएको परिवारलाई तिम्रो मान्छे हामी खोज्दै छौं है भनिदिने निकायको पनि ठूलो खाँचो छ ।

त्यसैले, आशाको दियो बालिरहनु पर्दछ,

हराएका परदेशीको स्टोरी गरिरहँदा हामीले अनुभव गरेको कुरा हो, परदेश गएको आफन्त बेखवर भएको व्यक्तिको घरमा हरेक दिन आशा मर्छ अनी फेरी आशा पलाउँछ । उनीहरुको मनमा लाग्छ, “बाँचेकै थियो भनें यतिका समयसम्म घरमा फोन त गथ्र्यो होला”, अनी फेरी पछि मनमा लाग्छ, “कतै टुप्लुक्क घर आइपुग्ने हो की ? कतै कसैले मैले देखें भनेर खवर पो गरिदिन्छ की ?”

हराएका परदेशीका कथा भनिरहँदा हामी देशपरदेशका साथिहरु जसले ति परिवारका कुरा लेख्छौं, हामीले सिकेको एउटा कुरा, आश मर्न दिनु हुन्न रहेछ । परदेश गएर हराएका आफन्तका परिवारलाई “हामी छौं है तिम्रो मान्छे सकेसम्म खोज्छौं” भनेर आशा जगाइरहनु पर्ने रहेछ ।

हराएका परदेशीको स्टोरी गर्दा कतिपय ठाउँ त अत्यन्तै दु:ख गरेर पुगिएको छ । अप्ठ्यारो बाटो छिचोल्दै आउन त आइपुगियो, अव त्यहि बाटो कसरी फर्किने भनेर अत्यास लागेका घटनाहरु पनि छन् । तर जव थुप्रै वर्ष देखि सम्पर्कविहिन भएको परदेशीले घरमा सम्पर्क गरेर लौ म हराएको छैन भनेको खवर गर्छ, हाम्रा लागि पनि त्यो परिवारको भन्दा कम खुशीको दिन भएन ।

यो पंक्ति लेखिरहँदा झण्डै एक महिना अगाडी मोरङका एक व्यक्तिको स्टोरी लेखेका पत्रकार अर्जुन काफ्लेले ति व्यक्ति परिवारसँग सम्पर्कमा आएको सुनाउनु भयो । हाम्रो निश्कर्ष थियो, अर्को एउटा पुण्यको काम भयो । हो, यस्तै कुराले त हामीलाई हराएका परदेशी खोज्ने जाँगर थपिरहन्छ ।

(यो लेख सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालद्धारा २०८० सालमा प्रकाशित पुस्तकमा समेटिएको छ)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय