गोकर्ण विष्टले ‘कारवाही’ गरेका व्यक्ति वर्तमान श्रममन्त्रीद्धारा ‘पुरस्कृत’

रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकलाई राज्य संयन्त्र नै प्रयोग गरेर सिण्डिकेट खडा गरी ठूलो आर्थिक शोषण गरेको अभियोगमा तत्कालिन श्रममन्त्री गोकर्ण विष्टले ‘कारवाही’ गरेका एक व्यक्तिलाई वर्तमान श्रममन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डको बोर्ड सदस्य नियुक्त गरेका छन् । रोजगारीका लागि मलेसिया जाने श्रमिकलाई ‘थप आर्थिक भार पार्नेगरी स्वास्थ्य संस्थाहरुको सिण्डिकेट खडा गरेको’ भन्दै तत्कालिन मन्त्री विष्टले कारवाही गरेका कैलाश खड्कालाई आइतवार श्रम मन्त्री यादवले बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का वैदेशिक रोजगार विज्ञका रुपमा बोर्डको सदस्यमा मनोनित भएका हुन् । वैदेशिक रोजगार व्यवसायी एवं एसओएस म्यानपावर सर्भिस प्रालिका सञ्चालक हेम गुरुङ पनि खड्कासँगै दुई बर्षका लागि बोर्ड सदस्य नियुक्त भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ जेठ २ गते मलेसियामा श्रमिक पठाउने क्रममा बायोमेट्रिक परीक्षण लगायतको नाममा ४ अर्व भन्दा बढी ठगि गरेको अभियोगमा भिएलएन, माईग्राम, वान स्टप सेण्टर, जिएसजी लगायतका संस्थाहरुलाई अवैध ठहर गरेको थियो । लगत्तै प्रहरीले छापा मारेर ३९ वटा संस्थाबाट ४८ जनालाई पक्राउ पनि गर्यो । भिएलएनका सञ्चालक राम प्रसाद श्रेष्ठ प्रहरी हिरासतमा बसेर अदालतको आदेश बमोजिम धरौटीमा छुटेपनि बायोमेट्रिकका मुख्य योजनाकार मानिएका खड्का भनें लामो समयसम्म प्रहरीको ‘फरार’ सूचिमा थिए ।

स्वास्थ्य व्यवसायी महासंघका तत्कालिन अध्यक्ष समेत रहेका खड्काले रोजगारीका लागि मलेसिया जानेहरुको नेपालमा परीक्षणको लागि भनेर बायोमेट्रिक प्रणाली भित्रियाउन पहल गरेका थिए जसलाई तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले लागू गरेका थिए । बायोमेट्रिक प्रणाली भनेको व्यक्तिको आँखा, अनुहार, हात आदिको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो ।

तत्कालीन श्रम राज्यमन्त्री गुरुङले ६ महिनाको परीक्षण अवधिका लागि भन्दै नेपालमा बायोमेट्रिक प्रणाली शुरु गरेका थिए । तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले विना कुनै अध्ययन बायोमेट्रिक प्रणाली लागू गर्न नहुने सिफारिस सरकार समक्ष पेश गरेको भए पनि सो प्रणाली रोकिएन ।

वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणको काममा संलग्न तथा यस अगाडी विवादमा परेका खड्काको बोर्ड सदस्य नियुक्तिका विषयमा देशपरदेशले प्रतिकृया लिन खोज्दा मन्त्री यादवले यस विषयमा मन्त्रालयमा छलफल भइरहेको र आफू मिटिङमा रहेका कारण पछि कुरा गर्ने बताए ।

स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष रहेका खड्का डायग्नोस्टिक मेडिकलका सञ्चालक हुन् । उनकै समन्वयमा नेपाल तथा मलेसियाको सरकारका उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा संयन्त्र नै खडा गरी ठगि गरेको सम्वन्धि समाचार पढ्न यहाँ क्लीक गर्नुहोस् ।

तत्कालिन मन्त्री विष्टले श्रमिकहरुको शोषणका लागि खडा गरिएका तथा अवैधानिक भन्दै खारेजी गरेका ति संस्थाहरुले बदनियतपूवर्क काम गरेको नदेखिएको भन्दै अदालतले भनें खड्का, श्रेष्ठ लगायतलाई सफाई दिईसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय