‘सामाजिक सुरक्षाः न त दोहोरो कर, न त खाइपाइ आएको सुविधा घट्छ’

श्रमिकको भविष्यलाई उज्वल बनाउन ल्याइएको योगदानमा आधारमा सामाजिक सुरक्षा योजनामा सहभागी भएकै कारण सबै श्रमिकले दोहोरो कर तिर्नुपर्ने, खाइपाइ आएको सुविधा घट्नेलगायत विषयमा भ्रम पाल्नु जरुरी नभएको सरोकारवालाले बताएका छन् ।

आज आयोजित ‘सामाजिक सुरक्षा कोषः भ्रम र वास्तविकता’ विषयको अन्तरक्र्रियामा सहभागीले उच्च पारिश्रमिक लिँदै आएका श्रमिक तथा श्रमिकको सामाजिक सुरक्षामा लगानी गर्नुपर्छ भनेर रोजगारदाता स्वयम् नै भ्रम सिर्जना गर्न उद्धत देखिएको बताए । श्रम ऐन, २०७४ तथा योगादनमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले सामाजिक सुरक्षा योजनामा सहभागी भएकै कारण श्रमिकले खाइपाइ आएको सुविधामा कुनै कमी नहुने सुनिश्चिता गरेको भए पनि श्रमिकले पाउँदै आएको सुविधा घट्छ भनेर हल्ला फैलाइएको बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपाध्यक्ष एवं श्रम कानूनका जानकार रमेश बडालले सामाजिक सुरक्षामा सहभागी हुने सबैलाई दोहोरो करको भार नपर्ने बताउँदै मासिक रु १ लाख ५० हजार हराहारीमा पारिश्रमिक बुझ्ने श्रमिकलाई मात्र कर लाग्ने बताए । “सबैलाई दोहोरो कर परेको होइन्, यसबारेमा निकै भ्रम फैलाइएको छ”, उनले भने, “कुनै श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागी भएकै कारण उसले खाइपाइ आएको सुविधा घट्दैन ।”

श्रम ऐनको दफा १७८ को उपदफा (३) मा ‘यो ऐन जारी हुँदाको बखत प्रचलित कानून वा सामूहिक सम्झौताद्वारा ऐनमा उल्लेख गरिएभन्दा बढी सुविधा प्राप्त गरिरहेको श्रमिकको सेवा, शर्त र सुविधामा यो ऐनमा उल्लिखित कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन’ भनी उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा नयाँ विषय भएकाले कार्यान्वयको चरणमा आइपर्ने द्विवाधा हल गर्दै जानुपर्ने बडालको भनाइ थियो । “सामाजिक सुरक्षा ऐन निर्माणको क्रममा सहभागिता जनाएका रोजगारदाताले अहिले कार्यान्वयनमा बखेडा झिकेका छन्”, उनले भने, “केही कमजोरी रहेछन् भने सच्याउनुपर्छ, कार्यान्वयनको चरणलाई विषयान्तर गर्नुहुँदैन ।”

नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले सामाजिक सुरक्षा कार्यान्वयनसँगै रोजगारदाताले श्रमिकको कल्याणकारी कोषमा रहेको रकम प्रयोग गर्न नपाउने भएकाले विरोध गरिरहेको आरोप लगाए । योजना कार्यान्वयनका क्रममा देखिएको अष्पस्टता हल गर्दै कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । “यो योजना अत्यन्त राम्रो छ, सामाजिक सुरक्षाको बिकल्प छैन”, उनले भने ।

बैङ्कर्स एसोसियसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी सामाजिक सुरक्षा योजनाको विरुद्ध नरहेको प्रष्ट पार्दै कार्यान्वयनका क्रममा देखिएका जटिलता समाधान गर्न सरकारसँग आग्रह गरे । “हामी पनि सामाजिक सुरक्षाको पक्षमा छौँ, कर्मचारीले खाइपाइ आएको सुविधा घट्नु हुँदैन”, उनले भने, “योजनालाई सफल बनाउन सामाजिक सुरक्षा कोषसँग निरन्तर संवादमा छौँ ।”

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजनाका बारेमा चाहिने भन्दा बढी हल्ला चलाइएको भन्दै असन्तुष्टि जनाए । सामाजिक सुरक्षा सरकारको प्राथमिकताको कार्यक्रम भएको उल्लेख गर्दै उनले अब कडाइका साथ लागू गर्ने बताए । “योजना कार्यान्वयनमा निजी क्षेत्रबाट केही अष्पस्टता आएका छन्”, उनले भने, कार्यान्वयको चरणमा देखिएका जटिलाता सम्बोधन गरेर अगाडि बढ्छौँ ।”

ऐनको बर्खिपाल हुने गरी कार्यविधि नबनाउनुहोस्ः विडारी कार्यक्रममा सङ्घीय संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारयाण विडारीले योजना कार्यान्वयनको नाममा ऐनको बर्खिलाप हुने गरी कार्यविधि तथा निर्देशिका नबनाउन सुझाव दिए । सामाजिक सुरक्षा कार्यान्वयनको सन्दर्भमा केही जटिलता देखिएको भए कानून संशोधन गर्न सरकारले प्रस्ताव ल्याएमा संसद्ले सहयोग गर्ने उनको भनाइ थियो ।

सामान्यतः नयाँ कार्यक्रम कार्यान्वयनका क्रममा केही जटिलता र विरोधको स्वर गुन्जने गरेको यथार्थ औँल्याउँदै उनले विरोधका लागि विरोध गर्नुपर्छ भन्ने प्रवृत्ति दोहोरिनु दुःखद् भएको बताए । “श्रमिकका निम्ति सामाजिक सुरक्षा योजना अत्यन्तै महत्वपूर्ण छ”, उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय