यो पनि श्रम हो, यी पनि श्रमिक हुन्

काठमाडौं, असार १-

तपाईको घरमा खाना पकाउने, घर सफा गर्ने, बच्चा तथा बृद्धबृद्धाको हेरचाह कसले गर्छ ? कतिपयको घरमा परिवारका सदस्यहरुले नै गर्नुहुन्छ होला अनी कतिपयले भनें यस्ता कामका लागि घरेलु श्रमिकको सेवा लिनु भएको होला । फेरिएको दैनिकीसँगै नेपालमा पनि घरेलु श्रमिकको संख्या बढ्दो छ ।

नेपालबाट बैदेशिक रोजगारमा जाने घरेलु श्रमिकको कुरा गर्ने वित्तिकै झट्ट हामीले महिलालाई मात्र सम्झिने गर्दछौं । तर त्यसो होइन । विश्वमा ५ करोडको हाराहारीमा घरेलु श्रमिक रहेका छन् । यसमध्ये झण्डै एक करोड पुरुष छन् । नेपालबाट खाडीका मुलुकहरुमा व्यक्तिगत रोजगारदाताको घरमा सवारी चालक, माली लगायतका काममा थुप्रै पुरुषहरु गएका छन् जुन घरेलु काम हो । त्यसैले घरेलु कामदार भन्ने वित्तिकै महिला भन्ने मानसिकतामा परिवर्तन आउन जरुरी छ ।  

बैदेशिक रोजगारमा रहेका घरेलु श्रमिकले भोग्दै आएका समस्या अनगिन्ति छन् । तोकिए अनुसारको तलव नपाउनु, काम गर्ने अवधि नतोकिने भएका कारण दैनिक रुपमा १८, २० घण्टासम्म काम गर्न बाध्य पारिनु, साप्ताहिक विदा नपाउनु मात्र होइन विरामी पर्दा समेत काम गर्न बाध्य पारिनु मुख्य हुन् । यसैगरी शारिरीक र मानसिक दुव्र्यवहारका घटना पनि समय समयमा सार्वजनिक भइरहन्छन् । यसले खाडीमा घरेलु कामको विषयमा आम नेपालीमा सकारात्मक धारणा छैन ।

खाडीका मुलुकमा कार्यरत नेपाली घरेलु कामदारको अवस्था ठिक नभएको संसदीय समितिले निश्कर्ष निकालेपछि सरकारले बन्देज लगाएको खाडीको घरेलु काम अहिले पनि खुलेको छैन । यो बन्देजका पछाडी राज्यको आफ्ना नागरिकलाई सुरक्षा दिनुपर्दछ भन्ने नीति भएपनि यसले जोखिम अझ बढाएको यस क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको दावी छ । उनीहरु सरकारको बन्देजका बावजुद महिलालाई खाडीका मुलुकमा पुर्याउने काम चलिरहेको तर उनीहरु विना कुनै रेकर्ड जाँदा जोखिम अझ बढेको तर्क गर्दछन् । त्यसैले बन्देज खोल्नु पर्ने माग उनीहरुले लामो समयदेखि उठाउँदै आएका छन् ।

घरेलु कामदारका रुपमा बैदेशिक रोजगारमा जान नपाउनु एकातिर छँदैछ, यसअघि नै घरेलु कामदारका रुपमा खाडीका मुलुकमा पुगेर त्यहाँ कार्यरत हजारौं नेपाली भनें मर्कामा परेको यथार्थ हो । आफ्नो रोजगारदाता राम्रो हुँदा हुँदै पनि र आफूलाई सुविधा हुँदा हुँदै पनि घरेलु श्रमिक छुट्टीमा स्वदेश फर्केर, आफन्त भेटेर पुनः रोजगारीमा फर्किन नपाइरहेको अवस्था छ । यसले उनीहरुलाई कि त रोजगारी, कि त स्वदेश फर्किन रोज्नु पर्ने अवस्था सिर्जना गरेको छ । जसका कारण केहि बर्षयता घरेलु काममा गएका नेपाली श्रमिक विदेशी भूमिमै बस्न बाध्य पारिएका छन् । उनीहरुका लागि एकपटक पुनः श्रम स्वीकृति दिइने छलफल सरकारी तहमा गरिएपनि त्यो हुन सकेन । त्यसैले यस विषयमा गम्भीर रुपमा सरकारको ध्यान जान जरुरी छ ।

घरेलु श्रम सम्वद्ध अर्को मुद्धा आइएलओ अभिसन्धि नं १८९ को अनुमोदन हो । घरेलु श्रमिक सम्वन्धि सो अन्तराष्ट्रिय अभिसन्धि अनुमोदन गर्न नेपाल सरकारलाई यस क्षेत्रमा कार्यरत नेपालका गैरसरकारी संघसंस्थाहरुले विगत लामो समयदेखि दवाव सिर्जना गर्दै आएका छन् । यस विषयमा सरकारले भनें अभिसन्धि अनुमोदनसँगै आइपर्ने दायित्वको बारेमा राम्रोसँग आँकलन नगरी अनुमोदन नगर्ने योजना बनाएको देखिन्छ ।   

विदेशमा मात्र होइन, नेपालमा पनि घरेलु श्रमिकको संख्या बढ्दै गएको छ । तर उनीहरु आफ्ना न्यूनतम अधिकार पाउनबाट समेत वञ्चित छन्  । न्यून तलव, रोजगारीको कुनै ग्यारेण्टी नहुने, जातीय तथा लैंगिक भेदभावका बीच श्रमरत उनीहरुको रोजगारीलाई मर्यादित बनाउन सवैले हातेमालो गर्न जरुरी छ । अन्तराष्ट्रिय घरेलु कामदार दिवसको अवसरमा यस विषयमा सरोकारवाला निकायहरु, साँसदहरु, सरकारको ध्यान यसमा पुग्नु आवश्यक छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय