काठमाडौं, माघ १८-
बैदेशिक रोजगारको विकल्प नै नदेखिरहेकाहरुका लागि एउटा दियो हो कवि क्षितिज समर्पण(रामकुमार शाही) को कविता अस्थिपञ्जर बन्नु अघि । मलेसियाको रोजगारी खुलेन भनेर गनगन गरिरहने ‘नेपाली युवाका व्यापारीहरु’का लागि गतिलो सन्देश हो यो कविता । सान्दाई पात्रले जसरी समग्र बैदेशिक रोजगारमा विरानो मुलुकमा पसिना बगाइरहेकाहरुको पीर बोल्छ, उसैगरी नेपालमा नै श्रम गरिरहेको एउटा युवाको प्रतिनिधि बनेर उभिएका छन् कवि समर्पण म पात्र भएर ।
स्वदेशको रोजगारमा युवा आकर्षित नभइरहेको कुरालाई टपक्क टिपेर निक्कै मर्मस्पर्शी ढंगले बैदेशिक रोजगारको भुक्तमानलाई पस्किएका कवि क्षितिज सपर्मणको त्यहि कविता अस्थिपञ्जर बन्नुअघिले चलचित्र गोपीले आयोजना गरेको प्रतियोगिता जितेको छ । अस्थिपञ्जर बन्नुअघिलाई कवि उपेन्द्र सुव्वा र नवराज पराजुलीले पहिलो ठहर्याएका छन् । ३० हजार राशीसहित प्रथम पुरस्कार जितेको यो कविताका सर्जक क्षितिज समर्पण जाजरकोटका स्थायी बासिन्दा हुन् जो हिजोआज काठमाडौंमा सञ्चारकर्ममा संलग्न छन् ।
विद्यालय तह देखि नै कविता लेख्ने गरेका क्षितिज बीचमा गजल लेखनमा सकृय भए । उनले लेखेको गजल संग्रह आगोका फूलहरु २०६७ सालमा प्रकाशित भएको छ भनें उनी सहित २० जना गजलकारको गजल समेटिएको कैफियतको पहिलो अंक २०७० सालमा प्रकाशित भयो ।
२०६६ सालमा कम्प्यूटर सिक्ने उद्धेश्यले सुर्खेत आएपछि सुर्खेतको बुलबुले एफएमबाट साहित्यिक कार्यक्रम सञ्चालन गर्न थालेका उनले पछि जाजरकोटको हाम्रो पाइला तथा रेडियो जाजरकोट हुँदै काठमाडौंको नेपाल एफ.एम.मा पनि सञ्चारकर्मी भएर काम गरे । हाल उनी दैनिक नेपालमा कार्यरत छन् ।
आधा घण्टाको एकै बसाईमा लेखेको कविताले पहिलोपटक आँटेर भाग लिएको प्रतियोगितामा नै प्रथम पुरस्कार हात पार्दा कवि क्षितिज दंग छन् । पढौं बैदेशिक रोजगारको सट्टा स्वदेशकै रोजगारीलाई प्रोत्साहित गर्ने कवि क्षितिज सपर्णणको कविता अस्थिपञ्जर बन्नुअघि
…………………………..
सान्दाई,
तिमीले हरियो पासपोर्ट
बनाएको दिन
मैले पनि हरियो सपना देखेँ,
तिमीले ‘यहाँ बसेर काम छैन’
भनेको दिन
मैले एकपटक यो माटो छामेर हेरेँ,
खैर यी त उहिलेका कुरा
आज सोच्छु–
तिमीले हरियो पासपोर्ट बनाएको दिन
मैले हरियो सपना नदेखेको भए
मेरो जिन्दगीका धेरै हरियालीहरु हराउने रहेछन्
हेर्छु मेरो बारीमा–
हुर्किदै गरेको हरियो साग
हुर्किदै गरेको हरियो काउली
हुर्किदै गरेको हरियो बन्दा
साना सन्तानजस्तै–लहलहाउँदो खेती
यी सबै–सबै हराउने रहेछन् ।
सान्दाई,
तिमीले ठूलो जहाज चढेको दिन
तिमीलाई विदा गर्न ‘एअरपोर्ट’ नपुगेको भए
देख्ने थिइनँ हुँला– तिम्रो आँखाको आँशु
बुझ्ने थिइनँ हुँला –परिवारसँग छुट्टिनुको पीडा
देख्ने थिइनँ हुँला–तिम्री छोरी र पत्नीको आर्तनाद
तिमीले ठूलो जहाज चढेकै दिन
मैले देश नछोड्ने ‘ठूलो अठोट’ नगरेको भए
नआउँदै हराउने रहेछन्–
मेरा जिन्दगीका ‘ठूला’ बसन्तहरु
मेरो गाई फार्ममा–
हुर्किदै गरेकी बाच्छी हेर्छु
तिम्री सानी छोरीलाई सम्झिन्छु,
कुखुरा फार्ममा हुर्किदै गरेका चल्लाहरु हेर्छु
तिमीजस्तै ‘परदेशी’का सन्तान सम्झिन्छु,
खाडीको तालो बालुवामा
तिमीले कतिपटक को¥यौ होला–
आफ्ना कलिला सन्तानको ‘स्केच’
कतिपटक बनायौ होला
आफ्नी अर्धाङ्गिनीको आकृति
सान्दाई,
तिमीले खाडीमा पसिनाको नाइल बगाउँदा
मैले मेरै देशमा पसिनाको कर्णाली बगाएँ
मेरो पसिनाको सुगन्धमा
बारीभरी फुलको छ तरकारी
खेतभरी झुलेको छ धान
मेरै पसिनाको बास्नाले अघाउँछन्–गाईहरु
मेरै पसिनाको बास्नामा हुर्किन्छन्–चल्लाहरु
सायद, तिम्रो पसिनाको पलङमा
मस्त सुत्दो हो–मुदिर
पसिनाको रङ उस्तै भएपनि
पसिनाको मूल्य फरक हुँदोरहेछ
तिमीले बगाएको पसिना
खाडीको बालुवाले सोसिरहेको बेला
मेरो पसिनाले आफ्नै देशको माटो सिँञ्चिरहेछ ।
सान्दाई,
तिमीले पनि–
हरियो पासपोर्ट बनाउन छोडेर
आफ्नै बारी हरियो बनाउन लागेको भए
कुपोषणको खिइने थिइन होला–सानी छोरी
भत्किने थिएन होला–खुशीको पर्खाल
र, हरियै हुँदो हो तिम्रो जिन्दगी पनि–
मेरो बारीको तरकारीजस्तै
सान्दाई,
तिमीलाई मेरो सानो अनुरोध–
अस्थिपञ्जर भएर फर्किनु अघि नै फर्किदेउ
यही माटोमा बगाउँला पसिनाका अनेक नदीहरु
झन् अग्लो बनाउँला खुशीको सगरमाथा
र, हरियो बनाउँला–जिन्दगीका पत्रैपत्र ।