
काठमाडौं, पुष ३-
आज अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस । स्वदेशमा मात्र होइन, विभिन्न मुलुकमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाईंदैछ । हरेक बर्ष झैं आज विभिन्न ठाउँमा प्रवासी श्रमिकको योगदानको चर्चा हुनेछ र फेरी एक बर्षका लागि यो दिवस विदा हुनेछ ।
तर के यत्ति हो त आप्रवासी श्रमिकको योगदान सम्झिने समय ? के यहि एकसाता हो त उनीहरुले भोगेका पीडालाई बुझ्ने समय ? के उनीहरु यो दिवस मनाइदिने बस्तु मात्र हुन् ? यो प्रश्नले चिमोटिरहन्छन् ।
विश्वका करोडौं आप्रवासी श्रमिकको हुलमा केहि लाख नेपाली श्रमिक पनि छन् जो अधिकाँश अरु मुलुकका श्रमिकले गर्न डराएका, ईच्छा नगरेका र कम आम्दानीयुक्त कामलाई आफ्नो रोजगारीको साधन बनाउन बाध्य छन् । रिंगिट, रियाल, दिराम भित्रियाउन नेपाली श्रमिकले ति मुलुकमा बगाएको पसिना र कतिपय अवस्थामा बगाउनु परेको रगतको मूल्य हामीले बुझेका छौं त ? आज यस विषयमा घोत्लिनु उपयुक्त हुन्छ ।
आन्तरिक बजारमा रोजगारीको अवसर कमजोर भएका कारण प्रवासीन थालेका नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ तर अहिले पनि बर्षेनी झण्डै चारलाख नेपाली रोजगारीका लागि विदेश गइरहेका छन । यद्यपी वर्तमान सरकारले स्वदेशमै रोजगारीका अवसर बृद्धिको लक्ष्य राखेको छ तर जवसम्म त्यो व्यवहारमा कार्यान्वयनमा आइसक्दैन, तवसम्म बैदेशिक रोजगारको बाध्यताको यात्रा अन्त्य हुन्न ।
२०४६ सालपछि जव नेपालबाट राहदानी बनाउने व्यवस्था सजिलो भयो, आन्तरिक बजारमा रोजगारीका अवसर खुम्चिए अनी फष्टायो बैदेशिक रोजगार । बैदेशिक रोजगारमा जानेहरुको संख्यामा आएको बढोत्तरीसँगै मेनपावर व्यवसायीहरु बढे । यो संख्या अहिले चानचुन एकहजारको हाराहारीमा छ ।
यसबीचमा कतिपय मेनपावर कम्पनीहरु र गाउँ–गाउँ घुमेर बैदेशिक रोजगारमा जान बाध्य युवा ठग्नेहरुको लखनउ लुट राम्रैसँग चल्यो । उनीहरुले एउटा काममा भनेर अर्कै काममा पठाए । धेरै तलव हुने, ओभरटाइम गर्न पाइने भन्दै न्यून तलवमा पठाए । अनी पैसै नलाग्ने भिषामा लाखौं असुलेर पठाए । यसरी धेरै गरिवको गोजीमा हात हालेर थुप्रै ठग, फहाटाहरु रातारात धनी भए । सोझासादाहरु केहि लाख तिरेर अ रव र मलेसिया गएर काममा जोतिए । हिजो खासै कुनै आर्थिक हैसियत नभएका ठग मनोवृत्तिका केहि धुर्त व्यक्तिहरुले तिनै मान्छेसँग एजेण्ट वा मेनपावर कम्पनी सञ्चालक बनेर उठाएको बेहिसाव रकमका आधारमा आफ्नो आर्थिक हैसियत सुधारे । अर्थात रोजगारीको खोजिमा रहेको एउटा व्यक्ति कमाईको माध्यम बन्यो ।
यसबीचमा कामदारको अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने भनेर खोलिएका पसलहरुको कारोवार पनि राम्रैसँग चल्यो र चलिरहेको छ । एजेण्ट वा मेनपावर व्यवसायीले बैदेशिक रोजगारमा पठाइदिने नाममा वा पठाएर गरेको ठगिमा कामदारको पक्षमा काम गर्ने भनेर मुलुकमा केहि संघसंस्थाहरु सञ्चालनमा छन् । जसरी मुलुकमा कृयाशिल थुप्रै मेनपावर कम्पनीहरु बदमासी गर्दैनन्, त्यसैगरी ईमान्दारीपूर्वक कामदारको पक्षमा अहोरात्र काम गर्ने संघसंस्थाहरु पनि छन् । तर तिनै ठगिएका कामदारको तथ्याँक संकलन गरेर, आफूले राहत उद्धारमा सिन्को नभाँचेकै किन नहोस्, हामीले गर्यौ भन्दै रिपोर्टका पुलिन्दा दाताकहाँ पुर्याएर कतिपय संघसंस्थाका कार्यालय चलेको यथार्थ हो । अर्थात त्यस्ता संघसंस्थाहरुको कमाईको माध्यम पनि तिनै कामदार भएका छन् ।
आजको दि न छातिमा हात राखेर सोच्नु आवश्यक छ के मैले कामदारलाई पैसा कमाउने माध्यम त बनाएको छैन ? किनकी कामदार पैसा कमाउने माध्यम कसैका लागि पनि होइनन् । हुँदै होइनन् ।
यो पनि पढ्नुहोस् मर्यादित आप्रवासनः महिला श्रमिकको भूमिका