
अम्विका दाहाल, खोटाङ, असार १७-
खोटाङ रुपाकोट मझुवागढि नगरपालिका ४ खाल्लेका जीतबहादुर कटुवाल घर फर्किन चाहन्छन् । न काम छ न दाम छ । खाली हात र खान समेत समस्या भएपछि उनले साउदीबाट घर फर्किन प्रयास गरेको महिनौं भयो । तर न कम्पनीले काम नै दिन्छ न त घर फर्किन नै । त्यसैले बनदी जस्तै जीवन विताउन बाध्य भएका छन् कटुवाल ।
जीतबहादुरका लागि साउदी नयाँ मुलुक पनि होइन । ९ बर्ष विताइसकेका छन् उनले । यसबीचमा दुईपटक छुट्टीमा घर आएर गएका हुन् । पछिल्लो पटक तीन बर्ष अघि उनी छुट्टीबाट फर्केर पुनः साउदी पुगेका हुन् । तर एक बर्ष भयो उनी कार्यरत रकाम आरसीसी ट्रेडिङ एण्ड कन्स्ट्रक्सन प्रालीले कुनै काम दिन सकेको छैन । गएको भदौ देखि आफू काम विहिन भएको कटुवालले बताए ।
गुनासो काम पाइएन भन्ने भन्दा पनि घर फर्किन पाइएन भन्ने हो जीतबहादुरको । दुई तीन दिनमा एकपटक खाने पैसा दिने र बाँकी दिनमा आफैं व्यवस्था गर्नुपरेपछि समस्यामा परेको उनले बताए । काम पनि भएन, तलव पनि पाइएन घर जान्छु भन्दा कम्पनीले अल्झाइरहेको छ टेलिफोनमा उनले गुनासो गरे मेरो अकामा समेत नभएकाले थप समस्या भएको छ । उनको अकामाको मिति अघिल्लो बर्षको असारमा नै सकिएकाले अझ समस्यामा परेका छन् जीतबहादुर । उनको अकामा नविकरण गर्न ५ हजार रियाल लाग्ने र कम्पनीले अहिले धेरै घाटा भएकाले केहि समय पर्खिन भनेकाले उनी स्वदेश फर्किन चाहेर पनि सक्दैनन् ।
एकातिर जीतबहादुर घर फर्किन नपाएर समस्यामा छन्, यता घरमा श्रीमती टीकामाया लामो समयदेखि थला परेकी छन । पाठेघरको समस्या भएर अप्रेसन गरेपनि उनको अप्रेसन बिग्रियो । ९ बर्षिय छोरो लिएर बसेकी उनलाई छोरोलाई समेत हर्निया समस्या भएपछि अझ अप्ठ्यारो आइपरेको छ । छरछिमेकीको सहयोगमा दैनिक जीवन चलाइरहेकी टीकामायाले आफ्ना श्रीमान्को उद्धार गरिदिन आग्रह गरेकी छन् ।
यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ