
काठमाडौं, असोज २८-
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राजनीतिक स्थायीत्व तर्फ अगाडी बढेको भन्दै यसले आर्थिक समृद्धिका लागि ढोका खोलेको बताएकी छिन् । नेपालमा लगानीका प्रसस्त सम्भावना रहेको भन्दै गैर आवासिय नेपालीलाई त्यस्ता क्षेत्र पहिचान गरी लगानी गर्न आग्रह गरिन् ।
राजधानीमा सुरु भएको गैर आवासिय नेपाली संघ(एनआरएनए) को आठौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्प पश्चात राहत वितरण र पुनर्निर्माणमा एनआरएनले गरेको सहयोगको प्रसंशा गरिन् । राष्ट्रपति भण्डारीले गैर आवासिय नेपालीहरुले नेपाल र नेपालीप्रति गर्दै आएको आत्मियताको प्रशंसा गरिन् । उनले गैर आवासिय नेपालीहरु नेपालका प्रतिनिधि रहेको भन्दै उनीहरुले विश्वसामु नेपाली पहिचान पुर्याइरहेको बताइन् । उनले एनआरएनले महिला सहभागितामा गरेको विशेष सहभागिताले आफूलाई सन्तोष लागेको बताइन् ।
सो अवशरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले गैर आवासिय नेपालीलाई नागरिकता दिने तथा उनीहरुले घरजग्गा खरिद लगायतका विशेष व्यवस्थाका लागि संघिय कानूनमा सो अनुरुपको कानून बनाउने कार्य भइरहेको जानकारी दिए । उनले नेपाल सरकार एनआरएनएसँग अझ धेरै सहकार्य गर्न तत्पर रहेको भन्दै विश्वभरी छरिएर रहेका नेपालीलाई हातेमालो गर्दै अघि बढ्न आग्रह गरे ।
हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अन्य केहि निर्वाचन हुने क्रममा रहेको हुँदा नेपालको संविधान २०७२ कार्यान्वयनको चरणमा गएको भन्दै परराष्ट्रमन्त्री महराले अव नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्न तत्पर रहेको भन्दै विदेशमा रहेका नेपालीले हासिल गरेको ज्ञान, सीप र पुँजी नेपालमा लगानी गर्ने समय आएको बताए ।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कसरी नेपाललाइ शान्त, समृद्ध र सुदृढ बनाउन सकिन्छ भनेर नै एनआरएनको स्थापना भएको भन्दै यो केवल केहि व्यक्तिलाई नेता बनाउन मात्र स्थापना गरिएको संस्था नभएको धारणा राखे । उनले गैर आवासिय नेपालीहरुसँग मुलुक बनाउन सक्ने सामथ्र्य रहेको भन्दै त्यसका लागि अग्रसर हुन सवैलाई आग्रह गरे । हिजो विदेशी नागरिकलाई रोजगारी दिनसक्ने नेपाल हाल बैदेशिक रोजगारमा निर्भर हुँदै गएको भन्दै यो राम्रो कुरा नभएको र यसलाई सुधार्न देशलाई समृद्ध बनाउने अभियानमा जुट्न संस्थापक अध्यक्ष महतोले आव्हान गरे ।
यसैगरी पूर्व अध्यक्ष देवमान हिराचनले हामी नेपाली हौं, नेपाली नै रहन्छौं भन्दै म, तिमी भन्ने बाटोमा नलागी हामी भन्ने भावनाका साथ अगाडी बढ्नु आवश्यक रहेको धारणा राखे । मातृभूमिको हितका लागि सदैव गैर आवासिय नेपालीहरु तत्पर रहेको भन्दै माटोको माया भन्दा ठूलो कुरा अरु केहि नभएको उनको भनाई थियो ।
पूर्व अध्यक्ष जीवा लामिछानेले आगामी निर्वाचनसँगै देश आर्थिक समृद्धिको यात्रामा जाने अपेक्षा प्रकट गरे । उनले संसारभरी छरिएर रहेका नेपालीबीच हातेमालो गर्दै देशको विकासमा जुट्ने समय आएको बताए ।
एनआरएनएको विश्व सम्मेलनमा सहभागि हुन विश्वका झण्डै ७० देशबाट प्रतिनिधिहरु आएका छन् । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।