नेपाली कामदारलाई हिन्दी भाषामा तालिम !

काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आआफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् ।

वर्ल्ड कप आयोजक निकाय (सुप्रिम कमिटी) ले सदर गरेको निर्णयमा कतारमा निर्माण क्षेत्रको सुरक्षा तालिममा अनुभवी मानिएको कतार इन्टरनेसनल सेफ्टी सेन्टरले यो विशेष कार्यक्रमको जिम्मेवारी पाएको छ । सेन्टरले तत्काल अंग्रेजी, हिन्दी, उर्दु, तागालोग (फिलिपिनो) र मलायालम भाषामा सम्बद्ध भाषीलाई तालिम सुरु गर्दैछ । यी भाषाले भारत, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सका कामदारलाई समेट्छ । कामदारको उपस्थिति र अनुपातमा भारतीयपछि नेपालीको संख्या बढी भए पनि नेपाली भाषालाई भने यो तालिम अवसरमा फिफाको सुप्रिम कमिटीले समेटेको छैन । 

कतारको निर्माण क्षेत्रमा काम गर्ने अदक्ष कामदारको सबैभन्दा ठूलो हिस्सा नेपाली कामदारले ओगटेका छन् । यो समूहका लागि क्षमता अभिवृद्धि तथा सुरक्षा सचेतना तालिम अझ महत्त्वपूर्ण हुने गरेको छ । यो निर्णयमा हिन्दीभाषीको दृष्टिकोणबाट नेपालीलाई हेरिएको अवस्था छ,’ कतारमा रहेर श्रमिक मामिलामा काम गर्दै आएका एक अधिकारकर्मी भन्छन्, ‘जब कि कतारमा श्रमसम्झौतादेखि कामदार भर्तीका अरू औपचारिक प्रक्रिया नेपाली भाषामा उपलब्ध हुनुपर्ने ससर्त प्रावधान तय भइसकेको छ । तर यिनै कामदारलाई तालिम दिने प्रबन्धमा भने नेपाली भाषालाई समेटिएको छैन ।

वर्ल्ड कप आयोजक निकायको विभेदकारीनिर्णयबारे दोहास्थित नेपाली दूतावास भने बेखबर छ । कतारमा नेपाली कामदारको बाहुल्य र उपस्थितिका आधारमा सार्वजनिक सूचना, जानकारी वा अरू उपयोगी अवस्थामा नेपाली भाषाको प्रयोग गरिदिन हामीले कतार सरकार वा मातहतका सम्बद्ध निकायलाई अनुरोध गरेका छौं,’ दोहास्थित राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘यही क्रममा कतारको दूरसञ्चारमा प्रचलित ओरिडोले नेपाली भाषामा एसएमएसको सुविधा दिएको छ भने यहाँ ट्राफिक लाइटको जानकारी होर्डिङबोर्ड नेपालीमा राखिदिन आन्तरिक मामिला मन्त्रालयलाई अनुरोध गरिसकेका छौं ।राजदूत कोइरालाले वर्ल्डकप आयोजक सुप्रिम कमिटीले गरेको सम्बद्ध भाषामा तालिम दिने निर्णयमा नेपाली नपरेको बारे जानकारी आइनसकेको बताउँदै यसबारे पनि सम्बद्ध निकायमा सरोकार राखिने बताए ।

कामदारलाई उनीहरू सम्बद्ध भाषागत तालिम दिन सुप्रिम कमिटीले आह्वान गरेको टेन्डरमा कतार इन्टरनेसनल सेफ्टी सेन्टरले प्रतिस्पर्धाका आधारमा अनुमति पाएको हो । सेन्टरले वर्ल्डकप पूर्वाधारका लागि काम भइरहेका स्थलमा गएर तालिम उपलब्ध गराउने जनाएको छ । कामको दक्षता बढाउन, सुरक्षा प्रबन्धमा सचेतता थप्न र श्रमिक स्वास्थ्यमा सरोकार राख्न यो तालिमले निकै मद्दत गर्ने विश्वास लिएका छौं,’ सेन्टरकी बिजनेस म्यानेजर सोन्या राइसले अन्तर्राष्ट्रिय मिडियाका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिफाले दिएको निर्देशन र वर्ल्ड कप अनुमतिपछि कतारले विभिन्न ७ वटा सानाठूला सहरमा ९ वटा स्टेडियम बनाउँदैछ भने अहिले भइरहेका ३ वटालाई पुनर्संरचना गर्दैछ । लगराफा, खालिफा, अलथुमामा, अलखोर, अलरायन, अलसमाल, अलवक्रा, दोहा पोर्ट, एजुकेसन सिटी, लुजेल आइकोनिकसहितका स्टेडियम निर्माणाधीन छन् । कतारले सन् २०२२ को वर्ल्ड कप आयोजना गर्न पूर्वाधार निर्माणमा मात्र २ सय बिलियन अमेरिकी डलर खर्च गर्ने जनाएको छ । यसअघि सन् २०१४ मा ब्राजिलमा भएको वर्ल्ड कप सञ्चालनमा ११ बिलियन डलर खर्च भएको रिपोर्ट बाहिर आएको थियो ।

कतारमा ४ लाखभन्दा बढी नेपाली श्रमिक रहेकामा हाल अनुमानित ५० हजार जति श्रमिक वर्ल्ड कप स्टेडियम र यससँग जोडिएका अन्य पुर्वाधार निर्माणमा संलग्न छन् । उचित सूचना र सुरक्षा तालिम अभावमा कतारमा वर्षेनी ३ सयजति नेपालीले अकालमा ज्यान गुमाउने गरेका छन् । यसमा पनि सबैभन्दा बढी दुर्घटना निर्माण क्षेत्र र अझ कार्यस्थलमा हुने गरेको छ । अझ वर्ल्डकपको आयोजकका रूपमा कतार छानिएपछिको नेपाली कामदारको अवस्था र स्थितिबारे धेरैले सही आंकलन गर्न सकेकै छैनन् । यस्ता विशिष्ट निर्माणमा कामदारको कार्यस्थल, बसोबासस्थल र अरू दैनिक गतिविधिबारे कूटनीतिक नियोग वा अरू जिम्मेवार निकायले अध्ययन, मूल्यांकन गर्न नपाउने भएकाले कामदारका न्यूनतम हकहित र अधिकारका कुरा सधैं ओझेलमा पर्दै आएका छन् ।  

विशेषतः ५ महिनायता कतारमाथि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायत मुलुकले घोषित नाकाबन्दीगरेयता खाडी मुलुकलाई गन्तव्य बनाएर जाने नेपाली कामदारको भविष्यमाथि बहस भइरहेको छ । खाडी मुलुकमध्ये कतार सबभन्दा आकर्षक रोजगार गन्तव्य रहेको छ । नाकाबन्दी प्रकरणपछि पनि नेपालीका लागि आकर्षक गन्तव्यमा कतार अग्रस्थानमै छ । गत आर्थिक वर्षमा मात्र कतारमा १ लाख २५ हजार ८ सय ९२ नेपाली कामदार गएका थिए । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय