युएई, असोज २३
म परदेशमा बस्न थालेको सात बर्ष भयो । मेरो पढाईको योग्यता धेरै थिएन एसएलसीसम्म मात्रै पास गरेको थिएँ त्यही पनि १७ बर्षमा । मेरो घर परिवार गरिब थियो । मनमा एउटा यस्तो किसिमको बिचार उत्पन्न भयो जसलाई मैले रोक्नै सकिन त्यो हो रोजगारीका लागि परदेश आउने । नेपालमा कुनै किसिमको रोजगार देखिएन त्यसैले आफ्नो सफल भविष्य सुनिश्चित गर्न परदेशिन बाध्य भएँ त्यो पनि पहिलोपटक मलेसियामा ।
मैले मलेसियामा ५ बर्ष बस्दा त्यहाँ धेरै कुरा सिके जस्तैः कामलाई कहिल्यै पनि सानो नसोच्नु, मिहिनेत गरियो भने अवश्य सफलता हात पारिदोरहेछ भन्ने लाग्यो । कामको उत्तरदायित्व बोध हुँदोरहेछ । सकेसम्म आफुले सिकेको, जानेको, बुझेको काममा आउनु राम्रो रहेछ । अनुशासन, उत्तरदायित्व, इमान्दारी जस्ता जीवनका अमुल्य चिजहरु रहेछन् भन्ने कुरा राम्रोसँग भोग्न र बुझ्न पाएँ । मैले परदेशमा बस्दा आफ्नो युवा अवस्थाको जोश, जाँगर र मुलुकप्रतिको कर्तव्य गुमाए जस्तो लाग्यो । यधपी त्यो मेरो बाध्यता थियो ।
नेपालमा ठुला ठुला कलकारखानाहरु छैनन जसका कारण युवाले स्वदेशमा रोजगारीको अवशर पाइरहेका छैनन । त्यसैले स्वदेशमा नै रोजगारीको प्रबन्ध मिलाउने र भ्रष्टाचार अन्त्य गर्ने, राजनीतिक दलहरुले मुलुक प्रति गम्भीर ध्यानाकर्षण गर्ने, समृद्ध नेपाल कसरी बनाउने तर्फ सोच्नु आवश्यक छ । यसैगरी देश चलाउनका लागि जनताबाट चुनिएर कम्तीमा पनि ५ बर्ष जति सरकार चलाउन पाउनुपर्छ ।
दशै जस्तो चाडपर्व त परदेशमा हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुँदोरहेछ । न त यहाँ नेपालीको चाडपर्व हो भनेर छुट्टी दिने चलन नै छ न त रमाइलो नै । त्यसैले यो चाडपर्व परदेशमा खल्लो हुँदो रहेछ ।
अन्तमा स्वदेश तथा प्रदेशमा रहेका सम्पुर्ण नेपालीमा बिजया दशमीको हार्दिक शुभकामना
महेन्द्र चापागाईं ‘आफन्त गाउँले’
माडी, गौरिनगर, चितवन हालः दुबईबाट