‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन 

मेरो नाम बिमला घर्ति हो । २० बर्षकी भएँ । जीवनले मलाई यो उमेरमा धेरै कुरा सिकायो । म जन्मिदा मेरी आमा खुशी थिईन की दुखी, त्यो मलाई थाहा भएन तर म उनीसँग सधैं गुनासो मात्रै गरिरहन्छु । आमा यति दुख पाउनु थियो त मलाई किन जन्म दियौ ?

तिम्रो माया त मैले पाउन सकिन, किनकी तिमीले मलाई जन्माएको बर्ष दिन नहुँदै तिमी यो संसारबाट बिदा भयौ । त्यति बेला तिम्रो याद आउदैनथ्यो आमा । तर आज हरबखत तिम्रो मात्र याद आउँछ । कस्ती थियौ, तिम्रो आकार, तिम्रो अनुहार केहि थाहा छैन । न तिम्रो फोटो नै छ मसँग । तर पनि तिम्रो याद आईरहन्छ ।

तिमी गए पनि बाले मलाई हुर्काए, बढाए । तिम्रो अभवब कहिल्यै हुन दिएनन् । म हेला नहोऔं भनेर अर्को बिहे पनि नगरी बसे बा । तर मैले नै खुटृो बिराए । १५ बर्षको कलिलो उमेरमा माया गरे । मायाको परिभाषा त थाहा थिएन तर पनि उसलाई चाहें अनि उसैकी भएँ । काँचो उमेर अपरिपक्क सोच केहि थाहा भएन । हामीले बिहे गरें ।

थाहा नदिई बिहे गरेपछि पनि बाले मलाई फेरी स्वीकारे । सन्तोष र म भागेको २ महिना पनि नहँुदै टिका फुकाईदिए । उनको माया यति थियो जतिपटक गल्ती गरेपनि माफी दिन्थे मलाई । तर चाहेर बाको चित्त दुखाएको होईन । मलाई केहि थाहा थिएन । बस सन्तोष मलाई राम्रो लाग्यो । मेरो बिचारमा सायद त्यो माया थियो ।

तर नियतीलाई मेरो खुशी कहाँ सैह्य थियो र ? फेरी पनि अर्को चोट थपे । मेरो बिहे भएको बर्ष दिन पनि नहँुदै बालाई पनि चुडेर लग्यो । बाले यो संसारबाट बिदा लिएपछि म एक्ली भएँ । आमा जाँदाको पीडा महसुस नगरेकी मैले बाको मृत्यु पछि पूर्णरुपमा टुहुरो भएको महसुस गरे । पहिलो पटक अनुभव नभएको टुहुरी भएको थिएँ । बा को मृत्यु पछि साँच्चीकै टुहुरी भएँ । केटा केटी स्वभाव, चञ्चल उमेर, उनी जानुको पीडा भएपनि केहि समय पछि सम्हालीएर घरमा रमाउन थालें ।

माया गरेका श्रीमान साथैमा थिए । सासु ससुरा पनि केटाकेटी नै छ भनेर हर गल्तीमा माफी दिईरहने । १६ बर्षे केटी के गर्दा के हुन्छ त्यति सोच्न सक्ने थिईन । अझ झनै बाले स्कुल पठाउँदा पढ्न मानिन । त्यसैले मलाई केहि कुराको ज्ञान थिएन ।

१६ बर्षको उमेरमा गर्भवती भएँछु । त्यो पनि मलाई ३ महिना कटेपछि मात्र थाहा भयो । पेटमा बच्चा छ भनेर जाने पछि आमा बन्न पाएकोमा खुशी नै थिएँ । तर सन्तोषलाई बच्चा भए पछि कसरी पाल्ने उसको शिक्षा दिक्षा कसरी दिने भन्ने चिन्ता बढ्न चाल्यो । नहोस पनि कसरी नेपालमा बसेर गरेको लेवर कामले घर परिवारलाई पेट भर्न मै सिमित थियो । त्यसैले उनले बिदेश जाने निधो गरे । मैले पनि उनलाई बिदेश जान स्वीकृती दिएँ । चार महिनाकी गर्भवती मलाई आमा बाबुको जिम्मा लगाएर उनी कतारका लागि उडे ।

समय बित्दै गयो म पनि खुसी नै थिएँ । उनी गएको ५ महिनामा मैले छोरो जन्माएँ । छोरो जन्मेकोमा हामी खुशी थियौ । बिदेशबाट मोबाईल पठाएका थिए सन्तोषले । मैले दिनहुँ छोराको फोटो खिचेर उनलाई पठाउथे । उनी पनि खशी हुन्थे । 

दशैको दिन नजिकीदै थियो । गाउँघर रमाईलो थियो । उनी बिदेश गएको पनि २ बर्ष हुनै लागेको थियो । २ बर्षमा घरमा आउने कुरा गरिरहन्थ्यो । दशैमा साडी किन, छोरालाई लुगा किनिदेउ भनेर मेरो लागि ५ हजार छुटै पठाएका थिए । म मख्ख थिएँ ।

तर मेरो त्यो खुशीमा कसैको आँखा लाग्यो । फेरी पनि मेरो खुसी लग्यो दैवले ।उनका साथिले खवर गरे सन्तोष त सुतेको सुत्यै भयो । म पटक-पटक टुहुरी बन्दै गएँ । न उनीसंगै जान सके न उनी बिना बाच्न नै सकें । सास फेरेको मुर्दा जस्तै म भित्र भित्रै मरिरहें । 

दशैं आयो । अहिले पनि गाउँमा रमझम छ । बिदेशबाट टीका थाप्न आउनेहरुको अर्को थपिंदो छ । तर  मलाई हर दशैंमा उनैको याद काँडा जस्तै बनेर आउँछ  । घोच्छ, छिया छिया बनाउछ । म सम्हालीन्छु । छोराको अनुहार हेर्छु । छोरामा उनको रुप खोच्छु अनि आफुले आफुलाई सम्हाल्छु । 

अहिले त छोरा पनि ३ बर्षको भैसक्यो । म पनि २० बर्ष लागें । जीवन हो सबै बिर्सिएर जिउन त पर्दो नै रहेछ आखिर । सबै करा भुल्न चाहेर जीवन जिउने प्रयास गरिरहँदा आज भोली मलाई झन् गाह्रो भएको छ । २० बर्षे उमेर अनि एकल महिला मलाई हेर्ने दुष्टीकोण नै फरक छ । 

सन्तोषको मृत्यु भएपछि मैले ९ लाख जति आर्थिक सहायता पाएकी थिएँ । त्यहि थाहा भएर पनि हुन सक्छ, लोग्ने मरेर पाएको पैसाले फेसन गरेकी छे भन्ने वचन लगाउँछन् छरछिमेकी र आफन्तहरु । त्यहि भएर राम्रो लुगा किनेर लगाउन पनि डर लाग्छ । चिटिक्क परेर हिंड्ने त कुरा सोच्न पनि सक्दिन । त्यसै पनि लोग्ने छैन जहाँ जे गरेपनि भयो नी भन्ने सुनिन्छ । 

बालखैमा आमा मरिन् । आमा मैले नै खाएको कुरा सुन्छु । अलि पछि बा मरे टुहुरी भएँ । त्यसपछि श्रीमान मरे । सबै रित्तो भयो । आज छोराको लागि जीउन खोज्दै छु । खुशी हुन चाहन्छु । तर म खुशी हुन सक्दीन । समाजमा बस्छु कहिले काही सहयोग चाहिन्छ मलाई । बच्चा बिरामी हुँदा कसैसँग सरसापट पनि गर्नु पर्छ । तर मलाई समाजले हेर्ने आँखा फरक पाएको अनुभव गर्छु । कसैको ब्यक्त कसैको अब्यक्त अभिब्यक्तीहरुबाट ।

मलाई एउटै प्रश्नले सधै सताईरहन्छ, के मलाई सहज रुपमा बाच्ने अधिकार छैन ? मलाई हेर्ने आँखा किन फरक हुन्छ, किन समान हुन सक्दैन ?

(रञ्जना लम्सालसँग चितवनकी यी महिलाले व्यक्त गरेको उनको भोगाई । उनको आग्रहमा परिचय गोप्य राखिएको छ र तस्वीर पनि ईण्टरनेटबाट प्रतिकात्मक रुपमा लिइएको हो ।)  

यो पनि पढ्नुहोस् 

बढ्दैछ भिसा शुल्क 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय