पोखरा- विगतमा वैदेशिक रोजगारमा रहेका युवाको सामूहिक प्रयासमा लेखनाथ नगरपालिका–१७ बागमारामा ‘सेती रिभर साइड रिर्सोट’ सञ्चालनमा आएको छ ।
सात तालको बगैँचा सहर लेखनाथ नगरपालिका र आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पु¥याउँदै पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकको बसाई न्यूनतम एक दिन लम्ब्याउने सोचका साथ सेती नदीको किनारामा रिसोर्ट सञ्चालन गरिएको हो ।
रिसोर्टका अध्यक्ष सरोजराज अधिकारीका अनुसार पोखराबाट लेखनाथ आउने पर्यटकलाई अधिकतम सेवा सुविधाका साथ सेती नदीको सुसेलीसहित माछापुच्छे तथा धौलागिरि हिमालको दृश्यावलोकन गराउँदै अर्गानिक उत्पादन खुवाउने सोच राखिएको छ । ‘विगतमा वैदेशिक रोजगारमा संलग्न युवा स्वयमको अनुभव र भोगाइलाई अधिकतम उपयोग गर्ने तवरबाट रिसोर्ट सञ्चालन गरेका हौँ,’ उनले भने ।
कोरिया, साउदी अरब, युएई लगायत देशमा कामको अनुभव हासिल गरेका युवाको सामूहिक प्रयासमा रिसोर्ट सञ्चालनमा आएको हो । तीन करोड रुपैयाँको लागतमा करिब २० रोपनी जग्गामा विभिन्न संरचना निर्माण गरिएको छ । रिसोर्ट परिसरमा रहेको प्राकृतिक बागमारा गुफालाई थप व्यवस्थित गरिएको छ भने ठूलो र सानो दुई पौडी पोखरी, पाँच छुट्टाछुट्टै ठाउँमा १० वटा सुविधा सम्पन्न कोठा र सात वटा कटेजको निर्माण सम्पन्न भइसकेको सो रिसोर्टका अर्का सञ्चालक नारायण भण्डारीले बताए ।
भौतिक संरचनालाई स्थानीयपन दिने उद्देश्यले पाँच वटा कोठालाई गण्डकी, कोसी, मेची, कर्णाली र महाकाली कक्षको नाम दिइएको छ भने सात वटा कटेजको नाम लेखनाथका सात वटा तालबाट राखिएको छ । रिसोर्टमा निर्माण गरिएको प्राकृतिक गुफामा करिब तीन सय जना अटाउने व्यवस्था मिलाईएको छ ।
पृथ्वी राजमार्गमा पर्ने आदर्शचोकबाट तीन किलोमिटरको दूरीमा रहेको सो रिसोर्टसम्म बाटोको सहज सुविधा भएका कारण पर्यटकलाई आकर्षित गर्न सम्भव भएको अर्का सञ्चालक भुपालबहादुर थापा बताउँछन् । गर्नसके नेपालमा नै धेरै सम्भावना रहेको बताउँदै थापाले विदेशमा गएर न्यूनतम आठ घन्टा काम गर्नुपर्छ भन्ने सोच पछिल्ला समयमा नेपाली युवामा पनि बढ्दै गएको बताए ।
‘रिसोर्टमा आउने पर्यटकलाई विषादीरहित स्थानीय उत्पादन खुवाइने छ, बागमारा आफैंमा राम्रो तरकारी तथा सुन्तला उत्पादन हुने ठाउँ हो,’ उनले भने ‘स्थानीय रुपमा उत्पादित ताजा तरकारी तथा माछा मासुको स्वाद लिन पाउनु यहाँको विशिष्टता हो ।’
कारोवारबाट