तोया नाथ दाहाल, कुवेत, भदौ २८- उपेक्षित घरेलु महिला कामदार अत्याधिक भएको कुवेतमा चार महिनादेखि श्रम सहचारी छैनन्। उपसचिव खुल्लामा सिफारिस हुन सफल भएर श्रमसहचारी गोमादेवी पौडेलले कुवेत छाडेपछि उनको ठाउँमा श्रमले अर्को कर्मचारी अझैसम्म पठाउन सकेको छैन ।
कुवेतका लागि दोश्रो कार्यकालका लागि श्रम सहचारीका रुपमा आएकी पौडेल जुन ११, २०१६ का दिन स्वदेश फर्केकी थिइन। उनी अवधी पुरा नभई बढुवा भएका कारण कुवेत छाडेर मन्त्रालय गएकी हुन । कुवेतका लागि पहिलो श्रम सहचारी सृजना तिवारीले भने आफ्नो कार्यकाल पुरै कुवेतमा विताएकी थिईन।
रातदिन जसो नेपाली राजदुतावासमा शरण लिन भागेर आउने घरेलु महिला कामदारको संख्या बढिरहेको बताईन्छ । उनीहरुले भाग्नुका पछाडी हुने कतिपय कारण पुरुष कर्मचारीसँग खुलेर भन्न नसक्ने पनि हुन्छन तर महिला कर्मचारी नभएपछि त्यसरी आउनेहरु आफ्नो वास्तविक पिडा लुकाउन बाध्य छन।
कुवेतमा महिला श्रम सहचारीको नियुक्ती परम्परा जस्तै बनेको छ । तर पौडेल गएको ४ महिना वितिसक्दा पनि श्रमले उनको प्रतिस्थापन गर्न नसक्दा नेपाली दुतावास आउने पिडित महिला कामदार चर्को समस्यामा छन। नेपाली राजदुतावासमा राजदुत लगायत ७ जना सरकारी कर्मचारी मध्ये अहिले ६ जनाले दुतावास धानेका छन । कर्मचारी अभाव र समस्याहरुको चापका कारण सेवाग्रहीले चुस्त सेवा नपाएको गुनासो र आक्रोस दुतावासमा पोख्ने गरेका छन ।
सरकारी तथ्यांक अनुसार पनि पुरुष बराबर महिला घरेलु कामदारको संख्या कुवेतमा छ। घरेलु कामदार धेरै भएकाले महिला कामदारकै समस्या यहाँ स्थित नेपाली राजदुतावासको मुख्य चुनौति पनि हो तर श्रमले कुवेतमा सहचारी पठाउन कुनै तदरुकता देखाएको पाईन्न ।
त्यती मात्र होइन, श्रम सम्बन्धी ज्ञान भएको श्रमचारी नहुँदा श्रमिकको समस्या समाधानका लागि बिज्ञको अभाव पनि खड्किन्छ। अझ कुवेत जस्तो घरेलु महिला कामदारहरुका समस्या धेरै भएको ठाउँमा श्रम सहचारी (सकेसम्म महिला) को आवश्यकता टड्कारो रहेको छ।
तितोपाटीबाट साभार