
काठमाडौ, भदौ २८- निर्माण, औद्योगिक र कृषि मजदुरहरूको ज्यालादर वृद्धि अन्य क्षेत्रका मजदुर तथा कर्मचारीको अनुपातमा उच्च रहेको देखिएको छ । गत आर्थिक वर्षमा सरकारी तहमा तलब वृद्धि नभए पनि निर्माण, औद्योगिक र कृषि मजदुरको ज्याला बढेको छ ।
त्यसैगरी अघिल्लो वर्षमा मजदुरहरूको ज्याला अन्य क्षेत्रको ज्याला तथा तलबभन्दा बढी बढेको छ । गत वर्ष तलब सूचक ०.८ प्रतिशत बढेकोमा ज्याला सूचक भने ७.२ प्रतिशतले बढेको छ । त्यसअघि तलब सूचक ७.५ प्रतिशतले बढ्दा ज्याला सूचक ७.९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले तलबदरको अनुपातमा ज्यालादर वृद्धि बढी भएको देखिएको हो । पछिल्ला दुई वर्षमा दैनिक ज्यालादारीमा काम गर्ने समूहको ज्याला बढी दरमा बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
कामदारमध्ये महिलाको ११.४ प्रतिशत र पुरुषको ६.३ प्रतिशत, कार्पेन्टरमध्ये दक्षको १७.८ प्रतिशत र अदक्षको १५.३ प्रतिशत, मेसनमध्ये दक्षको १५.१ प्रतिशत र अदक्षको ११.२ प्रतिशतले ज्याला वृद्धि भएको छ ।
समग्रमा औद्योगिक मजदुरको ५ प्रतिशत ज्याला बढेकोमा उच्च दक्ष मजदुरको ७.७ प्रतिशत, दक्षको ५.८ प्रतिशत, अर्धदक्षको ३.८ प्रतिशत र अदक्षको २.९ प्रतिशतले ज्याला बढेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै कृषि मजदुरहरूमध्य पुरुषको ७.४ प्रतिशत र महिलाको ५.६ प्रतिशतले ज्याला बढेको छ ।
गत वर्ष तलबमान वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूमा अधिकृतस्तरको उच्च ३.१ प्रतिशत र अधिकृतभन्दा तल्लो तहका कर्मचारीको २.१ प्रतिशतको वृद्धि देखिएको छ ।
शिक्षा क्षेत्रमा भने अधिकृत तहको थोरै १.२ प्रतिशत र अधिकृतभन्दा तल्लो तहका कर्मचारीको १.९ प्रतिशतले तलबमानमा वृद्धि भएको छ । यस अवधिमा समग्र तलब सूचक ०.८ प्रतिशत बढेकोमा अधिकृतस्तरको १ प्रतिशत र अधिकृतभन्दा तल्लो तहको कर्मचारीको तलबमानमा ०.७ प्रतिशतको मात्रै वृद्धि देखिएको छ ।
तलब सूचांक भने सरकारले आफू मातहतका निकायको तलबमानमा वृद्धि गरेको वर्ष धेरै बढ्ने गरेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा सार्वजनिक प्रशासन तथा सेना र प्रहरी बलको तलबमानमा कुनै परिवर्तन भएको छैन ।
वैशाख १२ को भूकम्पको प्रभाव भन्दै गत वर्षको बजेटमा सरकारले निजामती तथा आफू मातहतको निकायको तलबमानमा कुनै परिवर्तन नगरेपछि त्यसको असर समग्र तलब तथा ज्यालादरमा पनि परेको हो ।
निजामती तथा सेना र प्रहरी बलको तलबमानमा वृद्धि नभए पनि अन्य क्षेत्रको तलबमान बढेका कारण तलब सूचक ०.८ प्रतिशतले बढेको छ । आव ०७१-७२ मा तलब सूचक ७.५ प्रतिशतले बढेको थियो । त्यस वर्ष सरकारले आफू मातहतको निकायको तलबमानमा १० प्रतिशत वृद्धि गर्दा समग्रमा सूचक बढेको थियो ।
चालू आर्थिक वर्षमा तलब तथा ज्यालादर भने उच्च दरले बढ्ने सम्भावना छ । सरकारले निजामती तथा सुरक्षा निकाय र आफू मातहतका अन्य निकायका लागि चालू वर्ष समग्रमा २५ प्रतिशत तलब वृद्धि भएको छ । यसको लागत चालू वर्ष अन्य क्षेत्रमा समेत पर्ने देखिन्छ ।
कारोवारबाट