काठमाडौं, भदौ १६- ईराकमा अघिल्लो दिन विभत्स रुपमा हत्या गरिएका १२ नेपालीको भिडियो जव आतंककारी समुह अल–सुन्नाज अल अन्सारले इन्टरनेटमा राख्यो अनी त्यसले नेपालमा अर्को वितण्डा मच्चायो । त्यो भदौ १६, २०६१ को घटना थियो ।
यो खवर पाए लगत्तै काठमाडौं जल्न थाल्यो । काठमाडौमा भड्केको हिंसाले वैदेशिक रोजगारको क्षेत्र मात्र नभएर यससँग सरोकार राख्ने क्षेत्र नै तहसनहस भयो । अधिकांश मेनपावर कम्पनीहरु तोडफोड भए, आगजनीमा परे अनि खरानी भए ।
रोजगारीको खोजीमा मुनलाइट कन्सल्टेन्सीबाट इराक पुगेका १२ जना नेपाली भदौ ४ गते आतंककारीको अपहरणमा परेका थिए । जोडर्न हुँदै इराक लैजान भनेर लगिएका ति नेपालीको भदौ १५ मा आतंककारीबाट विभत्स हत्या भएको थियो । हत्या भएको तस्विर र भिडियो अलजजिरा टेलिभिजनले सार्वजनिक गरेपछि भदौ १६ विहानैदेखि काठमाडौमा हिंसाको आगो दन्कन सुरु भयो । मेनपावर कम्पनी, मस्जिद र सञ्चारमाध्यम भीडको तारो बनेका थिए ।
सरकारले भदौ १६ मा भएको क्षतिलाई अध्ययन गर्न तत्कालिन न्यायाधिश टोपबहादुर सिंहको अध्यक्षमा बनेको छानविन आयोगले कुल डेढ अर्बभन्दा बढीको क्षति भएको औल्याएको छ । सो घटनामा परी इराकमा मृत्यु हुनेहरुमा झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका सञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द्रनगरका मनोज कुमार ठाकुर, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापा थिए ।
आन्दोलनकारीको पहिलो निशाना बनेका मेनपावर कम्पनीका कार्यालयहरु क्षणभरमै खरानी हुँदा समेत सरकार तथा सुरक्षा निकाय मुकदर्शक बनेको थियो । यहाँसम्म की सो दिन मेनपावरका सञ्चालक तथा कर्मचारी ज्यान जोगाउन भागाभागको स्थितिमा पुगेका थिए । त्यो सरकारविहिनताको स्थीति जस्तै बनेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्ययनमा तोडफोडबाट ७५ करोड रुपैयाँ बराबरको क्षति मेनपावर क्षेत्रमा भएको पाइएको छ । तोडफोडबाट २ सय ९७ म्यानपावर कम्पनीका कार्यालयहरुमा क्षति भएको संघको अध्ययनले देखाएको थियो ।
के त्यो घटनापछि नेपालीको जोखिमपूर्ण बैदेशिक रोजगारयात्रा रोकियो त ? के अव त्यस्तै खतराको तरवार नेपालीको शिरमाथि झुण्डिएको छैन त ? गम्भीर प्रश्न छ । हाल पनि भारत वा अन्य देशको बाटो भएर ईराक, अफगानिस्तान जस्ता द्धन्दग्रस्त देश जाने क्रम रोकिएको छैन । कतिपय जानीजानी त्यो खाडलमा हाम्फालीरहेछन् अनी कतिपयलाई पत्तै नदिई युएई हुँदै त्यहाँ पुर्याउने क्रम जारी छ ।
यो खतरा रोक्ने पहिलो दायित्व सरकारकै हो । तर यसमा व्यक्ति स्वयं पनि चनाखो हुन जरुरी छ । थोरै बढी कमाई हुने प्रलोभनमा परेर त्यस्ता द्धन्दग्रस्त मुलुकमा पुगेपछि आइपर्ने अप्ठ्यारो भोग्ने केवल त्यसरी जाने व्यक्ति एक्लै हुन्छ । त्यहाँ उसलाई सहयोग गर्न न हाम्रो देशको कुनै नियोग छ न त सहयोगी व्यक्ति र संस्थाहरु नै । त्यसैले अर्को भदौ १६ को शिकार आफू हुनुपर्ने खतरातर्फ सचेत हुनुपर्दछ ।
यसैगरी राज्यले पनि चेतनामूलक अभियानहरुलाई तिव्रताका साथ अगाडी बढाउनु जरुरी छ । कुनै देशमा जानलाई बन्देज लगाएर मात्र पुग्दैन, त्यो बन्देज किन लगाइएको हो भन्ने कुरा राम्रोसँग आफ्ना नागरिकलाई बुझाउनु पर्दछ । नत्र बन्देजले अझ धेरै समस्या निम्त्याउने गरेको देख्दै, भोग्दै आएको कुरा हो ।
नेपाली परिवार, समाज र राज्यको आर्थिक मेरुदण्ड नै बनिरहेको बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थीत गर्ने प्रण नै भदौ १६ को खाँचो हो । यसमा तपाई हामी सवै एकवद्ध भएर लाग्न आवश्यक छ ।
www.facebook.com/deshparadesh