
काठमाडौं- ‘जिक अकामा’, सदाझै मंगलबार बिहान पनि साउदी प्रहरी भ्यान लिएर क्याम्पमा आइपुगे । उसले कामदारको परिचय पत्र (अकामा) खोज्न थाले । ‘अना माफी’, क्याम्पमा बसेका कामदारले पनि सधै उही जवाफ दिए । ‘हामीसँग छैन् ।’
‘रो रो नेपालिया’, प्रहरीले गाडीतिर देखाउदै भन्न थाले । १० जनालाई गन्दै गाडीभित्र हाल्यो । क्याम्पभित्र ५० जना कामदार थिए । उसले सबैलाई एकै चोटी गाडी बोलाएर पनि लैजान सक्थे । तैपनि मंगलबार १० जना मात्रै कोटामा परेको थियो ।
साउदी अरबको हायलस्थित अजेजियाको त्यस क्याम्पमा रहेका नेपाली सनत इन्टरनेशनल कम्पनीमा काम गर्छन् । कम्पनीले उनीहरुलाई न काम दिएको छ, न ुअकामाु नै दिएको छ । न त नेपाल फिर्ता पठाउन सकेको छ ।
कम्पनीले दिएको सास्ती, तनाव, जालझेल त उनीहरुले भोगिरहेकै छन् । पछिल्लो समय त्यसमा प्रहरी पनि थपिएको छ । मंगलबार पनि प्रहरीले क्याम्पबाट उठाएर प्रहरी स्टेशन लगेकाहरुलाई बाहिर घाममा त्यतिकै राख्यो । एक घण्टापछि भित्र बोलाएर एउटा कागजमा हस्ताक्षर गर्न लगायो । त्यसपछि ल क्याम्पमा जाऊ भन्दै छाडिदियो ।
‘यो घाममा प्रहरी स्टेशनबाट हिडेर क्याम्पसम्म आइपुग्न दुई घण्टा लाग्छ । गाडी चड्ने पैसा कोहीसँग छैन् । टन्टलापुर घाममा तालु सुकाउदै हिड्नुपर्छ । बाटोमा पानी किन्न सकिन्न । मुख प्याक प्याक हुन्छ । मुटुको धड्कन बढ्छ । ज्यानबाट पसिना बगेर शरीर नै सुख्खा हुन्छ’, २९ बर्षीय लक्ष्मणलाल तामाङले भने, ‘यो त प्रहरीको यातना नै भयो ।’
उनीहरुलाई लागेको छ कि प्रहरीले अनावश्यक दुःख दिइरहेको छ । प्रहरीले आफ्ना हाकिमलाई काम देखाउनकै लागि दुःख दिइरहेको हो । ‘नत्र हामीलाई किन हरेक दिन आएर समात्छ ? लिएर लैजान्छ र घाममा सेकाउछ’, तामाङले भने,‘हामी किन पीडित छौं ? कसरी पीडित छौं ? उसलाई राम्रोसँग थाहा छ । गर्नुपर्नेलाई गर्दैन । उल्टो पीडितलाई थप पीडित बनाइरहेको छ ।’
काठमाडौंस्थित ‘जेबिआर म्यानपावर कम्पनी’बाट उनीहरु मार्चको अन्तिम र अप्रिलको पहिलो साता साउदी पुगेका थिए । त्यतिखेर एक सय जना कामदारलाई म्यानपावरले पठाएको थियो । जसमध्ये ५० जना हायलमा छन् । बाँकी कता पुगे उनीहरुलाई थाहा छैन ।
‘नयाँ प्रोजेक्ट हो । तलब १५ सय रियाल पाइन्छ । तेल कम्पनीमा लेबरको काम गर्ने सम्झौता गरेका थियो’, तामाङले भने, ‘साउदी पुगेपछि राम्को कम्पनीमा पठायो । त्यस कम्पनीमा साढे दुई महिना काममा लगायो । कम्पनीले अकामा बनाइदिन नसकेपछि कार्यस्थलबाट सबैलाई निकाले, त्यसपछि क्याम्पमा थन्किएका छौं ।’
कम्पनीले राखेको क्याम्प मात्र भन्नुको छ । ‘दिउँसो सितलको लागि रुख खोज्दै हिड्नुपर्छ । रात छतमा गएर बस्नुपर्छ’, उनले भने, ‘अहिले केही संघसंस्थाले खानेकुरा उपलब्ध गराएको छ । त्यसैमा प्राण धानिएका छौं ।’
उनीहरु सबै जतिसक्दो छिटो स्वदेश फिर्न चाहेका छन् । एकलाख ३० हजार रुपैयासम्म तिरेर गएका उनीहरुको हातमा बिदेशमा कमाएको एकरियाल पनि परेको छैन् । स्वदेश फर्कन्छु भन्दा कम्पनीले उल्टो तीन हजार रियाल तिर्नुपर्छ भनिरहेको छ । उनीहरुलाई पठाउने जेबिआर म्यानपावर कम्पनीका निर्देशक दिपक घिमिरे पनि उद्धार भन्दा त्यही बस्न दवाव दिइरहेका छन् ।
हामी फर्केर जान कहाँ मन छ र ?’, तामाङले भने, ‘कमाउन भनेर नै म्यानपावरलाई लाख बुझाएर आएको हो । यहाँ मर्नुपर्ने अबस्था आएपछि पनि कसरी बस्नु ?’कामदारले उद्धारको लागि स्थानीय श्रम कार्यालयमा कम्पनीबिरुद्ध उजुरी हालेका छन् । त्यहाँबाट पनि समस्या समयमै सुल्झाउन सकेको छैन् । कम्पनीले श्रम कार्यालयमा गए पनि रोक्ने उद्देश्यले हायलबाट टाढा लैजान खोजेको थियो । त्यसबिरुद्ध उनीहरु लागेपछि कम्पनी सफल भएन ।
रियादस्थित नेपाली दुताबासबाट हायल निकै टाढा पर्छ । उसले कम्पनीसँग छलफल गरी समस्या सुल्झाउन दुताबासबाट प्रनिनिधि नै खटाएको छ । ‘हामीले यसलाई गम्भिर रुपमा लिएर काम गरिरहेका छौं । कम्पनीलाई स्वदेश फिर्न चाहनेलाई पठाउन र काम गर्न चाहनेलाई काममा लगाउन भनेका छौं’, साउदीका लागि श्रम काउन्सिलर अम्बिका अधिकारीले भने, ‘हामी समस्या सुल्झाउन लागिपरेका छौं ।
कान्तिपुरबाट