‘त्यो रात दलालको फन्दामा म पनि परें भन्दै ह्वाँह्वाँ रोएँ’

मनमाया दनुवार

विदेश गएर कमाएको पैसाले घरको ऋण तिरेर छोराछोरीलाई राम्रो पढाउँला भन्ने लागेको थियो । ऋण काढेर पैसा एजेन्टलाई बुझाएपछि असार ११ मा इराक उडाउने पक्का भएको थियो । हामी स्वयम्भूबाट दिल्ली जाने बस चढ्यौं ।

नेपाली नाकामा माइती नेपालका प्रतिनिधि र प्रहरीले कता जाने भनी सोधे भारतीय गुम्बामा पढ्दै गरेको छोरालाई भेट्न जाने भन्न सिकाइएको थियो । जति जाँच भए पनि हामी दिल्लीसम्म पुग्यौं । म चढेको बसमा दिल्ली लैजान लागिएका अरू केटी पनि थिए । तर कसैले कसैलाई चिनेका थिएनन् । सबैलाई एकले अर्कालाई नचिनेको जसरी बस्नु भनेकाले उनीहरू कोही बोलेनन् ।

दिल्लीको एक गेस्ट हाउसमा तीन दिन बसेपछि हामीलाई हवाईजहाजबाट श्रीलंका पुर्‌याइयो । विमानस्थलमा तालु खुइलिएको एउटा केटा हामीलाई ट्याक्सी लिएर लिन आयो । द्रुत गतिमा चलाइएको ट्याक्सीमा करिब साढे तीन घन्टाजति बसेर हामी उसको घर पुग्यौं ।

हामीलाई ट्याक्सीमा लिन आउने घरमालिकले अरबी र श्रीलंकाली भाषा मात्रै बोल्ने गथ्र्यो । त्यसैले उसका कुरा हामीले केही बुझेनौं । ४० वर्षको जस्तो देखिने ऊ पत्नी, एक छोरी र दुई छोरासँग बस्थ्यो । दुई वर्षयतादेखि उनीहरूले केटीहरूलाई बन्धक बनाउँदै बेच्ने गरेको मैले सुनें । यही काम गरी उनीहरूले एयरपोर्टमा ठूलो घर बनाएको पनि जानकारी भयो ।

सोही घरमा भान्सेको काम गर्ने उर्मिला पौडेल नामकी नेपाली महिलाले हाम्रो पासपोर्ट, कागजात र पैसा खोसेर घरधनीलाई बुझाइन् । इन्दु भनेर बोलाइने ती महिलाले एकदुई दिनसम्म त मलाई राम्रै व्यवहार गरेकी थिइन् । तर बिस्तारै मैले त्यहाँको वातावारण बुझ्न थालेपछि हप्काउने, मुख छाड्ने, लछारपछार गर्ने एवं हातै हाल्नेसम्म पनि गर्न थालिन् ।

म त्यहाँ पुगेपछि अन्य दिदीबहिनीले आफ्ना पीडा सुनाउन थाले । दुवै किड्नी फेल भएका छोराको उपचार खर्च जोहो गर्न विदेश आएको बताउँदै एउटी दिदीले रुँदै ुछोराको उपचार त गराउन सकिनँसकिनँ, यहाँबाट उम्केर जान पाए अनुहारसम्म हेर्न पाइथ्योु भनेको कुराले साथै पीडा दियो ।

कोही एकल भएपछि छोराछोरीको पालनपोषण र पढाइखर्च जुटाउन त कोही ऋण तिर्न र कोही सुखी जीवन जिउने आसमा त्यहाँ आएको बताउँथे । यी सबै कुरा सुनेर कसले पो मन थाम्न सक्छ र ? त्यो रात दलालको फन्दामा म पनि परें भन्दै ह्वाँह्वाँ रोएँ । दिनहरू कठिन हुँदै गए ।

बिहान कालो चिया र दिउँसो दुई बजे नाकै थुनेर खानुपर्ने गनाउने उसिनेको चामलको भात दिइन्थ्यो । कहिले एक मुठी पनि पाइँदैनथ्यो । बाँच्नलाई जस्तो पनि खानै पर्दो रहेछ । दिउँसो २ बजे खाएपछि बेलुका ११ बजे मात्रै माछाको झोलसँग थोरै भात दिइन्थ्यो ।

पढेलेखेको नभए पनि म अन्याय सहनसक्ने खालकी थिइनँ । प्रेसर हाई भएकाले र सन्चो नभएकाले पनि होला धेरै रिस उठ्थ्यो । ४० कटेकाको भिसा आउँदैन भनेको सुनेपछि म प्रतिकार गर्दै भिसा नआउने भए सकस दिएर किन राखेको ? नेपाल पठाऊ भन्दै कराउँथें ।

चिसो भुइँमा तन्नाको भरमा सुत्नुपर्ने हुनाले धेरै बिमारी भइसकेका थिए । उपचारका नाममा सामान्य औषधिसमेत खान दिइन्थ्यो । मैले त्यस्तो व्यवहारको विरोध गर्दै गएँ । सेफ्टीट्यांकीमाथिको झ्याल नभएको कोठा भएर होला गुम्सिएर बस्नै नसकिने हुन्थ्यो ।

कोठामा बाहिरबाटै ताला लगाइएको हुन्थ्यो । ताला खोलेको मौका छोपेर कहिलेकहीं कम्पाउन्डमा निस्कने मौका पाइन्थ्यो । फोन गर्न सिम थिएन । फोटो र भिडियोचाहिँ खिच्न पाइन्थ्यो । मेरो मोबाइल अलि सानो भएकाले राम्रो मोबाइल भएका साथीहरूले घरवरिपरि घुमेर भिडियो खिचेका थिए ।

भिडियो हेरेर त्यो ठाउँ पत्ता लगाउन सजिलो होस् भनेर त्यहाँ रहेका ठूल्ठूला नरिवल, सुपारीलगायतका रूख र घरको सेरोफेरो हामीले खिचेका थियौं । हामी सबैले आआफ्नो मोबाइलमा ती भिडियो सारेका थियौं ।

१५-१६ दिन अघिको कुरा हो । साहूको छोराले गेट खुल्लै राखेको मौका छोपेर म, सिन्धुलीकी सरस्वती सुनुवार र दोलखाकी एउटी दिदी बेतोडले भाग्यौं । बाटोमा प्रहरी भेटेर आफ्नो पीडा सुनाउन पाइन्छ कि भन्ने हाम्रो आशा थियो ।

करिब आधा घन्टाजति पर पुगेका थियौं होला, स्कुटरमा साहू आएर हामीलाई पक्रेर फेरि त्यही घरमा लगेर मर्ने गरी पिट्यो । अरूलाई भाँडेको भनेर ममाथिको व्यवहार झन् क्रूर हुँदै गयो । रोगका कारण कमजोर हुँदै गएको शारीरिक अवस्था र कुटपिटले म निकै दुब्लाइसकेकी थिएँ ।

जिउँदो लासजस्तै लाग्न थालिसकेको थियो । मैले ज्यानको माया मारिसकेकी थिएँ । साथीहरूलाई म आज मर्छु होला, म मरें भने तिमीहरूले यो रेकर्ड मोबाइलमा हालेर सबैलाई देखाइदिनू भनेकी थिएँ । मैले उनीहरूलाई मलाई नेपाल फर्काइदे, नत्र म यहीं मर्छु भनेर धेरै विरोध गरेपछि त्यहाँको साहूले दिल्लीको एजेन्टलाई फोन गर्‌यो ।

अरबी भाषामा यसले अरूलाई पनि भाँड्ने भई भन्यो । साहूले मलाई ुला, तेरो नेपाली एजेन्टले फोन गर्‌यो कुरा गर्ु भनेर फोन दियो । मैले उसलाई मलाई जसरी पनि टिकट पठाइदे, नत्र म यहीं आत्महत्या गर्छु । यसको भिडियो सबै साथीहरूसँग हुन्छ । यो रेकर्ड पुलिसलाई देखाउन सकियो भने तिमीहरू कारबाहीमा पर्छौ भनेर धम्क्याएँ । कुरा गर्दागर्दै रिसले मैले साहूको फोन भुइँमा फालिदिएँ ।

त्यो कुराकानी पछि अरू पनि विद्रोहमा उत्रेलान् र भिडियो अन्त देखाइदेलान् भन्ने डरले होला दिल्लीको एजेन्टले मेरो टिकट पठाइदिएछ । ११ बजे राति नेपाली भान्छे दिदीले टिकट ल्याएर मेरो हातमा फ्याँकेपछि मलाई आफू नेपाल जान पाउने भएँ भन्ने लाग्यो ।

हिँड्नुअघि साथीहरूमध्ये कोहीले परिवारलाई भनिदिनू भन्दै फोन नम्बर दिए, कोहीले फोटो पछाडि नम्बर लेखेर दिए । मोबाइलमा भिडियो खिचेर आवाज रेकर्ड गराएर मेरो फोनमा पठाए । नेपालमा प्रहरीलाई यो देखाएर नर्कबाट निकाल्नू भनेर दिदीबहिनीले गुहार मागे ।

हिँड्नुअघि मैले आफूसँग भएका कपडा त्यहीं छाडेर आएँ । नेपाल फर्कंदा आफूसँग सुको पैसा थिएन । त्यहींकी सरस्वती बहिनीसँग तीन हजार मागें । नेपाल फर्केपछि पैसा फर्काउँछु भनेपछि उनले दिइन् । उनले शरीरमै पैसा लुकाएर राखेकाले त्यो पैसा बचेको थियो ।

त्यो रात साहूले ट्याक्सीमा हालेर केही केटीहरूलाई अन्य देश पठाउन एयरपोर्ट लैजाँदै रहेछ । म त्यही ट्याक्सीमा बसें । मलाई उनीहरूले पन्छाउनु थियो, त्यसैले केही गरेनन् ।

एयरपोर्ट आइपुगेपछि भाषा नजानेकाले मलाई कहाँ जाने के गर्ने अन्योल भयो । म यताउता भौंतारिएको देखेर एउटा केटाले इशारामा के भयो भन्यो । मैले आधा हिन्दी आधा नेपाली अनि केही सांकेतिक भाषामा टिकट देखाउँदै मुम्बईको जहाज चढ्न कता जाने भनें । उसले एयरपोर्टभित्र सघायो । शनिबार बिहान ५ः२० बजेको जहाज चढेर मुम्बई पुगें । चार घन्टाको ट्रान्जिटपछि काठमाडौं आइपुगें ।

प्रेसरले मेरो ८५ वर्षीय बुबाको प्यारालाइसिस भएको छ । उहाँको दिमागमा रगत जमेको छ । मैले भोगेको यो घटना सहन नसकेर उहाँको स्वास्थ्य अझै बिग्रिएको छ । डाक्टरले जुनसुकै बेला जे पनि हुनसक्छ भनेका छन् । माइती नेपालको सहयोगमा बुबालाई एउटा गेस्ट हाउसमा राखेर उपचार गराइरहेकी छु ।

यहाँबाट पठाउने एजेन्टले मलाई जहाँ भेटे पनि मार्छु भनेर धम्की दिएको छ । पत्रिकामा समाचार आएपछि सरस्वती सुनुवारलाई दलालले ओमन पुर्‌याएछन् । सरस्वतीकी दिदी भन्ने एक महिलाले फोन गरेर मलाई तथानाम गाली गरिन् । ‘तँ आफू नेपाल पुगे भैहाल्यो, किन अरूका बारेमा भन्दै हिँडिस्’ भनेर हप्काइन् ।

मैले त सबै साथीहरूले हामीलाई जसरी भए पनि उद्धार गरिदिनुपर्‌यो भनेकाले सहयोग गरेकी मात्रै हुँ । पहिले लिएको ऋणमाथि विदेश जान लिएको दुई लाख ऋण थपिएको छ । एजेन्टको मार्छु भन्ने धम्की खानुपरेको छ ।

नेपाली दिदीबहिनीको उद्धार होस्, म जसरी त्यो नर्कबाट उम्किएँ, उनीहरू पनि मेरो सहयोगले निस्कन सकून् भन्ने मेरो चाहना हो । आफ्नो देश त आइपुगें तर ज्यानको सुरक्षा कसले गरिदिने । म अब विदेश जानेबारे सोच्दिनँ ।

अन्य दिदीबहिनी पनि कानुनसम्मत तरिकाबाट सञ्चालित कम्पनीमा मात्रै जाऊन् । एजेन्टमार्फत घरायसी कामदारमा कदापि कोही नजाऊन् । नत्र हामीले जस्तै दुःख पाउनु पर्ला । सयकडा चारका दरले लिएको ऋण कसरी तिर्नु । मेरो डुबेको पैसा उठाउन र मेरो सुरक्षा गर्न सरकारले सहयोग गरिदेओस् । त्यो नर्कबाट मेरा दिदीबहिनीलाई चाँडै उद्धार गरिदेओस् ।

यो सामग्री अन्नपूर्ण पोष्टमा छापिएको छ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: