
नेपालगञ्ज, साउन १४- पहिलो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासद् भएका बाँकेको बैजापुर–१ नवलपुरका पट्टु थारु अहिले तरकारी खेतीमा सक्रिय भएका छन् । तीन वर्षअघि करिब ४ कट्ठा जमिनमा तरकारी खेती सुरु गरेर कृषि पेसामा होमिएका थारुले एक वर्षपछिदेखि ८ कट्ठा जमिनमा खेती गरिरहेका छन् । उनले सुरु गरेको तरकारी खेती अहिले व्यावसायिक बनेको छ ।
पूर्वसभासद थारुले बाहै्र महिना तरकारी फलाउँछन् । अहिले उनको खेतबारीमा करेला, लौका, भिन्डी, बोडी, काँक्रो लटरम्म फलेका छन् । “आफ्नै व्यक्तिगत लगानीबाट तरकारी खेती गरिरहेको छु,” पूर्वसभासद थारुले भने, “अरूभन्दा तरकारी लगाउँदा दोब्बर फाइदा लिन सकिँदो रहेछ ।” उत्पादन भएको तरकारी अगैया र कोहलपुर बजार तथा गाउँमा बिक्री हुने गरेको छ ।
पहिलो संविधानसभा संविधान नबनाएरै विघटन भएपछि पूर्वसभासद थारु निराश भएर घर फर्किए । त्यसपछि फुर्सदको समयलाई सदुपयोग गर्दै उनले कृषि पेसा अपनाएका हुन् । तत्कालीन सशस्त्र द्वन्द्वमा माओवादी राजनीतिमा सक्रिय रहेका थारु शान्ति प्रक्रियापछि अलग भएको मोहन वैद्य समूहको क्रान्तिकारी माओवादीका नेता हुन् ।
तरकारी उत्पादनदेखि बिक्री गर्नेसम्मको सम्पूर्ण काम परिवारका सदस्यले गर्छन् । केही ग्राहक घरमै आएर तरकारी किन्छन् भने कहिलेकाहीँ बजार र गाउँमा डुलाएर भए पनि उनले बिक्री गर्ने गरेका छन् । तरकारी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेको पूर्वसभासद थारुले जानकारी दिए । तरकारी खेती आम्दानीको बलियो स्रोत बनेपछि अझै विस्तार गर्ने उनको सोच छ ।
तरकारीमा रासायनिक मल र विषादी भने आफूले प्रयोग नगर्ने उनले बताए । “गाई–भैंसीको गोबर कुहाएर तरकारीको बोट हुर्काउने मल तयार गर्छौं,” थारुले भने “गाई–भैंसीको मुत्र, निमको पात, बोझो र जडीबुटी मिसाएर औषधि तयार गर्छौं, यस्तो औषधिले कीरा फट्याङ्ग्रालाई भगाउँछ ।”
अर्गानिक तरकारी उत्पादन गरे पनि ग्राहकलाई विश्वास दिलाउन कठिन भएको उनले बताए । उनले थपे, “हाम्रो खेती गर्ने तरिका हेरिसकेका ग्राहकले विश्वास गर्छन्, जसले खेती देखेको छैन, उसलाई विश्वासमा ल्याउन अलि मेहनत गर्नुपर्छ ।” पूर्वसभासदको बेमौसमी तरकारी खेती फस्टाएको देखेपछि गाउँका अरू किसान पनि आकर्षित हुन थालेका छन् ।
नयाँ संविधानले कृषकका समस्या समेट्न नसकेको पूर्व सभासद थारुको गुनासो छ । “सबैभन्दा बढी दुःख, परिश्रम र मेहेनत कृषि पेसामा छ, कृषि पेसालाई राज्यबाट प्रोत्साहन नहुँदा युवाहरू बिदेसिन बाध्य छन्,” उनले भने “दुःख पीडा देख्नेले पनि कृषकको पक्षमा नियम कानुन बनाएनन् ।”
कारोवारबाट
यो पनि पढ्नुहोस्
उमेर पुगेका विदेशी कामदारलाई घर फर्काउने तयारी