काठमाडौं उत्रेका नेपाली भन्छन्ः ‘अव बाँचियो’

काठमाडौं, असार ७  

दुई बर्ष अघि । उनी आम्दानी अलिक राम्रो हुने कामको खोजिमा थिए । गाउँमै थिए एकजना एजेण्ट जसले गाउँका अरु युवालाई पनि उडाएका थिए । उनले पनि तिनैलाई पासपोर्ट बुझाए र तिनले नै देखाएको बाटो हुँदै पुगे कतार । 

काम लेवरको नै भनिएको थियो । तलव मात्रै केहि फरक पर्यो । तर पनि उनले चित्त बुझाएकै थिए । जाँदा तिरेको १ लाख पनि उकास्नु थियो उनलाई । दुई बर्ष केहि नभनि काम गरे । 

निर्माणको काम गर्ने कम्पनी गतिलो थिएन । बेलामा तलव दिंदैनथ्यो । सुरु सुरुमा १५ दिन जति ढिला हुन्थ्यो । त्यसपछि २२ दिन हुँदै महिना नाघ्न थाल्योे । तर विरानो देशमा अरु उपाय थिएन । खुरुखुरु काम गर्यो र तलव पाउने आश गर्यो । झण्डै दुई बर्ष त्यो उखरमाउलो गर्मी हुने मुलुकमा यसरी विते गणेश विकका । 

पूर्वी नेपालको खोटाङ जिल्लाबाट बैदेशिक रोजगारीका लागि कतार पुगेका गणेशका लागि पछिल्ला चार महिना भनें अत्यन्तै कष्टकर रहे । कम्पनी मालिक उनीहरुलाई अलपत्र पारेर भागेपछि बस्ने त ठाउँ थियो, खाने पैसा थिएन । साथमा भएको सानोतिनो रकम समेत सकिंदै आएपछि पर्नु आपत आइपर्यो । विरानो देशमा भोकै मरिएला की भन्ने त्रासले छोप्यो । 

गणेश सहित १ सय ८५ जना नेपालीहरु त्यहि कम्पनीमा अलपत्र थिए । तीन महिनाको तलव समेत नदिई मालिक भागेका थिए । कतिपयको ५/६ महिनाको समेत तलव पाउन बाँकी छ । त्यसैले गाउँले चिनारुहरुबाट सापटी माग्दै गुजारा चलाउन थाले उनीहरु । 

विदेशमा आश गर्ने भनेको आफ्नै दुतावासबाट त हो । तर त्यहाँबाट पनि उनीहरुलाई नेपाल फर्किन सघाइदिनु भन्ने एउटा चिठ्ठी लेखिदिने बाहेक खासै केहि सहयोग भएन । त्यसपछि सुरु भयो सिआइडीको चक्कर । चारमहिनाको बीचमा एक महिना त उनीहरु सिआइडीमै पुगे घर फर्काईदिने अनुनय सहित । तर हात लाग्यो शुन्य । “हामी दुतावास, सिआइडी र होष्टल गर्दा गर्दा थाकिसकेका थियौं” काठमाडौंमा उत्रेर घर जाने तरखरमा रहेका कास्कीको लुम्लेका रामजी देवकोटा भन्छन् । 

बैंकबाट लिएको ऋण तिर्न नसकेर भागेका कम्पनी मालिक त पक्राउ परे तर अपलत्र परेका १ सय ८५ नेपाली सहितका आप्रवासी कामदारको घरफिर्ति टुँगो थिएन । रामजी भन्छन् “त्यसैले एकातिर घर फर्किनै नपाइने हो की भन्ने अत्यास थियो त अर्कातिर साँझविहानको छाक कसरी टार्ने भन्ने पिरोलो ।” यसरी नै दिनहरु सुलुलु चिप्लीरहे । 

समस्यामा फसेका उनीहरुका बारेमा विस्तारै दोहा कार्यरत अन्य नेपालीले पत्तो पाए । त्यसपछि सहयोगको श्रृंखला सुरु भयो ।  त्यसरी कतारमा खान नपाएर कुनै नेपाली भोकै बस्नु नपरोस् भनेर केहि दालचामल बोकेर पुगे त कोहि नुनतेल र तरकारी लिएर । त्यो सहयोगले साह्रै ठूलो भर दियो गणेश भन्छन् त्यसपछि के खाने भन्ने समस्या रहेन । 

तर घर फर्किने भनें टुँगो थिएन । यसबीचमा सिआइडीले नेपाल फर्किने हवाई टिकट लिएर आउनु भन्ने जनाउ दियो । तर पनि उनीहरुलाई घर फर्किन पाइएला भन्ने पूरै विश्वास थिएन । उनीहरु काम गर्ने कम्पनीकै एकजना ईन्जिनियरले पासपोर्टको फोटोकपी र कतार छोड्न पाउने मञ्जुरीनामा ल्याइदिएपछि भनें उनीहरु जतिसक्दो घर फर्किने ध्याउन्नमा लागे । 

तत्कालै ऋण खोजे उनीहरुले । गणेशले कतारमै कार्यरत एक गाउँलेसँग १ हजार रियाल ऋण लिएर टिकट काटिहाले । लमजुङा दुधबहादुर गुरुङ र रामजी देवकोटाले घरबाट पैसा मगाएर टिकट किने । र, अन्तत उनीहरु उत्रिए काठमाडौं । जिफन्टको कार्यालयमा घर फर्किन कतैबाट सहयोग पाइन्छ की भन्दैै आइपुगेका उनीहरुले मद्धतका लागि अपिल गरेका छन् ।  

काठमाडौं आइपुगेपछि ठूलो राहत मिलेको छ उनीहरुलाई । गृहजिल्ला खोेटाङ पुग्न हतारिएका गणेश भन्छन् “त्यहाँ(कतार) हुँदा बाँचेर नेपाल फर्किन मात्रै पाए पुग्थ्यो भन्ने लागेको थियो, अव त बाँचियो भन्ने लागेको छ ।” 

यो पनि पढ्नुहोस् 

तातो खाडीको कडा रमादान भोग्दै गैर मुस्लिमहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: