
सुनिल न्यौपाने, काठमाडौं
बैदेशिक रोजगारमा जानेहरुले मासिक तलव कति अपेक्षा राख्लान् ? २५ हजार, ५० हजार वा एक लाख ? अझ क्यानडामा रोजगारीका लागि जाने अवशर आएमा ? त्यसको दोव्वर वा तेव्वर ? त्यहि लोभले केहि व्यक्तिलाई झण्डै चपरीमुनीको बास बनाइदिएको छ ।
कान्तिपुर जव प्लेसमेण्ट प्रालीले केहि व्यक्तिलाई क्यानडा तथा स्पेनमा रोजगारीका लागि पठाइदिने भन्दै विभिन्न मितिमा मोटो रकम असुलेको पुष्टि भएको छ । तर रकम उठाइसकेपछि सो संस्थाका सञ्चालक सुवर्ण महर्जनले उनीहरुलाई विदेश उडाउन नसकेपछि आफैं सम्पर्कविहिन हुन थालेका थिए ।
लामो समयसम्म रकम फसेपछि र क्यानडा जान नपाएपछि पीडितहरु बैदेशिक रोजगार विभागमा न्यायका लागि पुगेका थिए । उनीहरुको मुद्धा विभाग हुँदै बैदेशिक रोजगार न्यायाधिकरण पुगेपछि बल्ल पीडितको पक्षमा फैसला भयो । न्यायाधिरणले केहि निवेदकको मागवादी नपुगेको ठहर गरेपनि पाँच जनालाई भनें झण्डै २८ लाख विगो र हर्जाना तिर्न प्रतिवादीका नाममा आदेश दिएको हो ।
कान्तिपुरका सञ्चालक महर्जनले सवैभन्दा धेरै रकम प्यूठानका शान्तबहादुर बुढामगरसँग उठाएका थिए । क्यानडा पठाइदिने नाममा महर्जनले विभिन्न मितिमा गरी बुढामगरबाट १० लाख २३ हजार ६ सय रुपैंया लिएका थिए । उनलाई क्यानडामा फुड प्याकिंगको काममा आकर्षक तलवमा पठाइदिने आश्वान महर्जनले दिएका थिए । आफू साथिको माध्यमबाट फसेको बुढामगरले बताए । “चिनेकै साथिको माध्यमबाट जाँदा ठूलो झमेलामा फसें” उनले भने “अहिले ऋण तिर्न नसकेर अप्ठ्यारोमा परेको छु ।”
पछि क्यानडा पठाउन नसकेपछि महर्जनले ५५ हजार फिर्ता गरेपनि बाँकी रकम फिर्ता नभएपछि उनी कानूनी सहयोग माग्दै निःशुल्क कानूनी सहायता प्रदान गर्दै आएको संस्था पिपुल्स फोरम पुगेका थिए । पिपुल्स फोरमकै सहयोगमा उनले बैदेशिक रोजगार विभाग तथा बैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा लडेका थिए । न्यायाधिकरणमा बुढामगरका तर्फबाट पिपुल्स फोरममा आवद्ध अधिवक्ता बीरवलकाजी राई समेतले बहस गरेका थिए ।
न्यायाधिकरणले सवैभन्दा धेरै बुढामगरलाई नै विगो र हर्जना गरी १४ लाख ५२ हजार ९ सय रुपैंयाँ महर्जनले तिर्नुपर्ने फैसला गरेको छ । त्यसमध्ये ९ लाख ६८ हजार विगो हो भनें ४ लाख ८४ हजार ३ सय हर्जना हो । यसैगरी कान्तिपुरद्धारा ठगिमा परेका सुनिल कोइरालालाई ४ लाख ९५ हजार तथा विवेक ढकाललाई ३ लाख ७५ हजार तिर्न पनि न्यायाधिकरणले आदेश दिएको छ । कोइरालालाई क्यानडामा प्याकिङको काममा प्रतिघण्टा १५ देखि २१ डलरमा रोजगारीमा पठाउने भन्दै महर्जनले रकम लिएका थिए भनें ढकाललाई स्पेनमा एक होटलमा वेटरको काममा पठाउने आश्वासनमा रकम उठाएका थिए ।
न्यायाधिकरणले नरप्रसाद तुलाचन तथा सुजन वाचे मगरलाई पनि क्रमशः ३ लाख ३९ हजार तथा १ लाख ३५ हजार महर्जनले तिर्नुपर्ने फैसला गर्यो । उनीहरु दुवैजनालाई क्यानडामा रोजगारीमा पठाउने भन्दै महर्जनले रकम उठाएका थिए ।
क्यानडा, स्पेन लगायतका देशहरुमा रोजगारीमा पठाउने भन्दै महर्जनले अन्य केहि व्यक्तिसँग पनि रकम उठाएका थिए । रोजगारीमा पठाउन नसकेपछि महर्जनले उनीहरुको रकम फिर्ता गरेपनि पाँच जनाको फिर्ता गरेका थिएनन् । त्यसैले रकम फिर्ता गराइ पाउँ तथा महर्जनलाई बैदेशिक रोजगार ऐनको दफा ४३ अनुसार कारवाही गराइपाउँ भन्दै पीडितहरुले विभिन्न मितिमा बैदेशिक रोजगार विभागमा निवेदन हालेका थिए । कान्तिपुर जव प्लेसमेण्टले ठगि गरेको भन्दै ९ जनाको निवेदन विभागबाट छिनोफानो हुन नसकेपछि मुद्धा न्यायाधिकरणमा पुगेको थियो ।
न्यायाधिकरणमा दिएको बयानमा महर्जनले आफूले बैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति नलिएको र शैक्षिक परामर्श सम्वन्धि कारोवारलाई बैदेशिक रोजगारको घटना बनाइएको दावी गरेका थिए । उनले निवेदकहरुले दावी गरे अनुसार नै रकम उठाएको स्वीकार्दै केहिको रकम फिर्ता गरेको र केहिको समय पाएमा फिर्ता गर्ने बयान समेत दिएका थिए । तर न्यायाधिकरणले महर्जनले शैक्षिक परामर्शका लागि नभई बैदेशिक रोजगारका नाममा नै रकम उठाएको ठहर गर्दै उनलाई डेढ बर्ष कैद र डेढ लाख जरिवाना समेत तिराउने फैसला गरेको हो । यसैगरी पीडितसँग उठाएको रकममा ५० प्रतिशत थपेर तिराउने आदेश दिइएको हो ।
तितो अनुभव
महर्जनको सवैभन्दा ठूलो शिकार बनेका शान्तबहादुर बुढामगर आफू साथिकै कारण फसेको बताउँछन् । उनी ऋण गरेर दिएको लाखौं रकम फसेपछि आफू घर न घाटको भएको बताउँछन् । “हामीजस्ता पीडितसँग बैदेशिक रोजगार विभाग, न्यायाधिकरण कतै पनि कर्मचारीहरु राम्रोसँग बोल्दैनन्, उल्टै पीडक आउँदा कोठामा भित्र लगेर कुरा गरिंदो रहेछ” बुढामगरले दुखेसो पोखे । उनले कानूनी छक्कपञ्जा नजान्ने व्यक्तिका लागि न्याय पाउन धेरै कठिन रहेको बताए ।
न्यायका लागि सहयोगी हात
पीडितको अनुभवमा नेपालमा न्याय सेवा अत्यन्त जटिल सेवा मध्येको एक हो । एकातिर पीडित ठगिएको हुन्छ, अर्कातिर उनीहरुलाई जाहेरी लेख्ने देखि अड्डा अदालतमा धाउनेसम्मका विषयमा जानकारीको अभाव हुन्छ । तर बैदेशिक रोजगारसँग सम्वन्धित ठगिका घटनामा परेकाहरुलाई निःशुल्क कानूनी मद्धत गर्ने संस्थाहरु पनि छन् । पिपुल्स फोरम त्यस्तै एउटा संस्था हो जहाँ पीडितलाई वकिलहरुले निःशुल्क रुपमा कानूनी सहयोग गर्छन् । पिपुल्स फोरमका सल्लाहकार रहेका अधिवक्ता सोम लुईंटेलका अनुसार सो संस्थाले पीडितलाई न्याय प्राप्तीका लागि सुरु देखि अन्तिम चरणसम्म सहयोग गर्ने गर्दछ । “पीडितको जाहेरी लेखिदिने देखि बैदेशिक रोजगार विभागमा ताकेता गर्ने, साक्षि प्रमाण जुटाउन सहयोग गर्ने, न्यायाधिकरणमा बहस पैरवी गर्ने तथा मुद्धा सर्वोच्चमा पुगेमा त्यहाँ पनि बहस पैरवी लगायतका सहयोग गर्छौं” लुईंटेलले भने । उनका अनुसार पीडितलाई न्यायालयले तोकेको क्षतिपूर्ति दिलाउन समेत पिपुल्स फोरमले सहयोग गर्ने गर्दछ ।
पिपुल्स फोरमका कानूनी सहायता परियोजना संयोजक अधिवक्ता कृष्ण न्यौपाने आफ्नो संस्थाले बैदेशिक रोजगारका धेरै पीडितलाई न्यायका लागि सहयोग गरेको भन्दै कानूनी सहायता आवश्यक परेमा आफूहरुलाई सम्पर्क गर्न अनुरोध गर्छन् । न्यौपानेका अनुसार बैदेशिक रोजगारीको नाममा ठगिमा परेका व्यक्तिले ०१४४२३९७३, ०१६९२३८२१ मा फोन गरेर थप सहयोग लिन सक्छन् ।
ढिलो न्याय सेवा
नेपालको न्याय निरुपण अत्यन्त ढिलो छ । त्यसैले ठगिका मुद्धाहरुमा धेरै पीडित बीचमै आत्तिने गरेका छन् । त्यसमा प्रतिवादी तथा उनीहरुका वकिलले समेत मुद्धा फैसला हुन बर्षौं लाग्ने भन्दै पीडितलाई तर्साउने गरेको देखिएको छ । कान्तिपुर जव प्लेसमेण्टसँगको मुद्धा लडेका शान्तबहादुर बुढामगर आफूलाई प्रतिवादीको वकिलले मुद्धा फैसला हुन कम्तिमा ७-८ बर्ष लाग्ने भन्दै तर्साउने प्रयास गरेको बताउँछन् । अदालतका कर्मचारीले गर्ने रुखो व्यवहारले पनि पीडितलाई झन निराश बनाउने गरेको उनको गुनासो छ ।
नेपालको ढिलो न्याय सम्पादन प्रणालीका कारण पीडितले लामो समयसम्म अदालत धाउनु पर्ने झण्झट छ । तर यति हुँदा हुँदै पनि बैदेशिक रोजगारका घटनामा पीडितले लड्दा न्याय पाउँछन् भन्ने यो पनि एउटा उदाहरण हो । यसले बैदेशिक रोजगारका ठगिका घटनामा परेकाहरुले न्यायका लागि न्यायलयको ढोका धेरै समयसम्म ढक्ढक्याउन छोड्न नहुने देखिन्छ ।
साँकेतिक तस्वीर ईण्टरनेटबाट साभार गरिएको हो ।