
रमेश खड्का ‘काशी’
गत शुक्रबार युएईको अलऐनमा गैर आबासिय नेपाली संघ (एनआरएनए) युएईको क्षेत्रीय समितिले आयोजना गरेको नव बर्ष साँझ कार्यक्रम सञ्चालन गर्दै थिए गजलकार जे सागर । बिभिन्न अथितिहरुको आसनग्रहण पश्चात बिशेष अतिथिमा बोलाईएको थियो एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीलाई । कार्कीको नाम बोलाएसँगै उद्घोषक सागरले एनआरएन युएईले अतिथिको सत्कारमा प्रयोग गरिने खादालाई प्रयोग नगर्ने जानकारी स्टेजबाट गराईरहेका थिए । त्यहि अनुसार अध्यक्ष कार्कीले पनि स्वयमसेविकाहरुले खादा पहिर्याउन खोज्दा खादा ग्रहण गर्न मानेन् र ब्याज मात्र ग्रहण गरे ।
उनीसँगै एनआरएनए युएईका युवा प्रतिनिधि निश्चल दाहाल पनि बिना खादा अतिथि आसन ग्रहणमा बसेका थिए । बौद्ध धर्मका लामा गुरुहरुले शुद्द, चोखो, पवित्र र उच्च सम्मानले हेरिने यो खादालाई एनआरएन युएईले प्रयोग नगर्ने जानकारी गराए लगतै युएईमा रहेका नेपालीको सामाजिक सञ्जालमा तरंग आएको छ ।
खादा भनेको चौडाईमा अन्दाजी चार पाँच अम्बल र लम्बाइमा अन्दाजी डेढ दुई हातसम्मको बिशेष कपडा हो । तिब्बतीयन बौद्ध धर्म अनुसार निङ्गमा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउनको लागि नै खादाको बिकास भएको हो । यो सिल्क मलमल कपडाबाट बनेको पहेंलो, सेतो र बिभिन्न रंगमा बौद्ध मन्त्र सहितको छापेको कपडाको उपहार हो । खास गरि मान्छे जन्मिएर शुद्द चोख्याई सकेपछि, बिहे, ब्रतबन्ध, छेवार, पास्नी, बिदाइ, स्वागत र कहिँ कतै मृत्युपछी पनि कसैको सम्मानमा प्रयोग हुने यो खादा पछिल्लो समय भने बिभिन्न राजनीतिक पार्टीका नेताहरुको सम्मानमा र सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सम्मानमा प्रयोग हँुदै आएको छ ।
युएईमा रहेको एनआरएनले बौद्ध धर्मको प्रवित्र वस्त्र खादालाई एकाएक युएईबाट नलगाउने जानकारी गराए लगतै शेर्पा किदुग युएईका अध्यक्ष पासांग शेर्पाले खादाको बहिस्कार गर्ने र खादा प्रयोग नगर्ने समाजसेबीहरुलाई शेर्पा किदुग युएईको कुनै पनि कार्यक्रमहरुमा अतिथिको रुपमा निमन्त्रणा नगरिने घोषणा आफ्नो फेसबुक पेजबाट गरे ।
शेर्पाको योे भनाई सार्वजनिक भएपछि एनआरएन युएईका सल्लाहकार एवम् साहित्यकार तथा लेखक निमेष गिरिले एनआरएन युएई एवम कुनै व्यक्ति र संस्थाले खादालाई बहिस्कार र तिरस्कार नगरेको भनेर प्रस्ट्याएका छन् । गिरीले सामाजिक कार्यक्रममा खादा, माला, ब्याजको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भएको कारण खादा र ब्याजको प्रयोगमा हुने खर्चलाई जम्मा गर्ने हो भने एक बिद्यार्थीको लागि बर्ष भरिका लागि कापी, कलम सहयोग गर्न सकिने भनेर टिपणी गरेका छन ।
हुन् त युएईमा समय सापेक्ष बिभिन्न बिषयहरुमा सामाजिक सञ्जाल गर्मागर्मी हुनु कुनै नौलो कुरो होइन । गत शुक्रबार यता पुन खादाको बहसलाई लिएर युएईको सामाजिक सञ्जालमा एकाएक गर्मागर्मि बढेको छ । एनआरएन युएईले सामाजिक कार्यक्रमहरुमा सम्मानको लागि प्रयोग हुने खादाको मान मर्यादा बुझेर अतिरन्जित प्रयोग नगर्ने भनीरहँदा यता नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डीआर गुरुङ भने प्रयोग नगर्ने सबैलाई छुट छ तर घोषणा गर्नु र अरुलाई पनि आव्हान गर्नुको अर्थ त्यसको मर्यादा र धार्मिक पवित्रतालाई अवमुल्यन गर्नु हो” भनेर आफ्नो धारणा राख्छन । गुरुङ युएईका जल्दाबल्दा र निडर स्वभावका सामाजिककर्मी एवम जनजाती नेता हुन् । जनजाती नेता गुरुङले खादा कसैले प्रयोग नगर्न पाउछ तर सार्बजनिक रुपमा अरुलाई पनि प्रयोग नगर्न आव्हान गर्ने छुट कसैलाई हुँदैन र त्यस्तो कार्यले बौद्ध धर्म विरुद्धको लबिङ् गरेको हो कि भन्ने आशंका पैदा हुन सक्छ भनेर हामीलाई प्रतिक्रया दिए ।
एनआरएन युएईको पछिल्लो खादा प्रयोग बारे सामाजिक सञ्जालको बहस ताती रहँदा उता एनआरएन आइसीसी सदस्य गोपाल कँडेलले भने आफ्नो फेसबुक पेजमा एनआरएनकर्मी के गरुन भन्ने चाहन्छन यिनीहरु ? भनेर दिशाबिहिन प्रश्न गरेका छन् । कँडेलले अनावश्यक खर्च कम गर्न खादा प्रयोग नगरौ भन्दा पनि बिबादित हुने, मानव तस्करी बन्द गरौ भन्दा पनि बिबादित हुने र सबै समस्याको समाधानमा जुटौं भन्दा पनि छलफलमा उपस्थित नहुनेहरुलाई कि त आफु गर्नु नत्र काम गर्नेहरुको बिचमा तगारो नबन्न सुझाव दिएका छन् ।
हुन त कसैको सम्मानमा प्रयोग हुने खादा युएईमा मात्र नभएर देश विदेशमा पनि बिवादित बनिरहन्छ । केहि समय पहिले नेपाली चलचित्र बिन्दास ३ कि नायिका शुभेच्छा थापाको फोटो सुटको बिषयलाई लिएर निकै बिवादित भएको खादा विवाद पछि नायिकाले अन्जानमा भएको गल्ति भनि माफी मागे पश्चात समाधान भएको थियो ।
आशा गरौ, युएईमा तातीरहेको बौद्ध धर्मको सम्मानमा प्रयोग हुने बस्त्र खादाको बिषय पनि कुनै धार्मिक र निष्ठाको भावले गलत दुस्प्रचार नभई युएईमा हुने सामाजिक संस्थाहरुको खर्च कम गर्ने सोच र परिपाटीको विकासमा आधारित रहोस । खादा प्रतिको सम्मान अझ बढोस् ।
(खड्का पत्रकार महासंघ युएईका सदस्य हुन ।)