
काठमाडौं -नेपाल गृह श्रमिक ट्रेड युनियन(हुन) ले घरेलु श्रम सम्वन्धि आइएलओ महासन्धि १८९ तुरुन्त अनुमोदन गरी कार्यान्वयन गर्न माग गरेको छ । नेपालमा लाखौं व्यक्तिहरु घरेलु श्रममा संलग्न रहेको भन्दै हुनले घरेलु श्रममा संलग्न श्रमिकका लागि विशिष्ट प्रकारको कानून र नीतिको अभाव रहेको बताएको छ ।
१०६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवशरमा हुनले आइएलओ महासन्धि १८९ अनुमोदनका लागि दवाव दिने उद्धेश्यले हस्ताक्षर अभियान समेत सञ्चालन ग¥यो । सो अभियानमा उपप्रधानमन्त्री सीपी मैनाली लगायतले हस्ताक्षर गरे । हुनकी सचिव ज्ञानु केसीका अनुसार हस्ताक्षर गरिएका व्यानरहरु श्रम तथा रोजगार मन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाइनेछ । हुन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) आवद्ध युनियन हो ।
यसैगरी हुनले घरेलु श्रम सम्वन्धि छुट्टै कानून निर्माण गरिनुपर्ने, घरेलु श्रमिकलाई स्थानीय निकायमा पञ्जीकरण गर्ने व्यवस्था गरिनुपर्ने लगायतका माग पनि अघि सारेको छ । काममा लगाउँदा घरेलु श्रमिक र रोजगारदाता बीच लिखित सम्झौता हुनेपर्ने व्यवस्था गर्न, घरेलु श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न तथा अन्य श्रमिक सरह घरेलु श्रमिकलाई पनि विदाको व्यवस्था गर्न हुनले माग गरेको छ ।
घरेलु श्रमिकलाई सामाजिक सुरक्षाको सञ्जाल भित्र समेटियोस् भन्दै हुनले अव बन्ने सामाजिक सुरक्षा ऐनमा घरेलु श्रमिकका लागि पनि योगदानमा आधारित सहभागिता होस् भन्ने माग गरेको छ ।