
कुमुद खनाल
हामीले यो कुनै आन्दोलन गरेका होइनौं । यो हाम्रो भद्र अवज्ञा हो । हामी कानूनी रुपमा दर्ता भएर व्यवसाय गर्नेहरु हौं । तर पछिल्लो समयमा प्रहरी लगाएर जुनसुकै समयमा आएर हाम्रा कम्प्युटर, कागजपत्र बोकेर हिंड्ने गर्न थालेपछि हाम्रो ईज्जत, प्रतिष्ठामाथि धावा बोल्ने काम गरियो । त्यसैले हामीले यो अवस्थामा काम गर्न सकिन्न भनेर तत्कालका लागि कसैलाई पनि बैदेशिक रोजगारमा पठाउने गरी काम नगर्ने भनेर निर्णय गरेका हौं ।
हामीले गत शुक्रवारसम्म पूर्व स्वीकृति र अन्तिम स्वीकृतिका लागि बैदेशिक रोजगार विभागमा फाइल पेश गरेका छौं । त्यसैले आगामी बुधवारसम्म केहि पूर्वस्वीकृति र अन्तिम स्वीकृतिका फाइलहरु निस्कनेछन् । किनकी विभागको नियम अनुसार तीन कार्यदिन भित्र त्यस्ता काम सम्पन्न हुनेछन् । तर त्यसभन्दा पछि व्यवसायीका तर्फबाट यो काम पुरै ठप्प हुनेछ ।
हामी अपराधि होइनौं । राज्यले बनाएको नियम, कानून अनुसार पेशा व्यवसाय गर्ने व्यवसायी हौं । तर हामीलाई अपराधि जस्तो व्यवहार गरिएकोमा हाम्रो आपत्ति हो ।
हामीले सरकारले फ्रि भिसा, फ्रि टिकटको व्यवस्था गर्दा नै यसमा विचार पुर्याएर क्रमशः गर्दे लाने व्यवस्था गरौं भनेका थियौं । तर सरकारले, तत्कालिन श्रम तथा रोजगार राज्य मन्त्रीले जवर्जस्ती गरे । हामीले उति नै बेला भनेका थियौं यसले मानव तस्करी बढाउँछ र गलत काम गर्नेलाई प्रोत्साहित गर्छ । हो, तथ्याँकले पनि अहिले त्यो पुष्टि भएको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जानेहरुको संख्या बढेको छ, संस्थागत रुपमा जानेहरुको संख्या घटेको छ । यसले प्रष्ट हुन्छ, बैदेशिक रोजगारमा हामीले जे हुन्छ भनेका थियौं त्यहि भइरहेको छ ।
म्यानपावर व्यवसायी सवै ठिक छन् भन्ने हाम्रो भनाई होइन । केहिले बदमासी गरेका पनि होलान् । तर त्यसको नाममा सवै व्यवसायीका कार्यालयमा छापा मार्ने काम गलत हो । हामीले त्यसकै विरोध जनाएको हो । आज(आइतवार) मन्त्रालयमा सरकारी प्रतिनिधि र व्यवसायी बीच छलफल भइरहेको छ । हेरौं त्यसले के निश्कर्ष निकाल्छ ।
(फ्युजन ईण्टरनेशनलका सञ्चालक खनाल बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष हुन् । उनीसँग व्यवसायीको भद्र अवज्ञाका सन्दर्भमा गरिएको कुराकानीमा आधारित)