
काठमाडौं, १ फागुन- वैदेशिक रोजगारीमा जाँदा ठगिनुभएको छ ? वा विदेशमा अलपत्र परेर उद्दारको प्रतिक्षामा हुनुहुन्छ ? यदि त्यसो हो भने नेपाल प्रहरीको हटलाइन ९७७ ११७७ डायल गरिहाल्नुस् । प्रहरीले तपाईंको समस्या समाधान गर्न र ठग्ने विरुद्ध कारवाहीका लागि आवश्यक कदम चाल्नेछ । महानगरीय अपराध महाशाखा काठमाडौंले वैदेशिक रोजगारीका बहानामा ठगिएका र अलपत्र परेकाहरुको गुनासो सुन्न छुट्टै हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजजारीमा ठगिएका, अलपत्र परेका र उद्दारको आवश्यक्ता भएकाहरुका लागि ११७७ नम्बरको हटलाइनको व्यवस्था गरिएको महाशाखा प्रमुख एसएएपी सर्बेन्द्र खनालले जानकारी दिए । यसमा नेपालसहित विदेशबाट पनि डायल गरेर आफ्ना गुनासो राख्न सक्ने सुविधा दिइएको छ । नेपाल भित्रबाट भने ११७७ माबै डायल गर्दा पनि हुन्छ भने विदेशबाट ९७७ ११७७ डायल गर्नु पर्नेछ ।
‘विदेशमा ठगिएर र विभिन्न कारण अलपत्र हुने क्रम निकै बढ्यो । उनीहरुलाई गुनासो कहाँ सुनाउने भन्ने अन्यौल भएपछि सेवा सुरु गरेका हौं’ खनालले भने यसमा विदेश गएका र जाने क्रममा ठगिएकाले उजुरी गर्न सक्छन् ।’
यो हटलाइन सेवा २४ सै घन्टा खुला रहेछ र आफुलाई अप्ठेरो परेको समयमा जसले पनि फोन गर्न सक्नेछन् । युवाहरुलाई विभिन्न बाहना देखाएर म्यानपावर तथा दललालहरुले ठग्ने र दुःख दिने गरेकोले तुरुन्त सम्बोधन गर्न पनि यसको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।