गुलियो उखुको किसानलाई अमिलो स्वाद

पर्सा – उखु नगदे बाली हो । तर, पर्साका कृषकलाई उखु उधारो बाली जस्तो लाग्छ । किनकि उनीहरूले उखु बेचेर कहिले पनि तत्कालै नगद पाउँदैनन् । पर्साका उखु कृषकले ४ वर्षदेखिको भुक्तानी पाउन सकेका छैनन् ।

दोहोरो मर्कामा छन् उनीहरू । “उत्पादन लागत बढ्दो छ, ज्याला मजदुरी बढ्दो छ तर उखुको मूल्य भने बर्सेनि घट्दो छ,” उखु उत्पादक कृषक संघ पर्साका सचिव पृथ्वी साह कानूले भने, “पैसा बनाउनका लागि लगाइने उखु सधैं उधारोमा बेच्नुपरेपछि यसलाई नगदे बाली भन्ने कि उधारो बाली भन्ने त ?” ४–४ वर्षसम्म पैसा नपाउँदा कृषकको बिजोग भएको दुखेसो उनले गरे ।

एक त समयमा भुक्तानी नपाउने र पाए पनि लागतअनुसार नपाउने समस्याले उखु कृषक पेसाबाटै पलायन हुन थालेको उनले बताए । कानूका अनुसार उखुको लागत मूल्य बर्सेनि बढ्दो दरमा भए पनि मूल्य कम पाउन थालेपछि कृषकले विकल्प खोज्न थालेका हुन् ।

उखु लिएर उद्योगसम्म पु¥याउँदा सडकमा ढाट राखेर रकम असुल्नेहरूबाट पनि उनीहरू उत्तिकै हैरान छन् । उखु लिएर बाराको श्रीपुरस्थित रिलायन्स सुगर केमिकल इन्डस्ट्रिज जाँदा सडकमा ढाट राखेर अनावश्यक रकम असुली गर्ने र नदिएमा कुटपिट गर्ने तथा धम्की दिने गरेको उखु कृषक बताउँछन् ।

पर्साको गर्दौलमा ढाट राखेर कर असुली गर्ने युवाले १७ रुपैयाँका रसिद काट्ने र ५० रुपैयाँ रकम लिने गरेको कृषकले बताएका छन् । रकम नदिए चालकलाई कुटपिट तथा दुव्र्यवहार गर्ने गरेको संघका सचिव कानूले बताए ।

वीरगन्ज उपमहानगरपालिकाबाट अस्थायी हाटबजार, घुम्ती पसल तथा व्यवसाय कर उठाउने ठेक्का पाएका ठेकेदारले पनि उखु बोक्ने ट्र्याक्टरसँग जबर्जस्ती रकम असुली गर्ने गरेको भेटिएको छ । ३० रुपैयाँको रसिदमा ठेकेदारले पनि ५० रुपैयाँ लिने गरेका छन् ।

पर्सामा यो वर्ष उखुखेती घटेको छ । सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्ष चिनी उद्योग र उखु उत्पादक कृषकबीच विवाद भएको थियो । विवादसँगै चिनी उद्योगले उखु लिन आनाकानी गरेपछि भारतीय चिनी मिलमा उखु बेच्न कृषक बाध्य भएका थिए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार पर्सामा गत वर्ष १ हजार ४९० हेक्टरमा उखुखेती गरिएको थियो भने यो वर्ष हजार हेक्टरमा मात्र लगाइएको छ । “गत वर्ष चिनी उद्योगले उखु नलिएपछि कृषकको उखु खेतमै सुकेको थियो,” कृषि प्राविधिक सुरेशप्रसाद चौरसिया भन्छन्, “यो वर्ष खेती घटेको छ ।”

यो समाचार नवराज पिठाकोटेले कारोवारमा लेखेका हुन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय