भक्तपुर- भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिकालाई आगामी एक वर्षभित्र उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियान सुरु भएको छ । अनन्तलिंगेश्वर नगरपालिका वडा नं ६ स्थित दोभानबाट बुधबार औपचारिक रूपमा बालश्रमिक नभएका घरमा हरियो झन्डा गाडेर बालश्रममुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले संयुक्त रूपमा अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्साललाई हरियो झन्डासहितको झोला हस्तान्तरण गरे । २०१७ भित्र बालश्रममुक्त जिल्ला बनाउने अभियानअन्तर्गत सन् २०१७ भित्र भक्तपुर जिल्लालाई बालश्रममुक्त जिल्ला बनाउने घोषणा गरिएको छ ।
जिविसको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोग अभियान सुरु भएको हो । त्यसअन्तर्गत अनन्तलिंगेश्वर नगरपालिकालाई उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियान थालिएको हो ।
नगरवासीलाई सहयोग गर्न आग्रह कार्यक्रममा सिडिओ पौडेल, एलडिओ पुरी, प्रहरी उपरीक्षक बज्राचार्य र नगरपालिकाका कार्यकारी अधिकृत लम्सालले बालश्रममुक्त जिल्ला बनाउने अभियानलाई सफल बनाउन सबै नगरवासीको सहयोग आवश्यक रहेको बताए । कानुनविपरीत बालश्रम राख्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने प्रतिवद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो।
हरियो झन्डा गाड्ने काम सुरु
अनन्तलिंगेश्वर नगरस्तरीय बाल संरक्षण तथा संवद्र्धन उपसमितिले यस नगरपालिकाभित्र आठ हजार ९ सय ७७ घरधुरीको सर्भेक्षण गर्ने, बालश्रम भए–नभएको हेर्ने, फाराम भरेर रुजु गर्ने र बालश्रम नभएका घरघरमा हरियो झन्डा गाड्ने कार्य बुधबारैदेखि सुरु गरेको समितिका संयोजक लेखनाथ सुवेदीले जानकारी दिए ।
समितिका सदस्य सचिव सुनिता सिलवालले १३ वर्षभन्दा मुनिको बालबालिकालाई श्रम गर्न लगाइएको पाइए तत्काल कानुनी दायरामा ल्याउने र त्यस्ता बालश्रमिकको उद्धार गर्ने बताइन् । (रासस)