धादिङ, माघ २०- चारजना महिलालाई बिक्री गर्न खोज्नेमध्येका एक सेनालाई सैनिक कानुनबमोजिम कारबाही गर्न र एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न धादिङ जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले हिजो अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न र निलकण्ठ नगरपालिका–२ का २८ वर्षीय नेपाली सेनाको प्युठ मीनबहादुर गुरुङलाई आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले सेनाको जिम्मा लगाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो । चारजना महिलालाई काठमाडौँबाट गाडीको प्रयोग गरी भारत हुँदै तेस्रो मुलुकतर्फ लान लागेको थाहा पाएपछि प्रहरीले पुस २६ गते धादिङको नौबिसेबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
अभियोग लागेका ललित पुन भने फरार छन् । उनको ठेगाना समेत खुल्न सकेको छैन । चार महिलालाई काठमाडौँबाट गाडी चढाएर अभियुक्तले धादिङको नौबिसेमा झरेर बस्न भनेको र नौबिसे झरेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी उनीहरुविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । रासस