दुतावासले थाल्यो उद्धारको पहल

साउदी अरब- रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ । रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका तीनसय नेपाली कामदारको उद्धार गर्न पहल थालेको हो । सोमबार श्रम सहचारी कृष्णप्रसाद दवाडीको नेतृत्वमा आएको दूतावासको टोलीले कम्पनी सञ्चालकसँग छलफल गरेको छ । 

छलफलका क्रममा रोजगारदाताले एक साताभित्रै सबै नेपाली कामदारलाई तत्कालको समस्या समाधानका लागि एक महिनाको तलब उपलब्ध गराउने आश्वासन दिएको दवाडीले राससलाई जानकारी दिए । रोजगारदाता कम्पनीका प्रतिनिधिसँग भएको भेटमा नेपाली कामदारलाई भुक्तान गर्नुपर्ने तलब, र आवास अनुमतिपत्र नवीकरणलगायतका समस्या तत्काल समाधान गर्न आग्रह गरिएको श्रम सहचारी दवाडीले बताए। 

कम्पनीले साउदी सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएका कारण तलब रोकिएकोे बताएको छ, सरकारले रकम उपलब्ध नगराएसम्म त्यहाँ रहेका नेपाली कामदारलाई खानेबस्ने व्यवस्था मिलाउन नसकिने कम्पनीको भनाइ छ ।

सरकारले रकम उपलब्ध गराएको खण्डमा कामदारले पाउन बाँकी रहेको तलब भुक्तानी दिइने र आवास अनुमतिपत्र समेत नवीकरण गरिने जनाएको छ । तर त्यहाँ रहेका अधिकांश नेपाली कामदारले भने स्वदेश फर्कने व्यवस्था मिलाउन आग्रह गरेको दवाडीले बताए। 

रोजगारदाताले नेपाली कामदारका लागि खानेबस्ने व्यवस्था गर्न नसकिने बताएका कारण तत्कालको राहतका लागि सरकारलाई जानकारी गराइने र मार्फत कामदार आएका मेनपावर कम्पनीको पहिचान गरेर गाँसबासको लागि सहयोग गर्न आग्रह गरिने उनले बताए । 

सो विषयमा कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मालाई टेलिफोन सम्पर्क गर्दा विचल्लीमा परेका नेपाली कामदारको उद्धारमा दूतावास लागिपरेको बताए । शर्माका अनुसार कम्पनीले तत्काल तलब उपलब्ध नगराए नेपाली कामदारलाई तलब दिलाउन साउदीको श्रम अदालतलाई आग्रह गरिनेछ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: