इजरायल जाने महिला पनि दलालको पञ्जामा

झापा- कुवेत जाने, मेहनत गर्ने, टन्न कमाउने र नेपाल फर्किएपछि चिटिक्क परेको घर बनाउने सपना सजाएकी थिइन्, मोरङ सुन्दर–दुलारीकी धर्मकुमारीले। उदयपुर ठोक्सीलाकी हरिमाया र कोसी–हरैंचा नगरपालिकाकी कृष्णकुमारीको सपना पनि उस्तै थियो। मनभरि सपनाको सुन्दर महल बनाउँदै माघको पहिलो साता ३ जना झापाको काँकाडभिट्टा आइपुगे। तर, उनीहरूको सपना काँकडभिट्टा आइनपुग्दै तोडियो।

३ जना इलाका प्रहरी कार्यालय काँकडभिट्टा र माइती नेपालको नजरमा परे। उनीहरूलाई पूर्वी नाकाबाट नियन्त्रणमा लिइयो। प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने कागजात माग्यो। उनीहरूसँग थिएन। र, प्रहरीले ३ जनालाई नै काँकडभिट्टास्थित माइती नेपालको कार्यालयमा राखेर अनुसन्धान गरी आफन्तको जिम्मा लगायो। उनीहरूसँग कुनै कागजात नभएको होइन तर भए जति सबै कागजात पहिल्यै दलालले हात पारिसकेको थियो।

माइती नेपालको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कयौं नेपाली महिला दलालको लुटको चंगुलमा यसैगरी फसिरहेका छन्। कुवेत मात्रै होइन, वैदेशिक रोजगारीको आकर्षक गन्तव्य इजरायल जाने महिला पनि दलालको पञ्जामा परिरहेका छन्। भारतीय बाटो प्रयोग गरेर इजरायल पठाइदिने आश्वासन दिएर दलालले लाखौं कुम्ल्याउने र महिलालाई भारतका विभिन्न सहरमा पुर्यारएर अलपत्र पारेका घटना प्रशस्तै छन्। गत साता पनि इजरायल जान हिँडेका २ महिलालाई माइती नेपालले नियन्त्रणमा लियो। उनीहरूसँग राहदानी, नागरिकता र वैदेशिक रोजगारीमा जान चाहिने कागजात थिएन। यसरी नै मानव तस्करको सञ्जालले नेपाली महिलालाई ठगिरहेको छ।

माइती नेपाल काँकडभिट्टाको पछिल्लो १ महिनाको तथ्यांक अनुसार विनाकागजात खाडी मुलुक जाने महिलाको संख्या निरन्तर बढिरहेको छ। सन् २०१६ जनवरी १ देखि २९ तारिखसम्मको तथ्यांकअनुसार पूर्वी नाकाबाट खाडी मुलुक हिँडेका ३२ महिलालाई फिर्ता गरिएको छ। उनीहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

माइती नेपालका अनुसार उनीहरूसँग कुनै कागजात थिएन। अवैध बाटोबाट विदेश लैजाने एजेन्टले कागजात नियन्त्रणमा लिएपछि मोटो रकम असुल्ने गरेका छन्। ‘काम हुँदैछ भन्दै अल्मल्याउने गरेका छन्’ हरिमायाले भनिन्, ‘बल्ल–बल्ल लैजान लागेको खबर गरे, तर यहाँ अर्को लफडामा फस्नुपर्योक।’ उनले कागजात र रकम लिएपछि दलाल नै बेपत्ता हुने गरेको बताइन्।

पीडितसँग कागजात र रकम दिएको भर्पाइ पनि हुँदैन। जसका कारण न्याय पाउनबाट उनीहरू वञ्चित छन्। मानव तस्करको गिरोह कानुनी कारबाहीबाट बचिरहेको छ। ‘पूर्वी नाका हुँदै खाडी मुलुक हिँडेका अधिकांश महिलासँग कागजात हुँदैन,’ माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरे भन्छन्, ‘झुठो प्रलोभनमा परेर खाडी मुलुक पुगेका धेरै महिलाको उद्धार गरिएको छ।’

तर, राहदानी, फर्केर आउँदाको हवाइजहाजको टिकटलगायत कागजात नहुँदा मानव तस्करले छुटकारा पाउने उनले बताए। ‘कतिले त दलाल पनि चिन्दैनन्,’ घिमिरे भन्छन्, ‘विभिन्न बहानामा एजेन्टले कागजात हत्याउँछन्।’ उनका अनुसार एजेन्टले घरेलु कामदारको रोजगारी र राम्रो कमाइको लालच देखाएर महिलालाई भारतको बाटो प्रयोग गरिरहेका छन्। ‘तीमध्ये ६५ देखि ७० प्रतिशतले एजेन्ट देखेकै हुँदैनन्’ उनी भन्छन् , ‘८० देखि ९५ प्रतिशतसँग कागजात हुँदैन।’

दलालको प्रलोभनमा परेर बिदेसिएका महिलालाई भारतीय यौन बजारमा पुर्यालइन्छ। पीडित महिला प्रमाण अभावकै कारण अन्याय सहेर बाँचिरहेका छन्। अवैध रूपमा विदेश पठाउनेविरुद्ध मुद्दा दर्ता भए पनि प्रमाण अभाव मुख्य समस्या हो। झापा प्रहरीका अनुसार दलालले कागजात जफत गरेपछि ठगीको प्रमाण जुटाउनै सकस हुने गरेको छ। ‘काठमाडौं विमानस्थलबाटै हिँडेकासँग पनि कागजात हुँदैन’ झापा प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले भने, ‘एयरपोर्टको गेटमा पुगेपछि मात्रै कागजात पाउँछन् कसले दिएको भन्ने पनि थाहा हुँदैन।’

एसपी ज्ञवालीका अनुसार समस्या नपरी उजुरी नआउने भएकाले दलाललाई कानुनी दायरामा ल्याउन सकिएको छैन। ‘किटानी जाहेरी नदिएसम्म कारबाही गर्न मिल्दैन’ ज्ञवालीले भने, ‘पीडितले जाहेरी दिन ढिला गरे अभियुक्त उम्किन्छन्, मुद्दा कमजोर हुन्छ।’

ठगिने आशंकाले बेलैमा उजुरी दिए धेरै अभियुक्तलाई कानुनी कठघरामा उभ्याउन सकिने माइती नेपालले जनाएको छ। ‘पीडितको जाहेरीबिना कसैलाई कारबाही गर्न सकिँदैन’ घिमिरेले भने, ‘पीडित पक्ष दलालको गिरोहविरुद्ध नलागेसम्म न्याय दिलाउन सकिँदैन।’ मानव बेचबिखनजस्तो संवेदनशील मुद्दाको सुनुवाइमा प्रमाण नहुँदा न्याय दिन समस्या हुने कानुन व्यवसायी बताउँछन्। प्रमाण अभावमा मुद्दा असफल हुने र घटनामा संलग्न व्यक्तिले सफाइ पाउने भएकाले मानव तस्करीका घटना नियन्त्रण हुन नसकेको हो। 

यो समाचार नागरिक दैनिकमा राजु अधिकारीले लेखेका हुन् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय