बैदेशिक रोजगारमा डरलाग्दो तथ्यः मलेसियामा हरेक दिन एक नेपालीको जान्छ ज्यान 

क्वालालम्पुर माघ १५- गत महिना मलेसिया स्थीत नेपाली दुतावासले हरेक हप्ता ११ जना नेपालीको मृत्यु भइरहेको तथ्याँक सार्वजनिक गरेपछि यसले धेरैलाई अचम्मित पार्यो । स्वयं कामदारहरु पनि यो तथ्याँक देखेर छक्क परे । मलेसियामा मृत्युसँग पौंठेजोरी खेलेर नेपालमा पैसा पठाइरहेको कुरालाई यसले छर्लङ्ग पार्यौ ।  

नेपाली दुतावासको तथ्याँकले पछिल्लो १२ बर्ष भित्रमा ३ हजार नेपालीले मलेसियामा ज्यान गुमाएको देखाएको छ । त्यमध्ये पछिल्लो ५ महिना भित्रमा मात्र १ सय ६६ जनाले ज्यान गुमाएका छन् । यसरी हेर्दा यो समयावधिमा हरेक हप्ता सरदर ९ जना नेपालीको ज्यान गएको देखिएको छ । ‘केहि महिना अघि काम गरिरहेको बखत नै एकजना ढलेर घटनास्थलमै ज्यान गयो’ सेक्यूरिटी गार्डका रुपमा काम गर्ने ४३ बर्षिय दिलिप मल्ल भन्छन् ‘त्यो हर्ट अट्याक भएर भएको रहेछ, पछि थाहा भयो ।’ 

नेपालीहरुको हर्ट अट्याकबाट मर्ने दर देखेर स्वयं चिकित्सकहरु तथा कामदारको अधिकारका पक्षमा आवाज उठाइरहेकाहरु समेत छक्क पर्छन् । नेपालीको यसरी मर्ने दर कतार, युएई र अन्य खाडीका देशहरुमा पनि धेरै छ । 

अनुसन्धानकर्ताहरु गर्मी समयमा धेरै समय खुल्ला ठाउँमा काम गर्नु र बसोवासको ठाउँमा पनि उचित तरिकाले बस्न नपाउनु वा नजान्नु नै यसरी अकस्मात मृत्यु हुने एउटा कारण हो भन्छन् । यसैगरी घरको चिन्ता तथा अन्य समस्याहरुले पनि यसमा मलजल गरिरहेको उनीहरुको निश्कर्ष छ । थोरै कमाईका कारण बढी चिन्तामा कामदारहरु पर्ने गरेको देखिएको छ । मलेसियन रिंगिटको भाउ नेपालमा घट्नु पनि नेपाली कामदारका लागि ठूलो चिन्ताको विषय भएको मलेसिया किनिले लेखेको समाचारमा उल्लेख छ । 

नेपालबाट झण्डै २० प्रतिशत काम गर्ने युवा शक्ति अहिले बैदेशिक रोजगारीमा रहेको देखिएको छ । त्यसमध्ये बहुसंख्यक भारतसँगै मलेसिया तथा अन्य खाडीका देशहरुमा कार्यरत छन् । उनीहरुले कमाएर पठाएको रकमको कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सेदारी छ । 

मलेसियामा ७ लाख बढी नेपालीहरु कार्यरत छन् । यो मलेसियामा कार्यरत आप्रवासी कामदार मध्ये ठूलो संख्या हो । यसैगरी उनीहरुले कमाएर पठाउने रेमिट्यान्स नेपाल भित्रिने कुल रेमिट्यान्सको ४० प्रतिशत हुन आउँछ । यस यस वापत थुप्रै नेपालीको ज्यान गइरहेको छ । दैनिक नेपालबाट १५ सयको हाराहारीमा बैदेशिक रोजगारका लागि उड्ने गरेका छन् । गत बैशाखको भूकम्प र त्यसपछि भारतले लगाएको लामो समयको अघोषित नाकावन्दीका कारण यो संख्या अझ बढ्ने देखिन्छ ।  

आप्रवासी कामदारका पक्षमा मलेसियामा कार्यरत संस्था टेन्गानिटाकी कार्यक्रम निर्देशक एन्जल फर्नान्डेजले आप्रवासी कामदारको मृत्यु दर चिन्ताजन अवस्थाको रहेको बताइन् । उनले आप्रवासी कामदारको आत्महत्या तथा अन्य अकस्मात हुने मृत्युका बारेमा सरकारले विस्तृत अध्ययन गर्नुपर्ने बताइन् । 

सरकारी अस्पतालका एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा बहुसंख्यक मृत्युको कारण मुटु सम्वन्धि समस्या(हर्ट अट्याक) रहेको बताए । तर त्यसको कारण के हो भन्ने बारेमा हालसम्म अनुसन्धान नगरिएका कारण विस्तृतमा भनें उनले केहि बताउन नसक्ने बताए । 

यो समाचार मलेसियाको चर्चित अनलाइन मलेसियाकिनी डटकमले तयार पारेको हो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय