काठमाडौं-विदेश जान नक्कली पासपोर्ट प्रयोग गर्ने गरेको खबर त नयाँ थिएन तर विदेशबाट फर्कंदासमेत नक्कली पासपोर्ट प्रयोग हुन थालेको खुलेको छ । कामदार फर्कंदा उपयोग हुने गरेका फर्जी पासपोर्ट संख्या उल्लेख्य मात्रा रहेको देखिएपछि नेपाली प्रशासन चनाखो भई अनुसन्धान थालेको छ ।

कैयौं अवस्थामा नक्कली पासपोर्ट प्रयोग गरी नेपाल फर्किरहेका कामदारले समेत यो कुरा थाहा नपाएको देखिएको छ ।
मलेसिया र साउदी अरबबाट फर्किएका कामदारका डकुमेन्ट जाली रहेको र ठूलो रकमको चलखेल भएको हुनसक्ने आशंका अधिकारीहरुको छ । पछिल्लो समय केही त्यस्ता कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले पक्राउ गरी यस विषयमा अनुसन्धान सुरु गरेको छ ।
पछिल्लो समय विभागले अन्तर्राष्ट्रिय विमानस्थलबाट दीपनारायण शाह, २१, लाई मलेसियाबाट फर्कंदै गर्दा पक्राउ ग¥यो । उनले प्रयोग गरेको राहदानी रामलाल दास तत्माको थियो तर दीपनारायणले आफ्नै नाउँको पासपोर्ट भनी मलेसियाबाट बोकी हिँडेका थिए । दीपनारायणले रामलाललाई बिल्कुलै चिनेका थिएनन् ।
अध्यागमन विभागको सुरुआती अनुसन्धान क्रममा दीपनारायण ३ हजार रिङ्गिट (७६ हजार रुपैयाँ) तिरी मलेसियाबाट फर्किएका थिए । १४ महिनाअघि मलेसिया जाँदा आफ्नो पासपोर्ट लिएर गएका उनले फर्कनेबेला असली पासपोर्ट नपाएपछि नक्कली कागजमा फर्किएको स्विकारेका छन् ।
अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले पासपोर्ट जालसाजीको यो नयाँ किसिम देख्दा आश्चर्यमा परेको बताए । ‘मेसिन रिडेबल पासपोर्टको यो किसिमको फर्जीपन ज्यादै आश्चर्यको कुरा हो,’ उनले नागरिकसँग भने, ‘यो आपराधिक क्रियाकलाप भएकाले हामीले नेपाल प्रहरी र राहदानी विभागसँग मिलेर निकट भविष्यमा कस्तो बाटो निकाल्ने हो भनी काम गरिरहेका छौं ।’
यस्ता फर्जी केसमा पासपोर्टको पहिलो पृष्ठमा भएजस्तै नयाँ पृष्ठ टाँस्ने गरिन्छ । पुरानोमाथि नयाँ पृष्ठ टाँसिएपछि अर्को व्यक्तिलाई दिइन्छ ।
वैदेशिक रोजगारीमा जाने सबैभन्दा दोस्रो र तेस्रो ठूलो राष्ट्र साउदी अरब र मलेसिया हुन् । ती देशमा एउटा काममा गएका कामदार सुरुको कम्पनीमा भएको सम्झौताअवधि अघि नै काम छाडेर अर्कै कम्पनीमा गए त्यसलाई गैरकानुनी मानिन्छ । रोजगारदाताको सहमतिबेगर काम परिवर्तन गरे पनि त्यस्ता कामदारलाई गैरकानुनी मानिन्छ ।
अध्यागमन विभागका एक कर्मचारीका अनुसार गएका दुई सातायता यसरी फर्जी पासपोर्टमा नेपाल फर्किएका २० वटाभन्दा बढी मुद्दा देखापरेका छन् । प्रायः गैरकानुनी ठानिएका कामदारले घर फर्कन यस्तो उपाय अपनाउने गरेको अनुसन्धानले देखाएको छ ।
एक अधिकारीले नागरिकलाई भने, ‘कतिपय गैरकानुनी कामदारका पासपोर्ट दलाललाई बेचिन्छ र दलालले केही रकम लिएर त्यस्ता पासपोर्टमा नयाँ व्यक्तिको तस्बिर र सूचना राखी घर फर्कन चाहिरहेका गैरकानुनी कामदारलाई महँगो दाममा बेच्ने गर्छन् ।’

नागरिकबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय