काठमाडौं – बितेको वर्ष २०१५ मा मात्र वैदेशिक रोजगारका लागि खाडी आइपुगेका ५ सय ८३ जना नेपालीको ज्यान गएको छ । जसमा झन्डै दुई दर्जन महिला कामदार छन् । खाडीस्थित नेपाली दूतावासले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी साउदी अरबमा २ सय ७४, कतारमा १ सय ८२, संयुक्त अरब इमिरेट्स (यूएई) मा ६४, कुबेतमा ४५, बहराइनमा १०, ओमनमा ६ र लेबनानमा २ जनाको मृत्यु भएको हो ।
खाडीमा कामदारहरूको ‘नेचुरल’ मृत्यु दर उच्च छ । स्वास्थ्यसम्बन्धी ध्यान पुर्याउन नसक्दा उनीहरू ज्यान गुमाइरहेका छन । धेरैजसो सुतेको सुत्यै अर्थात् ‘सडेन कार्डियक एरेस्ट’ का कारण मरेका पाइन्छन् । साउदीस्थित नेपाली दूतावासका अनुसार १ सय ४५ जनाको ‘नेचुरल’ (जसमा हृदयाघातसमेत पर्छ) मृत्यु भएको छ ।
त्यसबाहेक सडक दुर्घटनामा ७३, आत्महत्याबाट २१ र काम गर्ने क्रममा ३२ जनाको ज्यान गयो । ४ जनाको हत्या भयो । नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतारमा पनि कार्यक्षेत्रको दुर्घटनामा परेर २५ जना बिते ।
कतारमा करिब ६० प्रतिशत नेपाली निर्माणक्षेत्रमा कार्यरत छन् । त्यहाँ पनि ‘सडेन कार्डियक एरेस्ट’ भएर ज्यान जानेको संख्या ९२ छ । त्यसपछि सडक दुर्घटनामा ३३ मारिए भने २९ ले आत्महत्या गरे । कतारले पञ्चवर्षीय रणनीतिअनुसार सडक सुरक्षालाई उच्च प्राथमिकता दिई काम गरिरहेको छ ।
यूएईस्थित नेपाली दूतावासका अनुसार हृदयाघातसहित ‘नेचुरल’ मा ४०, सडक दुर्घटनामा ९, कार्यक्षेत्र दुर्घटनामा १, डुबेर २, हत्याबाट १ र अन्यमा दुई जनाको मृत्यु भएको छ । कुबेतमा सबैभन्दा बढी महिला कामदार १२ जनाको मृत्यु भएको छ ।
दूतावासका अनुसार सन् १९९२ देखि ०१५ सम्म १ सय ८ महिला र २ सय ४८ पुरुष कामदारको मृत्यु भएको छ । दूतावासले सेल्टर दिनुको साथै उद्धार प्रक्रियामा महिलाहरू सामेल हुन थालेपछि आत्महत्या दर कम हुन थालेको छ । कुबेतमा मात्रै झन्डै २६ हजार घरेलु कामदार कार्यरत छन् ।
‘हामीले समस्यामा परेका महिलाहरूको उद्धारलाई निकै प्राथमिकता दिन थाल्यौं । स्थानीय संघसंस्थासँगको समन्वयमा सेल्टरमा राखेर उद्धार गरेपछि समस्यामा परेका महिलाहरू बाहिरी सम्र्पकमा आउन थाले,’ इजिप्टस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कौशलकिशोर रायले भने ।
खाडीका सरकारहरूले कार्यक्षेत्र सुरक्षामा उच्च सतर्कता अपनाए पनि खानपिन र बासस्थानका कारण कामदारको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ । ‘नेपाली कामदारमा उच्च रक्तचाप, सुगर निकै माथि छ,’ कतारमा कार्यरत नेपाली डाक्टर मोहम्मद मोदासिर आलामले भने, ‘अर्कोतर्फ धेरै मानसिक तनावमा देखिन्छन् । रक्तचाप बढाउन यसले ठूलो भूमिका निर्वाह गरेको छ ।’
खाडीका सरकारले कार्यक्षेत्रमा ‘सुरक्षा सतर्कता’ लाई विशेष ध्यान दिए पनि बासस्थान र उनीहरूको स्वास्थ्य परीक्षणमा ध्यान पुर्याउन सकेको छैन । ‘हामीले नेपालबाटै आउने बेला उनीहरूलाई स्वास्थ्य परीक्षणमा ध्यान दिन सिकाउनुपर्छ,’ साउदीका लागि कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले भने ।
कान्तिपुरबाट