
सुदिप निउरे,क्वालालम्पुर- मलेसियाले विदेशी नागरिकहरुको उपचार शुल्क बढाएको छ । यहि जनवरी १ गते देखि लागु हुने गरि उपचार शुल्क बृद्धि भएको हो । उपचार शुल्क ७० प्रतिशतले बृद्धि गर्ने स्वास्थ्यमन्त्री डाक्टर एस सुब्रमन्युमले यस अघिनै घोषणा गरेका थिए । निजि तथा सरकारी क्लिनिक होस् वा अस्पताल अब बिदेशी नागरिकले सामान्य रोगको उपचारको लागि पनि महंगो शुल्क तिर्नु पर्ने छ ।
बिगत छ महिनाको अन्तरालमा उपचार शुल्क दुई पटक बृद्धि भैसकेको स्थानिय सञ्चार माध्यमले जनाएका छन । गत जुलाइ महिनादेखि यहाँको सरकारले जिएसटि लागु गरे सँगै उपचार शुल्क पनि बढेको थियो । नयाँ स्वास्थ्य नीतिले मुख्यगरि न्युन ज्याला भएका कामदारमाथि धेरै असर पर्ने देखिएको छ ।
यस्को मुख्य असर बिमाको दायरा अन्तर्गत उपचार नगर्ने, कम्पनिहरुले उपचार शुल्क नदिने र अबैधानिक् कामदारलाई पर्नेछ । उपचार शुल्क बारेमा यहाँका कम्पनिहरुको आआफ्ना नियम छन् । कतिपय राम्रा कम्पनिहरुले सबै उपचार खर्च व्यहोरे पनि धेरैजसोले बार्षिक रुपमा मुस्किलले ३ सय आरएमसम्म दिने गर्दछन् । त्यो भन्दा बढि रकम उपचारका लागि खर्च भए तलबबाट कटौती गर्दछन् । यसले गर्दा बिदेशी कामदारको न्युन पारिश्रमिकले महंगो उपचार शुल्क तिर्न कठिन हुने भएको छ ।
मानव अधिकारबादी संस्था तेनागानीता तथा एक्सन रिसर्च अन एड्स एण्ड मोबिलीटी जस्ता सस्थाहरुले गैर नागरिकहरुको उपचार शुल्क बढाएको प्रति असहमती जनाएका छन । सरकारको यस नीतिले स्वास्थ्य पहुँचमा गिरावट आउने र समस्या झनै चर्किने अधिकारबादी संस्था तेनागानीताले स्पष्ट पारेको छ । बिशेषगरी संक्रमित एवं उच्च जोखिममा रहेका बिदेशी बिरामी कामदार उपचार सेवाबाट बन्चित हुने तेनागानीताको तर्क छ । कामदारको उपचार स्वास्थ्य बिमाबाटै हुनु पर्ने एक्सन रिसर्चको भनाई छ । यदी कामदारहरुले सुलभ उपचार सेवा पाउन नसके त्यस्को असर राष्ट्रिय उत्पादनमा पर्ने दुबै संस्थाको तर्क छ ।
गत बर्षको जुलाइअघि यहाँको सरकारी क्लिनिकबाट बिदेशी कामदारले १५ आरएममा सम्पुुर्ण उपचार पाउंदै आएका थिए । जुलाइपछि १५ आरएमलाई बढाएर दर्ता शुल्क २३ आरएम लिन थालिएको हो । रगत, दिशा, पिशाब, एक्सरे परिक्षण, एबुलेन्स् लगाएत सबैको अलग अलग शुल्क जुलाइ देखिनै लिन थालिएको हो । अहिले दर्ता शुल्क ४० आरएम देखि सुरु हुन्छ। सामान्य रगत परिक्षणको ४० आरएम , डेंगिको लागि रगत परिक्षण गर्दा १ सय ६० आरएम, लगाएत हरेकको अलग अलग शुल्क तिर्नु पर्ने हुन्छ ।
यसै गरि यहाँका सबै अस्पतालहरुले पनि नयाँ बर्षसँगै नयाँ शुल्क लागु गरेका छन् । परिश्रमीक नबढ्ने उपचार शुल्क मात्र बढ्ने गर्दा कामदार मर्कामा परेका छन् । मलेसियन नागरिकले भने स्वास्थ्य सेवा सरकारी क्लिनिक होस या अस्पताल जहांबाट पनि मात्र १ आरएममा पाउंदै आईरहेका छन् ।