कमाउन गएकी उनी ३ लाख तिरेर फर्किइन्

धादिङबेसी, साउन ३- सडकमार्ग हुँदै भारत पुगेर त्यहाँबाट पैसा कमाउन कुवेत उडेको मैले दुबई एयरपोर्ट पुगेपछि मात्रै थाहा पाएँ– सिरिया जाँदै छु । केही गडबढ छ भन्ने शंका त उब्जियो तर अरू पनि सँगै भएकाले कसैलाई केही भनिनँ । सिरियाको अवस्थाबारे मलाई केही थाहा थिएन । त्यहाँ पुगेपछि मात्रै सिरिया द्वन्द्वग्रस्त मुलुक रहेछ भन्ने थाहा भयो । दमास्कस सहरको एउटा घरमा काम सुरु गरें । सुरुमा सजिलै थियो । काम बढी नै गर्नुपरे पनि साहुलाई रिझाएरै काम गरिरहें । चार महिनासम्म काम गर्दा पनि तलब दिने सुरसार गरेन । आफूलाई छटपटी हुन थाल्यो । पतिसँग छुट्टिएपछि छोराछोरी बहिनीको जिम्मा छोडेर गएकी थिएँ । बहिनीले बिहे गरेपछि नातिनातिनालाई आमाले नै ल्याउनुभएछ । घरमा पैसा पठाउन नपाउँदा छटपटी भए पनि एकैचोटि ५, ६ महिनाकै पठाउँला भन्ठानें । घरमा फोन गर्दा ‘राम्रै कमाइ छ, राम्रै काम छ’ भन्थें आमालाई । जुन दिन मैले काम गरेको तलब मागें त्यही दिनदेखि मेरो दुःखका दिन सुरु भए । पैसा मागेदेखि साहुले मलाई फोन गर्न नदिने, काम बढी गर्न लगाउने, कुट्ने—पिट्ने गर्न थाल्यो । अलिअलि सन्चो नभएर काम गर्न अल्छी गर्दा झन् बढी कुटाइ खान थालें । पैसाको कुरा गर्दा खान दिएकै छु, लाउन दिएकै छु, किन चाहियो पैसा भनेर सधैं कुट्थ्यो । दुःखमा झन् बढी छोराछोरीको याद आयो । आमालाई सम्झिए पनि साहुले फोन गर्न दिँदैनथ्यो । बाहिर जोखिम पनि थियो । पैसा नदिएपछि काम गर्न जाँगर पनि चल्दैन थियो । म नेपाल नै फर्कने कुरा गरेपछि त साहुले बन्धक नै बनाएर घरबाहिर निक्लन पनि नदिने र खान पनि समयमा नदिने गर्न थाल्यो । काम गरे पनि जस नपाउने अनि घरमा फोन पनि गर्न नदिनुको कारण मलाई थाहा थिएन । अलिकति काम बिग्रे पनि धेरै कुटाइ खान्थें । शरीरमा अहिले पनि नीलडाम छ । मलाई बाँच्न लेखेको रहेछ । एक दिन म्याग्दीतिरको एकजना नेपालीसँग घरमै भेट भयो । उनले मोबाइल दिए अनि एक दिन साहुहरू सुतिसकेपछि घरमा आमालाई फोन गरेर सबै कुरा बताएँ र छिटो नेपाल झिकाउन भनें । एक महिनासम्म दिनहुँजसो रातिराति फोन गरें आमालाई । फोनमा आमाछोरी नै रुने भन्दा अरू केही काम भएन । ती दिन सम्झँदा अहिले पनि आँसु आउँछ । छोरीले घर गरेर खान सक्ने भई भनेर बुबाआमाले मैदी गाविसका विकास मगरसँग बिहे गरिदिनुभएको थियो । खेतीपाती गरेर वर्षभरि खान नपुग्ने जमिन थियो । दुई बच्चा जन्मेदेखि नै पति र परिवारसँग मेल नभएपछि म छुट्टिएर बसें । बालबच्चाको पालनपोषण गर्न काम खोज्दै दुई बच्चा लिएर पोखरातिर लागें । पोखरामा दूध कम्पनीमा जागिर खान थालें । त्यहाँ म बहिनीसँग बस्थें । दूध कम्पनीबाट दिएको तलबले खानबस्न पुगेकै थियो । अचानक १५ दिन बिरामी परें, जागिरमा जान सकिनँ । निकालिदियो । दूध कम्पनीको जागिर छुटेपछि अरू ठाउँमा काम खोज्दै भौंतारिएँ तर कहींकसैले जागिर दिएन । घरेलु कामदारका रूपमा महिला विदेश गएको सुनेकी थिएँ । मलाई पनि विदेश जाने सोच आयो । पोखराकै लक्ष्मी श्रेष्ठले ‘तिमी विदेश जाऊ, त्यहाँ कमाइ राम्रै हुन्छ’ भनिन् । मैले भनें, ‘मसँग पैसा छैन, कति खर्च लाग्ने हो ? ’ उनले भनिन्, ‘तिमी दुःख पाएको मान्छे, विदेश जाँदा लाग्ने खर्च पछि कमाएर तिरे पनि हुन्छ । मैले मान्छे चिनेको छु म भनिदिउँला । उनकै सल्लाहअनुसार विदेश लैजाने दलाललाई एकपटक भेटेर कुरा गर्ने सोच आयो । काम नपाएर भौंतारिरहेका बेला एकपटक दलाललाई भेटौं न त भनेर काठमाडौं गएँ । पोखराकै राजु ढुंगाना भन्ने दलाललाई काठमाडौंको एक होटेलमा भेट्दा अरू पनि विदेश जान लागेका रहेछन् । त्यहाँ मजस्तै अरू महिला भेटेपछि मलाई अलिकति विश्वास लाग्यो । दलालसँग कुराकानी भएर कुवेत जाने पक्का भएपछि म पासपोर्ट बनाउन धादिङ गएँ । धादिङबेसी गएर पासपोर्टको सिफारिस लिएर काठमाडौं गएँ । मेरो पासपोर्ट बनाउन कति खर्च लाग्यो के के गर्नुपर्‍यो मलाई केही थाहै नदिई दलालले पासपोर्ट मेरो हातमा राखिदियो र भन्यो, ‘कुवेतमा घरमा काम गर्न जाने हो, महिनाको चार सय डलर कमाउछ्यौ ।’ काम नपाएर भौतारिरहेका बेला खर्च पनि नलाग्ने अनि महिनाको चार सय डलर कमाउने भनेपछि म छोराछोरी बहिनीको जिम्मा लगाएर कुवेत जान राजी भएँ । नेपालबाट त्यतिबेला कुवेत जान नपाइने रहेछ । भारतमा गएर भिसा लगाउने र त्यहींबाट कुवेत जाने सल्लाह भएपछि मसहित चितवन, दमौली र पोखराकै तीनजना गरी चारजना भारत जान काँकडभित्ताको बस चढ्यौं । दलाल पनि सँगै थियो । बीचमा प्रहरीले कहाँ जान लागेको भनेर सोधिहाले आफन्त भेटघाटमा भन्नु भनेर सिकाएका थियो । बाटोमा प्रहरीको चेकिङ भएन । सजिलै भारत पुग्यौं । तर त्यहाँबाट मलाई कुवेत पठाइएन । बरु नेपालमा दुःखको सागरमा फसेकी म सिरियामा त्यस्तै अर्को सागरमा पो पुगें । …………………. सिरियामा मेरो दुःखले आत्तिएकी आमा एक दिन मेरो समस्या लिएर सुरक्षित आप्रवासन परियोजनाले सञ्चालन गरेको सूचना केन्द्रमा जानुभएछ र उद्धारका लागि निवेदन दिनुभएछ । मेरो उद्धारमा ढिलो भएमा तिमीले छोरीलाई जिउँदो भेट्नेछैनौ भनेर आमालाइ भन्थें । त्यहींबाट पत्रकारहरूले समाचार बनाउनुभएछ । समाचार पढेर धादिङ मैदीकै बालकृष्ण श्रेष्ठ मेरो जीवनमा भगवान् बनेर आउनुभयो । घरबाट आमाले पनि फोन गर्नुहुन्थ्यो । साहुहरू सुतिसकेका बेलाभन्दा बाहेक अरू बेला फोनमा कुरा हुँदैनथ्यो । मैले फोन लिएको पनि साहुलाई थाहा थिएन, थाहा भएको भए जे पनि हुन्थ्यो होला । एक दिन राति बालकृष्ण दाइसँग कुरा भयो । मैले समस्या बताएँ । छोराछोरीको मुख देख्न पाउदिनँ जस्तो लागेको र नेपाल फर्कन चाहेको बताएँ । त्यसपछि बालकृष्ण दाइसँग मेरो साहुलाई छलेर कुराकानी हुन थाल्यो । उनले उद्धार गर्ने वचन दिए । एक दिन मेरो साहुसँग कुरा गरेपछि मात्रै मैले कुटाइ खानु र बन्धक हुनपर्ने कारणबारे थाहा पाएँ । मैले काम गरेबापत पाउने तलबबाट पाँच हजार डलर त पहिल्यै दलालले फुत्काइसकेको रहेछ । अहिलेसम्म काम गरेबापतको तलब दुई हजार डलर काटिएको र तीन हजार डलर बुझाएमात्रै पासपोर्ट फिर्ता दिएर घर जान दिने कुरा बालकृष्ण दाइलाई बताएपछि म छाँगाबाट खसेजस्तै भएँ । म दिनरात नभनी काम गर्ने अनि तलब अरूले नै लैजाने । त्यसपछि बालकृष्ण दाइ पैसा जुटाउन लाग्नुभयो । तीन हजार डलर तिर्न नसकेर म सिरियामा अलपत्र परेको भन्ने समाचार प्रकाशित भएपछि हङकङ मगर संघकी अध्यक्ष चन्द्रज्योति मगरको पहलमा तीन हजार डलर साहुलाइ तिरें । बालकृष्ण दाइले जहाज भाडा उपलब्ध गराइदिएपछि म नेपाल फर्कन सफल भएँ । ……………….. टन्न पैसा कमाएर बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेश गएकी म सग्लो ज्यानमात्रै लिएर फर्केकी छु । बहिनीलाई छोराछोरी जिम्मा लगाएर छोरालाई भनेकी थिएँ, ‘बाबु, म धेरै पैसा कमाएर ल्याउँछु । अनि तिमीलाई राम्राराम्रा खेलौना र लुगाकपडा किदिदिउँला । सधैं स्कुल जाने गर है ।’ डेढ वर्षपछि अहिले छोरासँग भेट हुँदा उसले मलाई खेलौना र पैसाबारे त सोधेको छैन । तर म आफूले भनेको सम्झीसम्झी भक्कानिरहेकी छु । अब कसरी जिन्दगी चलाउने अन्योलमा छु । के गर्ने के नगर्ने केही सोच्न सकेकी छैन । अहिले पनि एक्लै हुँदा झस्किन्छु, कतै म सिरियामै त छैन भनेर । हातमा एक पैसा पनि छैन तर यी दुई बच्चाको माया र स्नेह छ । यिनीहरूको माया र ममताले मलाई सकुशल नेपाल फर्काएको छ । अब नेपालमै केही गरेर बच्चा पढाउँछु भन्ने आँट छ । त्यहाँबाट बाँचेर फर्कुंलाजस्तो कत्ति पनि लागेको थिएन तर सहयोगीहरू भेटेपछि नयाँ जीवन पाएको आभास भएको छ । मलाई सकुशल फर्काउन सहयोग गर्ने सबै जनालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, विशेष गरी बालकृष्ण दाइ र चन्द्रज्योति दिदीलाई । उहाँहरू नभएको भए मैले दुई बच्चा र आमालाई भेट्न पाउदिनँ थिए होला । मसँग गएका तीनजना अरू नेपालीहरूको कस्तो हालत होला । सिरियामा काम लगाइदिने अफिससम्म त हामीसँगै थियौं । अहिले कहाँ कुन अवस्थामा छन् केही पत्तो छैन । काठमाडौं ओर्लनेबित्तिकै प्रहरीमा दलालविरुद्ध उजुरी दिएको छु । म त फसें—फसें अब अरू कोही यसरी नठगियून् भन्न पनि त्यो दलालमाथि कारबाही होस् । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् साउदीको तातो खाएर फर्केपछि नेपालमा गरेको लोभलाग्दो प्रगति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय