साउदीको तातो खाएर फर्केपछि नेपालमा गरेको लोभलाग्दो प्रगति

पोखरा, असार २२– पोखरा रानीपौवाका राजन श्रेष्ठलाई साउदी अरबको तातो घामले शरीरमा पोलेको सबैले देखे, तर त्यो तापले शरीर भित्रैबाट निकालेको बाफको महशुस उनले मात्रै गरे । शीतल वातावरणमा हुर्के बढेको पोखरेली ठिटोलाई खाडीको तातोले धेरै कुरा बुझायो । विदेश गएपछि पैसा त पात टिपे जस्तो ठान्ने आम नेपाली प्रवृत्तिको गतिलो चित्र उनले देखे । तीन बर्षे साउदी बसाईमा उनले आफ्नो देश, परिवार र समाजको महत्व बुझे । फुक्काफाल जिन्दगी बाँचिरहेको ठिटोले अर्काको देशमा निक्कै गोता खाए । अनी निश्कर्षमा पुगे आफ्नै देशमा गएर गरी खाने मेलोको खोजि गर्ने । Rajan 4 … प्रचण्ड गर्मि खेपेको शरीर पोखराको हावामा फर्कियो तीन बर्ष पछि । केही त गर्नै पर्यो भन्ने हुटहुटीले शुरु गरे गाडिको ब्यवसाय । यो काममा पनि मन अडिएन । मन नअडिनुको कारण उनले धेरै पछि बुझे । हामी नेपाली किस्मत गर्न पछि पर्दैनौं तर विना सीपको मेहनतको केही अर्थ हुँदो रैनछ । हो, साउदी बसाईले नै हो राजनलाई हातमा सीप हुँदाको महत्व कति हुँदो रैछ भन्ने बुझाएको । त्यसो त साउदी बस्दाका कहर मात्रै होइन कमाई पनि सम्झन मन छैन राजनलाई । तर जति विर्सौं भन्दा पनि साउदी बसाईले सम्झाएको कुराले नै उनको जीवन मोडिएको भने पक्कै हो । ……………. ‘मलाई सधैं म किन मेरै देशमा काम गर्न सकिन भन्ने लागिरहन्थ्यो’, राजन भन्छन्, सधैं अरुले गर्दा काम गर्ने वातावरण भएन भनेर दुखेको गर्नु भन्दा आफैं केही गर्छु भन्दा साथ सहयोग मिल्दो रै’छ । हो, उनको केही गर्ने जाँगरमा सहयोगी बन्यो घर छेउमै रहेको पञ्चकन्या ट्रेडिङ् ईन्ष्टिच्यूट । घर छेउमै भए पनि त्यो संस्थाले के गर्छ ? उनलाई उतिसारो हेक्का थिएन । राजनका साथीभाईले संस्थाका बारेमा बताए । हातमा सीप नहुँदा गोता खाएको ठानिरहेका राजनलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो । ‘सानै देखि मलाई टेक्निकल क्षेत्रमा काम गर्ने रुचि थियो, पञ्चकन्याले दिने मध्ये एल्मुनियम फेव्रिकेटरको तालिम लिने सोच बनाएँ’ राजन भन्छन् ‘हिजोआज घर बनाउँदा काठका झ्याल ढोका राख्ने चलन हट्दै गएको छ, यही काम गर्दा कमाई पनि हुन्छ जस्तो लाग्यो र यसकै सीप सिक्ने निर्णय गरें ।’ Rajan 1 … सीप सिक्छु भन्दै निवेदन हाल्ने सयौं युवाहरु मध्ये पञ्चकन्याले सुकिलो मुकिलो भएर हिड्ने गोरो वर्णका राजनलाई पनि छनौट गर्यो । ‘झट्ट हेर्दा काम गर्ला र ? जस्तो देख्यौं कुरा गर्दै गएपछि उनमा देखिएको सीपप्रतिको लगावले पक्कै केही गरि खाला जस्तो लागेर छनौट गरेका थियौं’, पञ्चकन्याका निर्देशक विजयराज वाग्ले ती दिन सम्झदैं भन्छन्, ‘हिजो आज त उहाँलाई काम गर्न भ्याई नभ्याई छ, कमाई पनि गतिलो भएको छ ।’ हातमा सीप छैन भने विदेशै गएपनि केही हुँदैन भन्ने कुरा युवालाई बुझाउन सकिएको पञ्चकन्याका प्रमुख कैलाश कुमार रञ्जित दावी गर्छन् । सीप भएपछि विदेशै जानु पर्ने बाध्यता पनि हट्दै गएको उनको ठम्याई छ । राजनको हिजोआजको कमाई र ब्यस्तताले पनि यो कुरा पुष्टि गरेको छ । कम लगानीमा पनि काम शुरु गर्न सकिने भएपछि लगानीको जोखिम पनि भएन । Rajan 3 तालिम सकेपछि राजनले ७० हजार रुपैंयामा वर्कशप खोले । श्रीशांक मेटल एण्ड एल्मुनियम उनको वर्कशपको नाम । ४ जनालाई रोजगारी दिएका छन् । सबै खर्च कटाएर महिनाको १५–२० हजार रुपैंया बचत गर्न थालेका छन् हिजोआज । सामान महँगो भएपनि सबै लगानी आफ्नै मात्र हुँदैन, आफ्नो भनेको त त्यहि मेसिन र वर्कशप बनाउँदा लाग्ने खर्च मात्रै हो, उनी भन्छन् ‘सामानको अर्डर लिने, त्यहिंबाट सामान ल्याउने काम गरिदिने बुझाएपछि रकम लिने अनी अर्को ठाउँमा लगानी गर्ने गर्दै आएको छु ।’Rajan 2 अर्काको भूमिमा गरेको काम, विना सीप आफैंले गरेको काम र अहिले सीप सिकेपछि गरेको कामको तुलना हुनै नसक्ने राजनको बुझाई छ । ‘व्यापार भनेको व्यापारै हुँदो रै’छ मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ भन्नै सकिदैन रै’छ‘, उनले मन भित्रको कुरा बताए । जुन उनको भोगाई पनि हो । -श्रीधर पौडेल, पोखराबाट फर्केर (राजन श्रेष्ठ रोजगार कोष अन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था पञ्चकन्या ट्रेडिङ् ईन्ष्टिच्यूट, कास्कीले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् चुलो चौकोबाट सेतो एप्रोनमा चिटिक्क ! भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/vCpLhjKIHJA” frameborder=”0″ allowfullscreen></iframe>
{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय