काठमाडौ, असार १७- सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले उमेर सच्याएको प्रमाण फेला पारेको छ । सामान्यले निजामती किताबखानाबाट एकाएक गायव पारिएको सुवेदीको व्यक्तिगत फाइल खोज्ने क्रममा त्यस्तो प्रमाण फेला पारेको जानकारी स्रोतले दिएको छ । सामान्यद्वारा गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय मोरङ, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयसित सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र (उमेर खुलेको) को विवरण माग गरेको थियो । जवाफमा परीक्षा नियन्त्रण कार्यालयले सुवेदीको एसएलसीको लब्धांकपत्रमा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख भएको जनाएको थियो । जबकि निजामती किताबखानाको सिटरोलमा उनको जन्ममिति २०१७ असोज १५ उल्लेख छ । त्रिभुवन विश्वविद्यालय र मोरङ जिल्ला प्रशासनबाट चाहिँ सामान्य प्रशासनले मागेको विवरण आउन बाँकी छ । सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता लिएका हुन् । उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति मिलाएर शैक्षिक प्रमाणपत्रका नयाँ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न लगाई सुवेदीले पुरानो व्यक्तिगत फाइल गायब पार्न लगाएको आशंका सामान्यका अधिकारीको छ । नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी सुवेदीले किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रो पटक नागरिकता प्रमाणपत्र लिएका हुन् । २०३२ असोज १३ मा मोरङबाट लिएको उनको नागरिकता प्रमाणपत्रमा जन्म मिति २०१४ असोज १५ छ । सुवेदीको मतदाता नामावलीको प्रतिलिपिमा समेत यही जन्ममिति उल्लेख छ । २०३२ असोज १३ मा लिएको नागरिकतामा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख छ । निजामती किताबखानाको सिटरोलमा उनको जन्ममिति वास्तविकभन्दा तीन वर्ष कम अर्थात् २०१७ असोज १५ उल्लेख छ । सुवेदीले किर्ते गरी दोस्रो नागरिकता लिएको भेटिएमा कानुनबमोजिम जेल सजाय हुनुका साथै सेवाबाट अवकाश पाउनेछन् । दोस्रो नागरिकता भेटिएन भने पनि उनी सिटरोलमा भएको मितिभन्दा तीन वर्ष पहिले अर्थात् एसएलसीको लब्धांकपत्रमा भेटिएको मितिअनुसार ५८ वर्ष पूरा गरी आगामी असोज १५ मा नै अनिवार्य अवकाश पाउनेछन् । प्रमाण नभेटिएको भए सुवेदीले थप तीन वर्ष अर्थात् सिटरोलमा भएको जन्ममिति अनुसार २०७५ असोज १५ मा मात्र अवकाश पाउँथे । यसैबीच सुवेदीले सामान्य प्रशासन मन्त्रालयद्वारा सहसचिव सुरेश अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई आफ्नो नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल र प्रतिलिपि बुझाउन अस्वीकार गरेका छन् । छानबिन समितिले उनलाई तीन दिनभित्र ती कागजात बुझाउन आग्रह गरेको थियो । तर, सुवेदीले सात दिन बढी भइसक्दा पनि बुझाएका छैनन् । कान्तिपुरबाट यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1