
केशव अधिकारी, धादिङ- दलालले सिरिया पुर्याएर वन्धक बनाईएकी धादिङकी सुनिता मगरको उद्धारका लागि रकमको अभाव भएको छ । नेपाल फर्किने टिकट किन्न आवश्यक रकमको अभावमा सुनिता द्धन्दग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कनबाट रोकिएकी छिन । सुनिताको नेपाल स्थायी ठेगाना धादिङ नीलकण्ठ नगरपालिका –८ मगर गाउँ हो । रोजगारीका लागि भन्दै दलालले सिरिया पु¥याएर छोडेकी सुनिताको काम गरे वापतको तलव पनि सोही दलालले अग्रिम भुक्तानी लिएर जाने गरेका कारण सुनिताको बिचल्ली भएको हो । गैर आवासिय नेपाली संघ, एनआरएनका सदस्य हाल फिनल्याण्डमा बस्ने धादिङ मैदीका वालकृष्ण श्रेष्ठको पहलमा सुनिताको पछिल्लो अवस्था पत्ता लागेपछि उनलाई त्यहाँबाट उद्धारको प्रयास शुरु भएको छ । श्रेष्ठका अनुसार खर्च अभावकै कारण सुनितालाई नेपाल फर्काउन सकिएको छैन । विवाह पश्चात श्रीमानले सौता भित्र्याएपछि एक छोरा र एक छोरीलाई माईतीमा छोडेर सुनिता कमाउने उद्धेश्यले बैदेशिक रोजगारीका लागि गएकी थिईन । सिरिया पुर्याइएपछि केहि समयअघि उनले माइतीमा आमालाई फोन गरी आफू बाँचेर घर फर्कन सक्ने अवस्था नरहेको भन्दै आफ्नो घरफिर्तिका लागि पहल गर्न उनले आग्रह गरेकी थिइन् । त्यसपछि उनको सकुशल उद्धारका लागि परिवारले हारगुहार गरिरहेको छ । एनआरएन सदस्य श्रेष्ठकै धेरै पटकको प्रयासपछि सुनिताको रोजगारदाताले उनलाई घर फर्काउन सहमति जनाएपनि दलालले यसअघि लगेको रकम फिर्ता दिनुपर्ने शर्त राखेपछि समस्या भएको हो । सिरियाबाट नेपाल फर्कनका लागि करिव ८ सय अमेरिकी डलर खर्च लाग्ने भएकाले अहिले सोही रकमको अभावले सुनितालाई नेपाल फर्काउन नसकिएको भन्दै श्रेष्ठले सहयोगका लागि आग्रह गरेका छन् । सुनिताको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले सो रकम जुटाउन सकेका छैनन् । यो पनि पढ्नुहोस् नेपालबाट घरेलु कामदार लैजाने प्रयासमा साउदी सरकार