विदेशबाट सिकेर फर्केपछि नेपालमा प्रयोग गर्दै

इच्छाशक्ति भएमा असम्भव भन्ने के नै हुन्छ र ? मानिसमा काम गर्ने जोश, जाँगर र सीप भएमा पैसा कमाउनको लागि विदेश जानै पर्छ भन्ने छैन । विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेशमा नै प्रयोग गरेर नेपाली माटोमा नै मनग्य पैसा कमाउन सकिन्छ भनेर प्रमाणित गरिदिएका छन् धादिङ सलाङका राजु थापा मगरले । थापा केही वर्ष इजरायलमा बसेर कृषिमा काम गरेको बताउँछन् । इजरालयमा सिकेको सीपलाई आफ्नै माटोमा प्रयोग गरेर परिवार पाल्न सक्ने हैसियत भएको छ अहिले उनीमा । थापाले अहिले आफ्नै करिव १० कठ्ठा जग्गामा तरकारी खेती गरेका छन् । उनले आफ्नो बलबुताले भ्याएसम्म आफ्नै घर पायक पर्ने ठाउँमा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । ‘बजारमा कुन समयमा कस्ता तरकारीको माग हुन्छ भनेर बजारको मागलाई ध्यान दिएर तरकारी खेती गर्ने गरेको छु’ थापाले भने, –‘बजारको माग अनुसार तरकारी खेती गरेपछि पैसा पनि राम्रै कमाइ हुन्छ ।’ उनी तरकारी खेतिबाट अहिले सबै खर्च कटाएर वार्षिक रुपमा ५० हजार रुपैयाँ बचत हुने गरेको बताउँछन् । पाँच वर्ष अगाडि घरमा खानको लागि समेत समस्या भएपछि घारबारी साहुलाई बुझाएर ऋण लिएर उनी ईजरायल गएका थिए । आफू इजरालयमा रहेको बेलामा दैनिक १८ घण्टासम्म काम गर्नुपरेको बताउँदै थापाले भने, –‘मैले इजरायमा गर्ने श्रम नेपालमा नै प्रयोग गरेँ भने आफ्नै ठाउँमा केहि गर्न सक्छु भन्ने सोचका साथ नेपाल फर्किएको हो ।’ इजरायलमा रोजगारमा गएको बेलामा ज्यान फालेर काम गर्नुपरेको थापा बताउँछन् । ‘म इजरायलमा हुँदा आठ घण्टा काम गरेको पैसाले त खान मात्रै ठिक्क हुन्थ्यो’ थापाले भने, –‘घरबारी नै साहुलाई सुम्पिएर विदेश आएको थिएँ, त्यो जग्गा फिर्ता गर्नकै लागि भएपनि ज्यानलाई जोखिम मोलेर धेरै समय काम गर्नुपथ्र्यो ।’ विदेशमा काम गर्दा आफूलाई सधैँ घरको मात्र चिन्ता लाग्ने गरेको उनी बताउँछन् । अहिले घर परिवारमा बसेर आफ्नै बारीमा काम गर्दा आफूलाई गौरव महसुस हुने गरेको थापाको भोगाइ छ । ‘हामी नेपालमा केही गर्ने वातावरण छैन भनेर खालि सरकारलाई मात्र गाली गर्छौँ’ थापाले भने, –‘आफूले जानेको काम स्वदेशमा नै गर्ने हो भने विदेशमा कमाउने पैसा नेपालमा नै कमाउन सकिन्छ ।’ आफू इजरायलमा तीन वर्ष रहँदा मुस्किलले कमाई गरी ऋण तिरेर आफ्नो जग्गा फिर्ता गरेको थापाले बताए । ‘विदेशमा काम गर्दा आफूलाई कसैले सघाउँदैनथे, सबै बिरानु लाग्थ्यो’ थापाले भने, –‘अहिले आफ्नै घरमा बसेर काम गर्दा निकै रमाइलो लाग्दैछ, परीवारको सबैजना सँगै बसेर काम गर्छौँ ।’ आफ्नो १० कठ्ठा जमिनमा लगाएको तरकारीले छ जनाको परिवारलाई सुखसँग बस्न र खान पुगेको थापाले बताए । ‘हामी सबैले मिलेर काम गर्ने गरेका छौँ’ थापाले भने, –‘जति बेला पनि तरकारीको मात्र हेरचाह गर्न पर्दैन, खाली रहेको समयमा अन्य काम पनि गर्न सकिन्छ ।’ आफ्नो काममा आफ्नी पत्नी, आमा तथा छोराछोरीले समेत सघाउने गरेको थापाले बताए । ‘तपाईँहरु विदेशमा गएर काम गर्ने सोच त्याग्नुस्, बरु आफूले जानेको सीप आफ्नै ठाउँमा प्रयोग गरेर शानको जीवन बाँच्नुस्’ थापाले भने, –‘विदेशमा गएर काम गर्नु भन्दा आफ्नै ठाउँमा केही गरेर बस्नु आनन्ददायी हुन्छ ।’ थापाकी पत्नी अन्जनी थापाले पनि आफू फुर्सदमा भएको समयमा श्रीमानलाई काममा सहयोग गर्ने गरेको बताइन् । ‘उहाँ विदेशमा हुँदा जहिले पनि चिन्ता लाग्थ्यो’ अन्जनीले भनिन्, –‘चाँडो घरमा आउनुस् भनेर मैले सधैँ भन्ने गरेकी थिएँ । अहिले परिवारका सबैजना सँगै बसेर खुसी साथ जिन्दगी गुजारा गर्दैछौँ ।’ थापाले इजरायलमा बस्दा कृषि क्षेत्रमा काम गरेका थिए । त्यसैले त्यहाँ सिकेको सीपलाई नेपालमा आएर प्रयोगमा उतारेको उनको भनाइ छ । अहिले थापाको तरकारी बारीमा घिरौँला, फर्सी, काँक्रा टमाटरलगायतका तरकारीहरु रहेका छन् । आनन्द पोखरेल धादिङ यो पनि पढ्नुहोस् ‘अव मेरो श्रीमान् कतारबाट आउनुहुन्छ’ (भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: