साउदीमा बाध्यताले गरेको काम नेपालमा भूकम्पपछि काम लाग्यो

काठमाडौं- ओखलढुंगाका हर्क श्रेष्ठ २० वर्षको काँचो उमेरमा साउदी लागे । सामान्य आर्थिक हैसियतको परिवारको अवस्था उकास्न विदेशमा पसिना बगाउन जानुको विकल्प थिएन । नजिकका आफन्तमार्फत साउदीमा मेसिन अपरेटरमा काम गर्न पासपोर्ट बुझाए । भिसा आउन लामै समय लाग्ला भनेर विवाह गरे । तर, विवाह गरेको एक महिनामै उनको पासपोर्टमा साउदीको भिसा लाग्यो। साउदीको दमाम पुगेलगत्तै उनको काम सुरु भयो । समुद्री हावासँगै आउने नुनका कारण त्यहाँका घरको आयु मुस्किलले ३० वर्ष हुन्थ्यो । त्यसपछिको विकल्प भत्काउने र नयाँ बनाउने नै थियो । उनी हेर्दै कहालीलाग्ने घर भत्काउने काममा खटाइए । ‘ पहिलो दिन काम गर्ने ठाउँ पुग्दा त सात्तो गयो,’ अनुभव साट्दै श्रेष्ठले भने, ‘भर्खर बिहे गरेको श्रीमती, घरपरिवार सबै सम्झिएँ, बेक्कार आइएछ जस्तो लाग्यो ।’ पैसा कमाउन गएका उनी रित्तो हात फर्कन सक्ने अवस्थामा थिएनन् । ६ वर्षसम्म उनी त्यही काममा लागिरहे । अरबमा बगेको पसिनाले जोगाएको केही मुठा पैसा बोकेर २०६४ मा नेपाल फर्किए। शक्तिशाली भूकम्पपछि काठमाडौंका हजारौं घर अहिले धराप बनेर बसेका छन् । उनका लागि अरबको तातो हावा खाएर सिकेको सीप बरदान बनेको छ । सरकारी निकायमा परेको निवेदन अनुसार काठमाडौं उपत्यकामा धरापमा रहेका करिब ५० हजार घर भत्काउनुपर्ने अवस्थामा छन् । प्रविधि र जनशक्ति अभावमा ३ तलेभन्दा ठूला भवन भत्काउन नसक्ने भन्दै सरकार अग्ला भवन भत्काउन विदेशी सहयोग गुहारिइरहेका बेला श्रेष्ठ भने साउदीमा आफूजस्तै काम गरेका फर्किएका घर भत्काउने अनुभवी समूह लिएर भूकम्पको कम्पनबाट धराप बनेका अग्ला भवन भत्काउन खटिइरहेका छन् । काठमाडौंमा धराप बनेका जत्रो घर पनि भत्काउन सक्ने हर्क समूहको दाबीमा पत्यार नगरी नमूनाका रूपमा सरकारी टोलीले किमडोलका दुई घर भत्काउने जिम्मेवारी तोकेको थियो । बुधबार दिउँसो ३ बजे स्वयम्भुनजिक किमडोल प्रगतिमुख मार्गमा पुग्दा हर्क समूहसहित भूकम्पबाट धराप बनेको ६५८ नम्बरको ४ र त्योसँगै रहेको ३ तले धराप घर सुरक्षित तवरले भत्काउने तारतम्य मिलाइरहेका थिए । जसमध्ये उनीहरुको पहिलो लक्ष्य थियो ३ तले धराप घर । ३ तलेमाथिको भवन भत्काउनै सकिन्नँ भन्ने सरकारी घोषणालाई चुनौती दिने तयारीमा थियो उनको समूह । जगैदेखि चर्किएको सो घरका कारण वरिपरि भूकम्पको धक्का धानेका अन्य घर जोखिममा परेपछि उनको समूहलाई त्यहीँका स्थानीयले सहयोगका लागि बोलाएका थिए । उनको अनुभव सुनेपछि धरापमा रहेका घर भत्काउने जिम्मेवारी पाएको नेपाली सेना, सशस्त्र अनि नेपाल प्रहरी तीनै सुरक्षा निकाय सहयोगमा खटिएका थिए । धराप बनेको पाँचतले घर भत्काउनुअगाडि त्योसँगै जोडिएको ३ तले घर सुरक्षित भत्काउनु थियो । सानो घर भत्काउँदा धराप बनेको ठूलो घर ढल्नबाट रोक्न उनीहरुले फलामे लट्ठा बेरेर घरको संरचनालाई ढल्नबाट जोगाउन फ्रेमिङ गरिरहेका थिए । सेना, सशस्त्र र प्रहरीका सदस्य उनको निर्देशन अनुसार लट्ठा मिलाउने, कस्ने गर्दै थिए भने यता खुला चौरमा एक्जाभेटरले घरको फ्रेम अड्काउन ५ फिटको खाल्डो खन्न तयार थियो । करिब एक घन्टाको मिहेनतमा घर कस्ने काम सकियो । यता चौरमा खाल्डो बन्यो । ६ जना फलामे पोल बोकेर खाल्डोमा छिरे र फनफन फलामे लट्ठालाई बेरे । माटोले पुरेपछि त्यसको माथिल्लो भागमा टुचिङ गरेर अड्याएपछि रातो घरतिर लागे । एक्जाभेटरको सहायतामा अनुभवी टिमले सहजै रातो घरलाई ढालेर त्यहाँका स्थानीयलाई धरापमुक्त बनाइदिए । साथै, चारतले अर्को धराप घर बिहीबार भत्काउन सबै तारतम्य मिलाए । भत्काउनुपर्ने घरको बाहिरी फ्रेम बनाउँदै भग्नावशेषलाई आधार बनाउँदै सुरक्षित रुपमा घर भत्काउने उनको सीपलाई त्यहाँ जम्मा भएका सुरक्षा अधिकारीहरु द्धन्द्धताका माओवादीले अंगालेको ढाडमा टेकेर टाउकोमा हान्ने नीतिसँग जोड्दै प्रशंसा गरिरहेका थिए । ‘ उनीहरुले सिकेको सीप एउटा घरको भग्नावशेषमा टेकेर धरापमा रहेको घर भत्काउने रहेछ,’ त्यहाँ भेटिएका नेपाली सेनाका मेजर विश्वबन्धु पहाडीले भने, ‘माओवादीले ध्वंसमा ढाडमा टेकेर टाउकोमा हान्ने नीति ल्याएका थिए, यी भाइहरुले निर्माणमा त्यसलाई अँगालेको अनुभव भयो ।’ छिमेकीको धराप घरबाट त्रसित स्थानीय रवीन्द्र शर्मा ३ तले घर भत्केपछि प्रसन्न देखिए । नेपाल प्रहरीका एसएसपीसमेत रहेका उनले सो समूह घर भत्काउन सक्षम रहेको बताए । ‘जता भन्यो त्यतै घर ढालिदिए, यो समूह सक्षम छ,’ उनले भने । हर्क भूकम्पबाट धराप भएका कंक्रिटका घर भत्काउन सक्षम ३ सयभन्दा बढी जनशक्ति नेपालमै रहेको बताउँछन् । आवश्यक परे अरबमा रहेका दक्ष नेपाली जनशक्ति नेपाल बोलाउन सक्ने दाबी गर्दै उनले सरकारले पत्याए ३ महिनामा उपत्यकाका धराप भएका सबै कंक्रिट भवन सुरक्षित रुपमा भत्काउने बताए । ‘सरकारी प्रतिनिधिले पहिला पत्याएर, घर भत्काएर देखाऊ भन्यो, हामीले आज सुरक्षित रुपमा भत्काएर देखाइदियौं,’ कुनै क्षतिबिनै धराप घर भत्काएपछि खुसी हुँदै उनले भने, ‘सरकारले विश्वास गरेर जिम्मेवारी दिने हो भने धराप भवन भत्काउन कुनै विदेशी टोली बोलाउनुपर्दैन, अरबको तातो हावा खाएर हामीले सिकेको सीप नै काफी छ ।’ धराप घर हटाउन हर्क समूहलाई आवश्यक उपकरण उपलब्ध गराएर सघाइरहेका नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कुँवरका अनुसार निजी क्षेत्रसँग धराप भवन हटाउन आवश्यक एक्जाभेटर, डोजर, लोडर, क्रेन लगायत उपकरण पर्याप्त रहेको बताउँछन् । २ हजार २ सय वटा एक्जाभेटर, ४ सय डोजर, ३ हजार ब्याक होल लोडर, ५० वटा क्रेन लगायत ५ हजार यस्ता उपकरण व्यवसायीसँग रहेको र सरकारले आग्रह गरे ४८ घन्टाभित्र ती उपकरण जहाँ भन्यो त्यहीँ लैजान सक्ने क्षमता रहेको कुँवरले बताए । धराप संरचना हटाउन केही थप उपकरण खरिद गर्नुपर्छ । हाल नेपालमा अग्ला संरचना भत्काउन चाहिने ट्रली, लिफ्ट, कटर, क्रेन लगायत उपकरणको अभाव रहेको बताउँदै कुँवरले सरकारले चाहे यस्ता उपकरण भित्रियाउन मुस्किल नहुने बताए । ‘विदेशमा काम गरेर फर्किएका हर्कजस्ता अनुभवी समूह छ, निजी क्षेत्रसँग उपकरण छ,’ उनले भने, ‘सरकारले समन्वय गर्ने हो भने यो विपदमा सघाउन हामी तयार छौं ।’ नागरिकबाट यो पनि पढ्नुहोस् विदेशबाट सिकेर फर्केपछि नेपालमा प्रयोग गर्दै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय