
काठमाडौं– कुवेतस्थित नेपाली दूतावासले त्यहाँ सञ्चालनमा रहेको आवासगृह (सेल्टर) बन्द गरेको छ। घरेलु कामदारको रुपमा कुवेत पुगी समस्यामा परेका नेपाली महिलालाई सेल्टरमा राखिंदै आइएको थियो। सेल्टरमा रहेका ५४ जना महिलालाई सोमबारबाट कुवेत सरकारले सञ्चालनमा ल्याएको एक सेन्टरमा सारेपछि दूतावासले आफ्नो सेल्टर बन्द गरेको हो।
‘बिभिन्न देशबाट घरेलु कामदारको रुपमा कुवेत आई समस्यमा परी स्वदेश फर्कन चाहनेलाई फर्कन प्रक्रिया पुरा नहुन्जेलसम्मको लागि बस्ने, खाने तथा उपचार गर्ने सुविधाको लागि कुवेतको सामाजिक मामिला तथा श्रम मन्त्रालयले हालै एक सेन्टर खडा गरेको छ,’ कुवेतस्थित नेपाली दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘भारत, श्रीलंका, फिलिपिन्स लगायतका देशहरुले पनि आफ्ना घरेलु महिला कामदारहरुलाई उक्त केन्द्रमा स्थानान्तरण गरिसकेका छन्।’ रोजगारको लागि कुवेत पुगेका थुप्रै महिला समस्यामा पर्न थालेपछि नेपाली दूतावासले त्यहाँ सेल्टर खोलेको थियो। सेल्टरले समस्यामा परेका नेपाली महिलालाई स्वदेश फर्कने प्रक्रिया पुरा नहुन्जेलसम्म उनीहरुलाई सम्पूर्ण सुविधा उपलब्ध गराउँदै आउको थियो।
कुनै समय सेल्टरमा तीन सय जनाभन्दा बढि महिला रहने गरेका थिए। एक वर्षअघि सरकारले कुवेतमा घरेलु कामदारका रुपमा महिला जान रोकेपछि यो संख्या क्रमस घट्दै आएको थियो। सेल्टर बन्द गर्नुअघि त्यहाँ ५४ जना महिला रहेका थिए जसलाई कुवेती सरकारको सेन्टरमा सारीएको छ। ‘केन्द्रमा बस्ने, खाने तथा उपचार गर्ने राम्रो सुविधा रहेको र त्यहाँबाट उनीहरुलाई चाँडो प्रक्रिया पुरा गरी नेपाल फर्काइने कुरा समेत जनाइएकोले दूतावास अन्तर्गत रहेको सेल्टरमा रहेका ५४ जना महिलाहरुलाई सोमबार उक्त केन्द्रमा स्थानान्तरण गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘दूतावास अन्तर्गत नेपाली महिला कामदार राख्ने सेल्टर नरहेको सम्बन्धित सबैलाई जानकारी गराईन्छ।’ दूतावासका अनुसार अब उप्रान्त समस्यामा परी नेपाल फर्कन चाहने र सहयोगको लागि दूतावासमा आउने घरेलु महिला कामदारहरुलाई उक्त केन्द्रमामा राखिने छ।
नागरिकबाट
यो पनि पढ्नुहोस् टीबी देखिए तुरुन्त नेपाल फर्किनु पर्ने