
धादिङ- चाँडै घर आउँछु भनेर फोनमा कुरा गरेको छोरा एकाएक बेपत्ता भएपछि कुम्पुर गाविसकी लालमाया श्रेष्ठ आजकाल छिनछिनमा भक्कानिन्छिन्। विदेश जाँदा लागेको ऋण तिर्न पैसा पठाउँछु भनेर घरमा फोन गरेका दिलबहादुरको अत्तोपत्तो छैन। छोरो बेपत्ता भएको खबर सुनेपछि अहिले लालमायाँ छिनछिनमा मुर्छित हुन्छिन्।
बुढा बुवाआमालाई पैसा कमाएर लालनपालन गर्छु भनेर विदेश निस्केका छोरा नफर्केपछि आमा लालमायाँको आँखा एक वर्षदेखि ओभाएको छैनन् भन्दा पनि हुन्छ । चार वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कुम्पुर गाउँका दिलबहादुर एक वर्षदेखि सम्पर्क बिहीन भएपछि यता परिवारमा दिनहुँजसो रुवाबासी हुनेगरेको छ। साहुसँग ब्याजमा लिएको तिर्न त्यस्तै छ। ऋण काडेर गएका दिलबहादुरले धेरै पैसा कमाउने र आमा बाबुलाइ राम्रो घरमा राख्ने सपना देखाएका थिए। २०६७ सालमा उनी मलेसिया गएका हुन्। २०७० माघको १४ गते अन्तिम पटक छोरासँग फोनमा कुरा गरेकी लालमायाले रुँदै भनिन, एक वर्ष भइसक्यो छोराको बोली सुन्न पाएको छैन। हामीले फोन गर्दा लाग्दैन, मेरो छोरो कहाँ पुग्यो होला, के गर्दे होला ? कोही नौलो मान्छे भेट्यो कि छोराको खोजी गरिदिन लालमाया एकोहोरो आग्रह गर्छिन।
दिलबहादुरले पछिल्लोपटक २०७० असोजमा ६० हजार रुपैयाँ पठाएका थिए। त्यसपछि न पैसा आयो न त फोन नै । छिट्टै आउँछु भनेर फोन गरेदेखि अहिलेसम्म न त दाहोर्याएर फोन आयो, न त मान्छे नै आउनुभयो, डिलबहादुरकी भाउजु रजनी श्रेष्ठले भनिन, हरेक महिना अस्पताल पुर्याउनुपर्ने बुवालाई हिजोआज त अस्पताल लैजाने खर्च पनि छैन। २०७० माघ १४ गते फोन सम्पर्क हुँदा छिट्टै पैसा पठाउने र केही महिनामा आफू पनि घर फर्कने बताएका दिलबहादुर त्यसपछि परिवारको सम्पर्कमा छैनन्। गाउँकै एजेण्ट नरेश श्रेष्ठलार्इ एक लाख ८० हजार बुझाएर चार वर्षअघि मलेसिया गएका दिलबहादुर एक वर्षसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनको घरपरिवारले खोजी गर्न थालेको छ। दिलबहादुरलाइ विदेश पठाउने नरेशसँग सोधपुछ गर्दा आफू पनि दिलबहादुरकै खोजीमा रहेको भन्दै सँधै पन्छिने गरेको रजनीले बताइन्। छोराको खोजी गरिदिन लालमायाले अहिले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गरिरहेको संस्था सिड्स धादिङमा निवेदन दिएकी छिन्। दिलबहादुर कुन कम्पनीमा के काम गर्नका लागि भनेर गएको भन्ने कुनै ठोस प्रमाण नहुँदा उनको खोजीमा समस्या परिरहेको छ, सिड्स धादिङकी कार्यक्रम संयोजक गंगा सुवेदीले भनिन, हामीले उनलार्इ विदेश पठाउने व्यक्तिसँग पनि सोधपुछ गरेका छौं र प्रवासी नेपाली समन्वय समितिमा र मलेसिया स्थित नेपाली दुतावासमा पनि दिलबहादुरको विषयमा जानकारी गराएका छौं। आशा छ केही पत्तो लाग्छ की ? दिलबहादुर विदेश जाँदा कुनै पनि कागजपत्र घरमा छोडेर नगएकाले उनको खोजीमा समस्या आइपरेको सुवेदीले बताइन।
अन्नपूर्ण पोष्टमा यो समाचार मनिष दुवाडीले लेखेका छन्
यो पनि पढ्नुहोस्
कतारमा दर्शक राजनीति ! किन, कसले र कसरी ल्याइदिन्छन् दर्शक ?