‘छोरी म यहाँ जेलमा परेको छु, म यहिं मर्ने भएँ, मेनपावरमा गएर मलाई छुटाउन भन् है’ बेखवर भएको ८ महिनापछि अकस्मात फोन गरेकी आमाको यो वाक्य सुन्दा आकृति दराई छाँगाबाट खसेझैं भईन् ।
नवलपरासीको कावासोती नगरपालिका १०, मगरकोटकी १८ वर्षीया आकृती दराईलार्ई १५ दिनयता आमाको यहि कुरा कानमा घरीघरी गुञ्जिरहन्छ ।
आर्थिक अवस्था कमजोर भएपछि र श्रीमानको पनि कमाउने बाटो नभएपछि घरखर्च जुटाउन उनकी आमा गोमा दराई(४७) डेढ वर्ष अघि कुवेत पुगेकी थिइन् । पुगेको ७ महिनासम्म घरमा पैसा समेत पठाइरहेकी गोमा ८ महिनायता एकाएक वेपत्ता भएकी थिइन ।
वितेका ८ महिनामा न घरमा कुनै खवर आयो, न त पैसा नै आयो । दराई परिवारले उनको खोजिमा कहाँ जाने भन्ने भेउ पनि पाएन ।
लेखपढ गर्न नसक्ने गोमा काठमाडौंमा बस्ने एक एजेण्ट(लीला गुरुङ) मार्फत कुवेत गएकी थिइन् । गएको ७ महिनाभित्रमा गोमाले घरमा २ लाख रुपैया पठाएकी पनि थिइन् । तर गत असारमा उनी एकाएक सम्पर्क विच्छेद भएकी थिइन् ।
आमाको बारेमा खोजखवर गर्न आकृति गत फागुन २ गते काठमाडौं गएर एजेण्टलाई भेटेर कुराकानी गरेकी थिएन् । तर एजेण्टले आफूले केहि गर्न नसक्ने भन्दै उनलाई फर्काइदिएको थियो ।
तर त्यसको १० दिन पछि गोमाले अकस्मात फोन गरिन् कुवेतबाट । उनले छोरीलाई आफूलाई घरमालिकले फसाएको बताएकी छन् । ‘घरमालिकले झोलामा आधाकिलो जतिको कुनै वस्तु कोठामा राख्न दिएर बाहिर गएको र त्यहि समयमा प्रहरीले छापा मारेर त्यो सामान सहित मलाई पक्रेर ल्याएको हो’ गोमालाई उधृत गर्दै उनकी छोरी आकृतिले बताइन् ।
तर गोमालाई कुवेत जान प्रकृयामा सघाएका एजेण्ट गुरुङका अनुसार गोमा एक बंगलादेशी नागरिकको प्रलोभनमा फसेर समस्यामा परेकी हुन् । उनका अनुसार कुवेतमा चिनजान भएका एक बंगालादेशी नागरिकले उनलाई उनी काम गर्ने घरमा केहि सामान राखिदिएमा महिना दिनमै ठूलो कमाई हुने प्रलोभन देखाएका थिए ।
गोेमाका अनुसार त्यसपछि उनले नियमित रुपमा सामान राख्न दिन थालेका थिए । यसबीचमा उनीहरु बीच टेलिफोनमा लगातार कुराकानी भइरहन्थ्यो ।
यहिबीचमा ति बंगलादेशी नागरिक लागु औषधको कारोवारमा समातिएपछि प्रहरी टेलिफोन सम्पर्क केलाउँदै गोमा कामगर्ने घरसम्म आइपुगेको थियो । उनलाई घरबाट लागु औषध सहित प्रहरीले पक्राउ गरेको थियो । टेलिफोनमा गोमासँग भएको कुराकानीका आधारमा उनलाई २५ बर्षको जेल सजाय तोकिएको गुरुङ बताउँछन् । तर यसबारेमा आधिकारीक जानकारी नेपाली सरकारी निकायसँग छैन ।
आकृतिका अनुसार फागुन १५ यता मात्र गोमाले ५/६ पटक घरमा फोन गरिसकेकी छिन् । ‘खाली मलाई यहाँबाट झिका मात्रै भन्नुहुन्छ । केहि रकम तिरेर निस्कन सकिन्छ भन्नुहुन्छ, हामीले कहाँबाट रकम जुटाउने, कहाँ मद्धत माग्न जाने ?’ आकृतिले भनिन् ।
गोमालाई कुवेत पठाउने एजेण्ट गुरुङ भन्छन् ‘मैले पनि फोनमा उहाँ(गोमा)सँग कुराकानी गरिरहेको छु । कुवेत स्थीत नेपाली दुतावासमा पनि उनी निर्दोष रहेकाले छुटाउन पहल गरिदिन आग्रह गरेको छु । तर लागु औषध कारोवारको मुद्धा भएका कारण समस्या जटिल हुने जवाफ पाएको छु ।’
गोमालाई जेलबाट छुटाउन दराई परिवार अहिले हारगुहार गर्दै हिंडिरहेको छ । गोमाकी छोरी आकृतिले कावासोतीमा रहेको सामी हेल्भेटासद्धारा सञ्चालित सुचना केन्द्रमा उद्धारको पहल गरिदिन निवेदन दिएकी छिन् । सुचना केन्द्रले सो निवेदन काठमाडौं स्थीत प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) मा पठाएको छ ।
पिएनसीसीकी केस सपोर्ट अफिसर सीता पन्तले आफूहरुले फोन गर्दा गोमाले फोन काटेका कारण उनी कुन जेलमा रहेको भन्ने यकिन गर्न समेत समस्या परेको बताइन् । यकिन भएपछि दुतावास मार्फत माफी वा सजाय कमगर्न पहल गर्न सजिलो हुने थियो उनले भनिन् ।
ज्ञानु पंगेनी, नवलपरासी
यो पनि पढ्नुहोस्
बल्ल तल्ल उम्किए पत्रजयाको फन्दाबाट