कतार, जिसिसि लाइसेन्स लिएपछि तिम्रो जिन्दगी कायपलट नै हुन्छ सगुन ओभरसिजले दिएको आश्वसन सुन्दा कुवाफक ४, धनकुटाका सन्तोष तामाङलाई गतिलै कुरा फेला पारे झैं भयो । बिराटनगरमा ट्याक्सी दौडाइरहेका सन्तोष जीवनमा केही गर्न चाहन्थे । सफल हुन सकिरहेका थिएनन् । उल्टै साथमा भएको पैसा पनि सकिदै थियो । जिसिसि लाइसेन्स लिएपछि तिमिले जुनसुकै देशमा राम्रो तलब र काम पाउछौं, ओभरसिजको भनाई थियो, अहिले अवसर आएको छ । जाऊ । उसलाई पनि हो जस्तै लाग्यो । लाइसेन्स निकाल्ने जिम्मा कम्पनीको हो, अझ बिश्वास दिलाइरहेको थियो,कम्पनीले सोर्सफोर्स लगाउछ । यहाँ गाडी चलाउने मान्छेले त्यता लाइसेन्स निकाल्न गार्हो छैन् । म लेखेरै दिन्छु । यतिको बिश्वास दिलाएपछि उनलाई कहिले कतार पुगौला जस्तो भयो । त्यसपछि ट्याक्सी बेच्न ग्राहक खोज्न थाले । किनेको आधा भाऊ अर्थात एकलाख ६० हजार रुपैयामा बिक्री गरे । उनी पुर्ब माओबादी लडाकु थिए । स्वेछिक अवकास स्वरुप पाँच लाख रुपैया लिएर सामान्य जीवन व्यतित गर्न निस्केका । त्यसबाट दुई लाखको गाँउमा किराना पसल किने । बाँकी ३ लाखको ट्याक्सी । श्रीमति किराना दोकान हेर्थिन् । आफु ट्याक्सी लिएर बजार दौडिन्थे । उधारो दिनाले पसल डुब्यो उनी भन्दै थिए, दैनिक जसो बन्द हुँदा ट्याक्सी कुदाउन सकिएन । मन बैचन भएर बसिरहेका २६ बर्षका सन्तोषलाई म्यानपावरले जिसिसि डाइभरको सपना देखाइदिएपछि कसले रोक्न सक्थ्यो र ? उनले मनभरी सोचे खाडीका चिल्ला सडकमा गाडी कुदाउन पाए त जिन्दगीको मजा नै बेग्लै हुने थियो । …………………………. त्यही म्यानपावरबाट आए, इटहरी ५, सुनसरीका २० बषिर्य धनबहादुर मगर, जो कञ्जनजंगा स्कुलको बस चलाउथे । बिहान बेलुका बिद्यार्थीलाई लाने ल्याउने काम गर्थे । घरमा बुढी आमा, श्रीमति र एउटा सानो छोरो । कञ्जनजंगा स्कुलबाट आएको केही हजारले दैनिक जीविका चलेकै थियो । परिवार खुसी नै थियो । तर, बचत हुन सकिरहेको थिएन । बिदेश जाने बाटो खोज्नेक्रममा सगुनमै पुगेका थिए उनी पनि जहाँ उनले क्लिनरमा जाने योजना सुनाए । तिमी यहाँ गाडी चलाउने मान्छे । हातमा सीप भएको, म्यानपवारले राम्रै सुझाव दियो सीप भएको काममा जाउ । कतारमा गएर अब गाडी चलाउनुपर्छ । रियाल कमाउनुपर्छ । यति भन्नसाथ मगरको मन कतारको सडकमा डुलिसकेको थियो । खोजखाज गरेर ९० हजार रुपैया बुझाएर प्लेन उड्ने दिनको प्रतिक्षामा बसिरह्यो । जाने बेला परिवारले पनि राम्रै बिदाई गरे । जिसिसि डाइभर बन्ने सपना बुनेर यता आइपुगे । ………………. अर्का थिए, इटहरी ३का रामबहादुर राई, जो ट्याक्टर चलाउन निकै सिपालु थिए । पुर्बी पहाडको त्यस्तो अप्ठ्यारो बाटोमा स्टेरिङ सम्हालन सक्ने मान्छेले खाडीको चिल्ला सडक झन किन नप्न नसक्ने भन्ने उनलाई लागेको थियो । कहिले दिक्तेल त कहिले रामेछाप, सिन्धुलीतिर पुगिरहेका राईलाई अब भने खाडी पुग्ने रहर जाग्यो । ७० हजार बुझाए र कतार उडे । महिना दिन अघि कतार आइुगेका तिनै जना यहाँ अलसाद रेन्ट कार कम्पनीमा आइपुगे । कोठामा आइपुग्ने साथ थुप्रै नेपाली डाइभरहरु भेट भए, जो उनीजस्ता नेपालमा गाडी चलाउन नामुद सिपालु । म एकबर्षदेखि लाइसेन्स लिन सकिरहेको छैन । मचाही ७ महिना भयो । अर्कोले भने मेरो तीन महिना चल्दैछ । म त कम्पयुटरमै फेल भएँँ, फटाफट कोठामा रहेका साथीभाई अनुभव सुनेपछि राई वछाँगाबाट खसे झैं भए । …………………….. सन्तोष र धनबहादुरले स्कुल जाने योजना बनाए । रामबहादुरले शुरुमै हार खाए । प्रक्रियामा सामेल नै भएन् । उनको यात्रा अगाडि बढेन । सन्तोष र धनबहादुरले आँट निकाले । फेरी उनी लाइसेन्स ननिकालेसम्म महिनाको ८ सय रियाल दिनेछ, म्यानपावरले सन्तोषलाई भनेको रहेछ, कारवासको काम गर्नुपर्छ । लाइसेन्स निस्केपछि मात्रै भनेको तलब पाउने हो । कम्पनीले स्कुल भर्ना पनि गरिदियो । नियमित स्कुल जान थाले । पहिलो कम्प्युटरमा पास हुनुपर्ने । अंग्रेजीमा डाईभिङ र ट्राफिक सम्बन्धी सामान्य जानकारी सोधिने रहेछ । त्यसमै उनी तीनपल्ट फेल भयो । पढ्ने बेला बन्दुक समात्न गइयो, उनी भन्दै थिए, यो अंगे्रजीको महाभारतले डुबायो । बल्ल बल्ल तीन पटकको प्रयास पछि कम्प्युटर पास भइयो । धनबहादुर त त्यसमै अल्भिmरह्यो । गयो केही बुझिन, उनले भने, अगाडि जाने हो । त्यतिकै बस्ने हो । अनि फर्किने हो । धेरै डाइभर घरी एलमा फेल हुन्छन् । कोही टिमा फेल हुन्छन् । कोही सडकमा फेल हुन्छन् । कथा सुन्दा त उनीहरुलाई काहली लाग्दो । यो हामीबाट हुदैन रहेछ, उनीहरुले भने, हामीलाई म्यानपावरले भनेको एउटा थियो । बास्तबिकता अर्को रहेछ । महिना मरेपछि ८ सय रियाल पनि पाएनन् । स्कुल हालेको ३४ सय रियालबाट काटिदै जाने कम्पनीको नियम सुनायो । जुन ८ सयले परिवार र आफुलाई पाल्छु भनेको थिएँ, सन्तोषले सुनाए, त्यो पनि नपाउने भएपछि परिवार कसरी बाँच्ने ? सोझो मान्छेलाई मेनपावरले फसायो उनीहरुको साझा निश्कर्ष यहि हो । नेपाल फिर्न पाए ठग्ने मेनपावरका मान्छेको पाता कस्न पाइन्थ्यो भन्ने उनीहरुलाई लागिरहन्छ । यो समाचार कान्तिपुरमा होम कार्कीले लेखेका हुन् ।