जुबेल, साउदी अरेवियामा २० जना नेपाली सहित ५४ जना कामदारले आफूहरुले ५ महिनादेखि तलव नपाएको भन्दै मुद्धा हालेका छन् । उनीहरुले जुवेल लेबर अफिसमा रोजगारदाता कम्पनी खालिद फाहिद स्याडी इष्ट विरुद्ध मुद्धा हालेका हुन् । आफूहरुलाई घर फर्किन नदिएर बन्धक बनाएको समेत उनीहरुले उजुरीमा उल्लेख गरेका छन् ।
नेपालीसँगै मुद्धा हाल्नेमा ३४ जना भारतीय कामदार रहेको अरब न्यूजले खवर लेखेको छ । उनीहरुले ५ महिनादेखिको तलव पाएका छैनन् । मुद्धा हाल्ने कामदारहरुका अनुसार उनीहरुलाई जुबेलको एक निर्माणको काम सकेर अबाकिक फर्काउने क्रममा उनीहरुले मुद्धा हालेका हुन् ।
मुद्धा हाल्न ति कामदारलाई उनीहरुको दुतावासको हेल्प डेस्कले सघाएको समाचारमा जनाइएको छ । उनीहरुले आफूहरुलाई काम गरेको समयको तलव दिलाइदिन र घर फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । दुई देखि तीन बर्षसम्म सोही कम्पनीमा काम गरेर सम्झौता पूरा गरिसक्दा पनि घर फर्किन नदिएर कम्पनीले बन्धक बनाएको उजुरीमा उल्लेख गरिएको छ ।
पीडित भारतीय कामदार सफिउद्धिन पोत्तर्सीका अनुसार उनीहरुले जुबेलमा उजुरी हाले पनि उनीहरुलाई उनीहरु कार्यरत कम्पनी रहेको स्थान अवाकिकमा उजुरी हाल्न सुझाव दिइएको थियो । तर अवाकिकमा उजुरी हाल्न जान गरिव कामदारका लागि सजिलो नभएको उनले बताएका छन् । हाल उनीहरु जुबेलमा नै रहेका कारण अबाकिकमा उजुरी गर्न जाने मुस्किल भएको उनको भनाई छ । कामदारले आफ्नो समस्या बताएपछि जुबेलको लेबर अफिसले मुद्धालाई अघि बढाउन सहमति जनाएको छ ।
कामदारहरुका अनुसार उनीहरुको लेबर क्याम्पमा दुतावासका स्वयंसेवकहरुले अनुगमन भ्रमण गरेका थिए जुन समयमा उनीहरुले आफूलाई परेको समस्याका बारेमा बताएका थिए । कामदारहरुका अनुसार कतिपयको पासपोर्टको म्याद र भिसा अवधि समाप्त भएपनि रोजगारदाताले त्यसको नविकरणका लागि कुनै चासो देखाएका छैनन् । यसले उनीहरु मध्ये कतिपय अवैधानिक भएका छन् ।
रोजगारदाताका तर्फबाट एक प्रतिनिधिले जुबेल लेबर अफिसमा उपस्थीत भएर दुई महिनाको तलव सहित साउदी छोड्न चाहनेहरुलाई घर फिर्ता पठाइदिने बताएका थिए । उनीहरुले यसमा सहमति जनाएपनि त्यसपछि रोजगारदाताका प्रतिनिधि नआएको पीडितहरुले बताएका छन् ।
कामदारहरुले लेबर अफिसमा उजुरी गरेपछि उनीहरुलाई क्याम्पमा बस्न दिइएको छैन । हाल उनीहरु आफ्नै खर्चमा जुबेलमा विभिन्न ठाउँमा बसिरहेका छन् । पीडित कामदारहरुले नेपाली दुतावास र भारतीय दुतावासमा सहयोगको अपिल समेत गरेका छन् ।