मलेसियामा चारजनाको मृत्यु

मलेसिया, वैदेशिक रोजगारका क्रममा मलेसियामा कार्यरत चार नेपाली युवाको निधन भएको छ । भोजपुरका डम्बरबहादुर कटवालको कारको ठक्करबाट निधन भएको छ । भोजपुर बास्तिन गाविसका कटवालको कारको ठक्करबाट निधन भएको हो । साइकलमा बजार जाँदै गर्दा उनलाई एक स्थानीय व्यक्तिले हाँकेको कारले ठक्कर दिएको थियो ।

सो कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको बताइएको छ । त्रिकोण म्यानपावरबाट ९ वर्षअघि उनी मलेसिया आएका थिए । यही डिसेम्बर २४ तारिखमा उनको भिसा सकिने भएको हुँदा कम्पनीको छुट्टिमा घर जाने तयारी गरिरहेका उनले एमआरपी बनाउन दुतावासमा आवेदन समेत दिएका थिए ।

निधन भएका डम्बरबहादुरको शव पोस्टमार्टम गरी सुङ्गाई बकाव हस्पिटलमा राखिएको छ । नेपालबाट लास बुझिपाउँ भन्ने पत्र आएपछि कम्पनीले नेपाल पठाउने बताइएको छ । उनको इन्स्योरेन्स र नोभम्बरको तलव कम्पनीले परिवारको सम्बन्धित व्यक्तिलाई पठाइदिने बताएको छ ।

त्यस्तै जोहोर राज्यको सेनाइमा रहेको एसकेपी कम्पनीमा कार्यरत हर्कबहादुर माझीको एक्कासी विरामी परेर अस्पताल लैजाने क्रममा निधन भएको छ । दिनभर ड्यूटी गरेर बेलुकासँगै साथीहरुसँग खाना खाँदै गरेका माझीले एक्कासी छाती दुख्यो भन्दै ओछ्यानमा पल्टिएका थिए ।

एकछिन पछि उनी छट्पटाउन थालेको देखेर साथीहरुले तत्काल अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ । ३५ वर्षिया माझी चन्द्रनिगाहपुर–९ रौतहटका हुन् । उनी चार वर्षअघि मलेसिया आइपुगेका थिए ।

त्यसैगरी चितुङधारा–८ पाल्पाका तेजबहादुर रानाको सुतेकै अवस्थामा निधन भएको छ । अन्दाजी ३५ वर्षको राना पहाङस्थित कोन्तानको एक कम्पनीमा कार्यरत थिए । दिनभरीको थकाइले बेलुका खाना खाएर सुतेका राना विहान ड्यूटी जाने बेलामा नउठेपछि उनलाई बोलाउन जाँदा मृत अवस्थामा भेटेको उनका साथीहरुले बताएका छन् । उनको शव पहाङको स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

त्यस्तै पेनाङको भीन हुवा डाइङ एन्ड फिनिसिङ कम्पनीमा कार्यरत रहेका सन्तोष धामीको पनि सुतेकै अवस्थामा निधन भएको छ । २८ वर्षिय धामी गत नोभेम्बर १९ तारिखमा ड्यूटी सकेर होस्टलमा पुगेर साथीभाइसँगै खाना खाएर सुतेका थिए । विहान नउठेपछि उठाउन जाँदा उनी मृत अवस्थामा भेटिएको र उनको शव पोस्टमार्टमका लागि बीएम अस्पतालमा राखिएको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय