
काठमाडौं, फिफा अध्यक्ष सेप व्लाटरले कतारमा विश्वकप फुटवल प्रतियोगिताका लागि बनिरहेका रंगशालामा काम गरिरहेका श्रमिकको अधिकार सुरक्षित गर्ने काम फिफाको नभएको बताएका छन् ।
रोयटर्सका अनुसार फिफाले कतारमा कार्यरत जर्मनी, फ्रान्स, ईंग्ल्याण्ड तथा अरु युरोपेली मुलुकका ठूला कम्पनीहरु नै आफ्ना कामदारप्रति जिम्मेवार हुनुपर्ने, यसमा फिफाको कुनै भूमिका नहुने बताएको छ ।
गर्जियनका अनुसार व्लाटरले सन् २०२२ मा विश्वकप फुटवलको आयोजक भएपछि कतारमा कामदारको अवस्थामा सुधार आएको समेत दावी गरेका छन् । यसअघि फिफाले कामदार माथि हुने दुव्र्यहार रोक्न र त्यसो नहुने ग्यारेन्टी गर्न कतारको सरकारलाई आग्रह गरेको थियो ।
गत जनवरी महिनामा फिफाले कतारलाई आप्रवासी कामदारको अवस्थामा सुधार गर्ने योजना पेश गर्न आग्रह गरेको थियो । केहि महिना अघि कतारका अमिरलाई भेटेर कामदार माथि भइरहेको शोषण लगायतका विषयमा कुराकानी गरेका थिए ।
सो अवशरमा कतारका अमिरले यस विषयमा कतार सरकारले काम गरिरहेको बताएका थिए ।
तर हाल कतारले भनें कामदारको शोषणको श्रोत सम्वन्धित मुलुकहरु नै रहेको बताएको छ । कतार फाउण्डेसनको रिपोर्टमा कतारमा निर्माण क्षेत्रको काममा पठाउने देशहरु नेपालसँगै भारत, बंगलादेश, श्रीलंका तथा फिलिपिन्सका म्यानपावर कम्पनीहरु यसमा जिम्मेवार रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टमा भनिएको छः सम्वन्धित देशका म्यानपावर कम्पनीहरुले घुस ख्वाएर तथा जिम्मेवार व्यक्तिले भ्रष्टाचार गरेर समस्या थपेका छन् । आफ्नै देशमा गलत सम्झौतापत्र दिएर आफ्नै मान्छेहरुलाई ठग्ने काम चलिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
कतार सरकारले आफ्नो बचाउ गरेपनि श्रमिकको अधिकारका लागि कृयाशिल संस्थाहरुले भनें कतारले सन् २०२२ मा विश्वकप फुटवल आयोजना गर्ने अधिकार प्राप्त गरेसँगै निरन्तर दवाव दिइरहेका छन् । कतार लगायतका खाडीका मुलुकमा चलिरहेको तिब्र निर्माणको काम गरिरहेका नेपाल, भारत र फिलिपिन्स लगायतका गरिव राष्ट्रबाट आउने कामदारले न्यून तलवमा जोखिमपूर्वक काम गरिरहेको भन्दै श्रमिको अवस्था सुधारका लागि अन्तराष्ट्रिय दवाव परिरहेको छ ।
चौतर्फी दवाव पछि खाडीका देशहरु मुख्य गरी कतारले काफला प्रणाली हटाउने भन्दै श्रम प्रणालीमा सुधारको प्रतिवद्धता जनाएको छ ।