
टोकियो । जापानमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मष्तिस्कमा उच्च रक्तश्राव भई अस्पताल भर्ना गरिएका बुद्धराम किसीको मृत्यु भएको हो । उनी भक्तपुर गोलम्बी ६ का बासिन्दा थिए र केही महिनाअघि मात्रै विद्यार्थी भिसामा जापान आएका थिए ।
किसीलाई गम्भीर विरामी परेपछि उपचारका लागि सिनोकुवास्थित नाइतो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको टोकियो मेडिकल युनिभरसिटी अस्पतालमा निधन भएको हो । उनको शव छिट्टै नेपाल पठाउने तयारी भइरहेको एनआरएन जापानका केन्द्रीय सदस्य तथा बचाउ अभियानमा सक्रिय सहभागी भएका दिपकबाबु नेपालले जानकारी दिए ।
उनी जापानको ओकुबुमा रहेको टोकियो इन्टरनेशनल एकेडेमीमा अध्ययनरत थिए । सुरुमा टाउको दुख्ने, ज्वरो आउने र आँखा धमिलो देखिने समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।
केसीको उपचारमा थप पहल गर्न उनका भिनाजु शिवराम तुईतुई जापान आएका थिए । परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै परिवारले उपचारमा सहयोग गरिदिन सबैलाई अनुरोध गरेको भएपनि बचाउने प्रयास असफल भएको हो । उनको घरमा बाबु आमा, दिदीभाई र श्रीमतीका साथै ४ वर्षीय छोरा छन् ।
नेपालसन्देश डट कमबाट