‘पूरा भयो वीरेन्द्रको सपना’

रामप्रसाद ढुंगेल, यूएई । वीरेन्द्र श्रेष्ठको गीत, संगितप्रतिको मोह सानै उमेरदेखिको हो । उनी रेडियोमा गीत बज्दा त्यहि रेडियोसँगै गाउने प्रयत्न गर्थे । उमेरसँगै उनको संगीतमोह पनि बढ्दै गयो । जब उनलाई रेडियोमा बजेको गीत आफ्नो स्वरसँग ठ्याक्कै मिलेको भान हुन थाल्यो, त्यहीबेला उनले आफूलाई भविष्यको गायकको रुपमा देख्न थाले ।

सपना धेरैले देख्छन् तर सबैका पूरा हुँदैनन् । तर वीरेन्द्रले सपनालाई सपना मात्र हुन दिएनन्, किनकि उनले त्यो सपना मनले देखेका थिए र निदाएको बेला देखिएको सपना थिएन उनकोे । सपना अनुरुप उनले गाउँघर र स्कुलमा गायन क्षमता प्रस्तुत गर्न थाले । क्याम्पसका कार्यक्रमहरुमा गाउन थाले । दमक बहुमुखी क्याम्पसबाट स्नातकको पढाई सकेर उनी काठमाडौं छिरे । अनुराग संगीत विद्यालयमा गुरुद्वय राम सिटौला र अर्जुन पोखरेलसँग लामो समय संगीत सिके । स्नातकोत्तर पढाइ चलिरहेको थियो । कतारमा एकाउन्टेण्टको कामको अवसर आयो । त्यसैलाई स्वीकार्दै आर्थिक स्तर उकास्न अनि आफ्नो सांगीतिक सपनालाई आर्थिक रुपले टेवा दिन लागे उनी खाडीमुलुक कतारतिर सन् २०१० मा ।

हाल झापा सतासीधाम–१, डुँडामारीचोकमा स्थायी बसोबास रहेका वीरेन्द्र करिव ४ वर्षदेखि कतारमा कार्यरत छन् । यो बसाइलाई उनले बैदेशिक रोजगारीमा मात्रै सीमित राखेनन्, बरु आफ्नो बाल्यकालदेखि देखेको सपनालाई साकार पार्ने बाटोतर्फ पनि निरन्तर साधनारत रहे । उनको एउटै सपना थियो नेपाली सांगीतिक आकाशमा चम्किलो तारा बनेर उदाउने । नेपाली सांगीतिक क्षेत्रमा एउटा बाटो कोर्ने अनि पृथक पहिचानसहित गायक बनेर उदाउने ।

उनको सपना पूरा गर्न साथ दियो नेपाली कला केन्द्र कतारले । नेपाली कला केन्द्र कतारमा ४ वर्षदेखि निरन्तर संगीत सिक्दै आएका श्रेष्ठले कतारमै तमु समाज कतारको आयोजनामा एनआरएन कतारको सहकार्यमा आयोजित गैरआवासीय नेपाली तारा रियालिटी सो २०१३ को विजेता भए । कतारमा उनले गुरुहरु गौरभ दर्पण, विष्णु भट्टराई र बबिन राईबाट थप ज्ञान हासिल गरे । त्यतिञ्जेलमा उनको स्वरले निखारपन पाइसकेको थियो । श्रेष्ठले कतारका विभिन्न स्थानीय कार्यक्रममा सहभागी भएर गायनलाई तिखारिरहे ।

तमु समाज कतारले आयोजना गरेको एनआरएन नेपाली तारा–२०१३ मा सयौँ सहभागीलाई पछिपार्दै श्रेष्ठ प्रथम भए । त्यसपछि त उनलाई कार्यक्रममा बोलाउनेको लर्को लाग्न थाल्यो । अरु गायकका गीत गाउँदै हिँड्दा साथीहरुले उनलाई आफ्नै स्वरमा गीति एल्बम निकाल्न सुझाए । त्यही सुझावलाई मध्यनजर गर्दै उनले ‘विचार’ एल्बम ल्याएका छन् ।

गैरआवासीय नेपाली ताराको उपाधि चुमेलगत्तै उनको गायक बन्ने सपनाले साकार रुप लिँदै गएको महसुस गरी कतारमा रहेका नेपाली संगीतप्रेमी र स्रोताहरूको चाहना र माग बमोजिम उनले ‘विचार‘ नामक आफ्नो पहिलो सांगीगतिक कोसेली ल्याएका हुन् छुट्टी मनाउन नेपालमा रहेको मौकामा ।

वीरेन्द्रको यो पहिलो एकल गीति एल्बमलाई गत असोज २९ गते गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ र गौरव दर्पण, गीतकार भावेष भँुमरी, आनन्द श्रेष्ठ र सान्निध्य, म्युजिक भिडियो निर्देशक समन अधिकारी, हाइलाइट्स नेपालका अध्यक्ष यमन कायस्थ र गायक स्वयंले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

६ वटा गीत रहेको एल्बममा आनन्द श्रेष्ठ, सान्निध्य, गौरभ दर्पण, भावना पाठक र चर्चित ढुंगेलले शब्दरचना गरेका छन् । वसन्त सापकोटा, अर्जुन पोखरेल र गौरभ दर्पणले संगीत दिएका छन् ।

रेस्क्यु क्रिएसनले बजारमा ल्याएको एल्बमको आपूm रोएर भए पनि मुस्कुराउने साथी छिन् मेरी बोलको गीतको भिडियो प्रदर्शन पनि कार्यक्रममा गरियो । शिल्पा पोखरेलले अभिनय गरेको भिडियोको अहिले चर्चाको शिखरमा छ ।

प्रवासी प्रयासहरुले अहिलेको नेपाली संगीतको महत्व बढिरहेको धारणा राखेका थिए विमोचन कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि प्रेमध्वज प्रधानले । उनले गायक श्रेष्ठलाई संगीत क्षेत्रमा निरन्तर लागिरहन सुझाव दिए । गीतकार भावेष भुँमरी र संगीतकार सन्तोष श्रेष्ठले क्रमश शब्द र संगीतको समीक्षा गरेका थिए । उनीहरुले वीरेन्द्रका गीतहरुका सबल पक्षलाई प्रकाश पार्दै सुधार्नु पर्ने बाटोसमेत देखाए ।

अहिले उनी कतारमै छन् । पैसा कमाउनु उनको बाहनामात्र हो, विपनाको बाध्यता । ‘वीरेन्द्रको सपना पूरा भयो त ?’ उत्तरमा उनी भन्छन्, ‘सपनाको गोरेटो त कोरियो, गन्तव्य लामो छ, तर यात्रा जारी छ ।’

https://www.youtube.com/watch?v=xIhFJQB0NOI

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय