
काठमाडौ, मंसिर १५ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालाहरुसँग सडक दुर्घटना कम गर्ने उपायका बारेमा छलफल गरेको छ । सो छलफलमा यातायात मन्त्रि विमलेन्द्र निधी सहित यातायात क्षेत्रका विज्ञ, मजदुर संगठन, व्यवसायी महासंघ, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र मन्त्रालयका सरोकारवाला उच्च पदस्थ कर्मचारीहरु सहभागि थिए ।
सो अवसरमा मन्त्रि विमलेन्द्र निधिले दुर्घटनाहरु बढ्दै गईरहेकोमा मन्त्रालय चिन्तित रहेको भन्दै सबै मिलेर समस्याको समाधान गरिनुपर्नेमा जोड दिएका थिए । स्थायी प्रकृतीको छानविन समिति गठन गर्ने बारेमा मन्त्रालयले गृहकार्य गर्ने भन्दै मन्त्रि निधिले पहाडी क्षेत्रका ग्रामीण सडकमा कहाँ कहाँ यातायात सञ्चालन गर्ने भन्ने बारे सरकारले निक्र्यौल गर्ने जानकारी दिए । समस्या समाधानका लागि दिर्घकालीन तथा तत्कालीन रुपमा के गर्ने भन्ने बारे प्रतिवेदन ल्याउन उच्च पदस्थ कर्मचारीहरुलाई मन्त्रि निधिले निर्देशन समेत दिए ।
सो अवसमा मन्त्रालयमा यातायात महाशाखा प्रमुख ईन्जीनियर सहसचिव रविन्द्रमान श्रेष्ठले पछिल्लो ३ महिनामा भएका दुर्घटना विवरण, छानविन समितिको प्रतिवेदन र मन्त्रालयबाट गरिएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय कुमार राईले जुनसुकै घटनामा पनि चालकलाई ज्यान मुद्धा लगाउन थालिएकोले हाल यातायात क्षेत्रमा सरकारले राज्य आंतक मच्चाएको भन्दै सरकारी संयन्त्रहरुले दुर्घटना न्युनीकरणका लागि जरिवाना लिने मात्र परिपाटी बसाल्न थालिएको गुनासो गरे । अध्यक्ष राईले यसबाट मात्र दुर्घटना न्युनिकरण नहुने भन्दै हालको सवारी ऐन राम्रो हुँदा हुँदै पनि त्यसलाई कार्यान्वयवन नगरिएका कारण समस्या देखिएको बताए ।
विज्ञ कमल पाण्डेले यातायात व्यवस्था विभागको वर्तमान संरचनामा परिवर्तन गर्दै क्याडर बेस बनाउनु पर्ने, सक्कली मोटर पार्टस विक्री वितरणको अनुगमन गर्नु पर्ने, कुन सडकमा कति गतिमा यातायात संचालन हुनु पर्ने हो त्यो निक्र्यौल गरि सबै लाई सुचित गर्नु पर्ने बताए ।
सो अवसरमा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष डि एल खनाल, मजदुर नेताद्धय भिम राई, जगत सिम्खडा, मन्त्रालयका सचिव तुलसी सिटौला लगायतले पनि आफना धारणा राखेका थिए ।