
काठमाडौं, कतारमा रोजगारदाताले परिचयपत्र नदिएका कारण एक नेपाली पक्राउ परेका छन् । उनलाई जेल हालिएको छ । यसले कतारको श्रम कानूनका बारेमा फेरी एकपटक प्रश्न उठाएको दोहान्यूजले लेखेको छ ।
कविराज ग्रुप कतारमा कार्यरत २४ बर्षिय प्रमेश लामिछानेको परिचयपत्रको म्याद सकिएको र सोही कारण उनलाई पक्रेर तीनदिन देखि जेल हालिएको हो । उनी कतार विश्वविद्यालयमा अफिस सहयोगीका रुपमा कार्यरत थिए ।
सोमवार प्रमेश किनमेलका लागि अल सहानिया गएका थिए । त्यहि समयमा उनलाई प्रहरीले रोकेर सोधपुछ गरेको थियो र कतारी परिचयपत्र मागेको थियो । उनीसँग परिचयपत्र नभएका कारण प्रहरीले उनलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको थियो ।
दोहान्यूजसँगको कुराकानीमा अविराज ग्रुपका एकजना व्यवस्थापकले लामिछानेको परिचयपत्रको म्याद ६ महिनाअघि गुज्रिएको र त्यसको नविकरण कम्पनीले गर्न चासो नदिएको बताएका छन् ।
कतार युनिभर्सिटीको विभागले लामिछानेलाई तत्काल सहयोग गर्न र उनलाई छुटाउने प्रकृया गर्न कम्पनीसँग आग्रह गरेको छ । तर युनिभर्सिटीका तर्फबाट भनें अहिलेसम्म यसबारेमा कुनै सार्वजनिक जानकारी दिइएको छैन ।
प्रहरीले भनें लामिछानेको रिहाइका लागि उनको नेपाल फर्किने हवाई टिकट, उनको रोजगारी सकिएको कागजात अविराज कम्पनीले लिएर आउनु पर्ने बताएको छ । कम्पनीका फाइनान्स म्यानेजर नागी दाफुल्लाहले कम्पनीका पिआरओ(पव्लिक रिलेसन अफिसर)ले प्रहरीमा गएर आवश्यक कागजात तयार पार्न थालिसकेको बताएका छन् ।
तर लामिछानेलाई अझै केहि दिन प्रहरी हिरासतमै राखिने सम्भावना रहेको छ ।